गर्भवतीलाई अण्डाको सट्टा चल्ला
वीरगन्ज : पर्साको पकाहा मैनपुर गाउँपालिकामा गर्भवती महिलाका लागि सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रममा अनियमितता भएको छ । अन्तर्राष्ट्रिय दातृ संस्था युनिसेफको सहयोगमा नेपाल सरकारले गर्भवती महिलाहरूका लागि सञ्चालन गरेको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत पकाहा मैनपुर गाउँपालिकामा गत आर्थिक वर्ष ०७४/७५ मा १४ लाख ८५ हजार रुपैयाँ आएको थियो, जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ लाख रुपैयाँ पठाएको थियो भने गाउँपालिका कार्यालयले तीन लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको थियो । कार्यक्रमअन्तर्गत गाउँपालिकामा रहेका गर्भवती महिलालाई जनही अण्डा दिइरहेका तीन वटा पोथी कुखुरा, हरियो तरकारीको बीउ, सरसफाइ सामग्रीका किट बक्स र नगद गरी चार हजार दुई सय ५५ रुपैयाँ बराबरको सामान र नगद वितरण गर्नुपर्ने थियो । तर गाउँपालिका कार्यालयले अण्डा दिइरहेका कुखरा नभई कुखुराको साना चल्ला तीन वटा, नगद पाँच सय तथा साग र भिन्डीको बीउ पाँच/पाच ग्राम मात्र वितरण गरेको छ । वितरण गरिएका तीन वटा चल्लाको मूल्य एक सय ५० रुपैयाँ, नगद पाँच सय र बीउको मूल्य ५० रुपैयाँ जोड्दा सात सय रुपैयाँ मात्र हुन्छ ।
पकाहा मैनपुर गाउँपालिका स्वास्थ्य संयोजक महेशप्रसाद सिंहका अनुसार गत असार मसान्तसम्म संकलन गरिएको तथ्यांकमा गाउँपालिकाको पाँच वटै वडामा गरी गर्भवतीहरूको संख्या तीन सय २९ जना रहेको उल्लेख गरिएको छ । कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको बजेट गत आवमै खर्चिनुपथ्र्यो, तर उक्त बजेट चालु आवमा आएर खर्च गरिएको छ । कार्यक्रमको बजेटबाट गाउँपालिका कार्यालयले आफ्नै कर्मचारी खटाएर सामान खरिद गरी गर्भवतीलाई बाँड्नुपर्ने हुन्छ । ती सामान बाँड्ने ठेक्का पनि कार्यालयका नायब सुब्बा विनोद पाण्डेले लिएका हुन् । गाउँपालिका कार्यालयले पाण्डेको नाममा रकम निकासा गरेपछि पाण्डेले आफूले नै चल्लालगायत सामान खरिद गरी गर्भवती महिलाहरूलाई दुइ दिन अघिदेखि बाँड्न सुरु गरेका हुन् ।
त्यसमा पनि बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गतको सेवा सुविधा पकाहा मैनपुर गाउँपालिकामा रहेका सबै गर्भवती महिलाले पनि पाएका छैनन् । वडा नं २ मा ६५ जना गर्भवती महिला रहे पनि गाउँपालिकाले नौ जनालाई मात्र चल्ला, तरकारीको बीउ र जनही पाँच सय रुपैयाँ बाँडेको छ । वडा नं. १ की स्वास्थ्य स्वंयसेविका शिवकली देवीले गत मंगलबार स्वास्थ्यचौकीमा नौ गर्भवती महिलालाई मात्र उक्त चल्लालगायत रुपैयाँ बाडिएको जानकारी दिइन् । ‘हाम्रो वडामा अहिले ६५ जना गर्भवती महिला छन्’, उनले भनिन्’, तर नौ जनालाई मात्र चल्ला, तरकारीको बीउ र जनही नगद पाँच सय बाँडिएको छ, अरूलाइ पछि दिन्छौं भनेका छन् ।’
यस्तै वडा नं. २ मा ६६ जना गर्भवती रहेकामा गाउँपालिकाले ३० जनालाई मात्र चल्ला, तरकारीको बीउ र जनही पाँच सय रुपैयाँ बाँडेको स्थानीय अगुवा हृदयनाराण कुशवाहाले बताए । अण्डा दिइरहेको कुखुरा पाइन्छ भन्ने सुनेका थियौं, तर साना चल्ला दिएका छन्, वडा नं १ की गर्भवती महिला रविता देवीले बुधबार अन्नपूर्णसँग व्यङय गर्दै भनिन्, ‘अब यो चल्ला हुर्किएर अण्डा दिने बेलासम्म त बच्चा जन्मिएर हुर्कन थालिसक्छ, पछि कुखुराले अण्डा दियो भने बच्चालाई खुवाउन काम लाग्ला ।’ गाउँपालिका कार्यालयले चार हजारको सट्टा पाँच सय रुपैयाँ मात्र वितरण गरे पनि रकम उल्लेख नगरी भर्पाई फारममा गर्भवती महिलाहरूलाई रकम बुझेको हस्ताक्षर पनि गराएको तथ्य बाहिर आएको छ ।
हामीले त चार हजार रुपैयाँ पाउछौ भनेर सुनेका थियौं, तर पाँच सय रुपैयाँ मात्रै पाइयो’, वडा नं १ कै अर्की गर्भवती महिला लीलावती देवीले भनिन् ,भर्पाइ फारममा यति उति भनेर रकम लेखिएको पनि थिएन , हामी अनपढले पढ्न लेख्न पनि जान्दैनौ , सही गर भनेको कागजमा ल्याप्चे लगाइ दियौ । गाउँपालिका कार्यालयले सम्बन्धित वडाहरूमा रहेका स्वास्थ्य चौकीका इन्चार्जहरूको समन्वयमा गर्भवती महिलाहरूलाइ बहुक्षेत्रीय पोषण कार्यक्रमका सेवा सुविधा प्रदान गर्नुपर्ने मन्त्रालयले पठाएको निर्देशिकामा उल्लेख छ । तर पकाहा मैनपुर गाउँपालिकाका स्वास्थ्य संयोजक महेशप्रसाद सिंहले भने कार्यक्रमअन्तर्गतका सेवा सुविधा गर्भवतीलाई वितरण गर्ने क्रममा आफूहरूलाइ संलग्न नगराइएको बताए ।
गाउँपालिका कार्यालयले गर्भवती महिलाको संख्याको विवरण हामीसँग मागेपछि हामीले विवरण संकलन गरेर दियौं’, उनले भने, ‘त्यसपछि उनीहरूले के–के बाँडे, कसलाई बाँडे त्यो हामीलाई कुनै जानकारी छैन, हामीसँग कुनै सहकार्य गरिएको छैन । वडा नम्बर ३ मा रहेको स्वास्थ्य चौकीका प्रमुख सुनिल महतराले पनि कार्यक्रम सञ्चालनका बारेमा आफुहरूसंग कुनै सहकार्य नगरिएको बताए । गाउँपालिका प्रमुख विजय चौरसियाले भने बहुक्षेत्रीय पोषण कार्यक्रम आफ्नो गाउँपालिकामा सञ्चालनमा रहेको भए पनि त्यसअन्तर्गत भइरहेको कामबारे विस्तृत जानकारी नभएको बताए । तर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हीरालाल भुसालले भने निर्देशिकाअनुसारै गर्भवती महिलाहरूलाई सामान र नगद वितरण गरिएको दाबी गरे ।
क्याप्सन १ र २ ः बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पाएको कुखुराको चल्ला देखाउदै पकाहा मैनपुर गाउँपालिका वडा नम्बर १ की गर्भवती महिला रविता देवी । तस्वीर ः क्रान्ति शाह , वीरगन्ज
क्याप्सन ३ र ४ ः बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पाएको कुखुराको चल्ला देखाउदै पकाहा मैनपुर गाउँपालिका वडा नम्बर १ की गर्भवती महिला लीलावती देवी । तस्वीर ः क्रान्ति शाह , वीरगन्ज
क्याप्सन ५ ः बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पकाहा मैनपुर गाउँपालिकाका गर्भवती महिलाहरूले रकम बुझेको भर्पाइ फारम जस्मा रकम उल्लेख छैन । तस्वीर ः सौजन्य स्थानीय