मानव सेवा आश्रम सन्चालनमा समस्या
वीरगन्ज : अपाङ्ग, असाहाय र मनोरोगी मानिसको उद्धार गरी आश्रय दिने उद्देश्यले वीरगन्जमा स्थापना गरिएको मानव सेवा आश्रम सन्चालनमा समस्या भएको छ ।
वीरगन्जको रानीघाटमा घर घाडामा लिएर २०७४ सालको जेठदेखि सन्चालनमा ल्याइएको मानव सेवा आश्रममा ३१ जनालाई आश्रय दिइएको छ। ती मध्ये महिला र किशोरी १९, पुरुष नौ र तीनजना बालबालिका छन्।
मासिक ५० हजार रुपैयाँ बहाल तिर्दै आएको आश्रममा अब थप अनाथ, अपांग र असाहयलाई राख्ने ठाउँ नभएको आश्रमका संस्थापक संयोजक डाक्टर दीपक शाक्यले बताए।
अहिले आश्रम मासिक सामान्य ढंगले सञ्चालनका लागि एक लाख बढी खर्च हुन्छ। यो रकम खाद्यान्न, लत्ताकपडा र जिन्सी बाहेकको हो। यसको व्यवस्था भने दाताले गर्दै आएका छन्।
दाताकै नगद र जिन्सी सहयोगबाट एक वर्षदेखि आश्रम चलिरहेको भन्दै शाक्यले अब भने यसको अभिभावकत्व महानगरपालिकाले लिनुपर्ने बताए।
मानव सेवा आश्रमले आफ्नै भवन निर्माणका लागि वीरगन्ज महानगरपालिकासंग जग्गा माग गरे पनि जग्गा उपलब्ध भएको छैन।
‘जग्गा उपलब्ध गराउने विषयमा मेयर विजय सरावगी पनि सकरात्मक हुनुहुन्छ’, शाक्यले भने, ‘यदि जग्गा उपलब्ध भयो भने हामीले एक वर्ष भित्रमै आफनै घर बनाउन सक्छौं।’
दोश्रो नगरसभाले आश्रमलाई तीन लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको भएपनि त्यो रकम उपलब्ध भएको छैन।
मेयर सरावगीले आश्रमलाई सहयोग गर्न महानगरपालिका तयार रहेको बताएका छन्। दोश्रो नगरसभाले आश्रमका लागि जग्गा उपलब्ध गराउने निर्णय गरिसकेकाले अब छिट्टै सार्वजनिक जग्गा खोजेर उपलब्ध गराइने उनले बताए।