प्रदेश २ लाई चाँडै मधेस सरकार बनाउँछौँ : मन्त्री सोनल
वीरगन्ज : प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ‘मधेसी जनताले चाहेको मधेस सरकार’ छिटटै बन्ने बताएका छन् । वीरगन्जस्थित यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा आएपछि शुक्रबार उक्त कार्यालयको उद्घाटन गर्दै मन्त्री सोनलले मधेसी जनताले चाहेको मधेस सरकारको सपना छिटटै पुरा हुने बताए ।
‘पहिलो र दोश्रो मधेस आन्दोलनका क्रममा मधेसी जनताले सरकारी कार्यालयका बोर्ड र भित्तामा कालो पोतेर नेपाल सरकारको सट्टा मधेस सरकार लेखेका थिए’ , उनले भने, ‘मधेसी जनताको त्यो चाहना र माग अब छिट्टै पुरा हुदैछ ।
प्रदेश २ को नामाकरण ‘मधेस प्रदेश’ राख्ने तयारी भइरहेको सोनलले जानकारी दिए । ‘यसका लागि प्रकृया अगाडि बढिसकेको छ’, उनले थपे, ‘निकट भविष्यमै प्रदेश २ को सरकार मधेस सरकारमा परिणत हुँदैछ ।’
राष्ट्रियय जनता पार्टीका महामन्त्रीसमेत रहेका मन्त्री सोनलले प्रदेश २ मा रहेका कार्यालयहरु प्रदेश सरकारको मातहतमा आइसकेकाले सरकारी कार्यालयका कर्मचारी अब प्रदेश सरकारका कर्मचारी भएको बताए ।
सरकारी कार्यालयहरु प्रदेश सरकारको मातहतमा आएसँगै यस्ले संघीयतालाई संस्थागत गर्न इँटा थप्ने काम गरेको मन्त्री सोनलले बताए । वीरगन्जको यातायात व्यवस्था कार्यालयबाट मात्रै सवारी कर र चालक अनुमति पत्र जारी गरे बापत वार्षिक करिब साढे तीन सय करोड रुपैयाँ राजश्व संकलन हुदै आएको उनले बताए ।
केन्द्र सरकार महातहतका कार्यालयहरु प्रदेश सरकार महातहत आएपछि आयश्रोत पनि बढ्ने भएकाले अब प्रदेशको विकास द्रूत गतिमा अघि बढ्ने मन्त्री सोनलले जिकिर गरे ।