सपनाको जंगल यात्रा
सधैं आमाले उठाइदिनुपर्ने सपना शनिबारको दिन बिहान आफैं उठेर चम्चा लिँदै बाहिर जान लागिन्। यो देखेर आमा छक्क पर्नुभयो। छोरी चम्चा लिएर के गर्न लागिन् भनेर उहाँ हेर्न जानुभयो। सपना भने चम्चा लिँदै केही खाएजस्तो गर्दै थिइन्। तर, उनको हातमा न थाल थियो न त कचौरा नै। खाली चम्चा नै मुखमा राख्दै निकाल्दै गरेको देखेर आमाले सोध्नुभयो, ‘हैन छोरी तिमी एकाबिहानै के गर्दैछौ ? ’ आमाको प्रश्नले सपना उहाँतिर फर्किइन् र भनिन्, ‘देख्नुभएन आमा, म चम्चाले स्वच्छ हावा खाँदैछु।’ हैन कसले सिकाउनुभयो तिमीलाई यस्तो नचाहिने कुरा भन्दै आमाले सोध्नुभयो। यो सुनेर सपना भन्न थालिन्, ‘हैन के आमा, हिजो स्वास्थ्य शिक्षा पढाउने सरले बिहान स्वच्छ हावा खायो भने स्वस्थ भइन्छ भन्नुहुन्थ्यो। त्यसैले मैले सोचेँ कि चम्चाले खाए त झन् राम्रो।’
सपनाको कुरा सुनिसकेपछि आमालाई आफूले पनि छोरीलाई केही कुरा सिकाउनुपर्छ भन्ने लाग्यो। बिहानको चियानास्ता सकेर छोरीलाई जंगल घुमाउन लैजाने निर्णय उहाँले गर्नुभयो। त्यसैले उहाँले छोरीलाई भन्नुभयो, ‘आऊ छोरी पहिले भान्सामा गएर चियानास्ता गरौं, अनि आज म तिमीलाई कतै घुमाउन लैजान्छु।’ आमाले घुमाउन लैजाने कुरा गरेपछि सपना पनि खुसी हुँदै आमासँगै भान्छातिर लागिन्। सपनाको बाबा भने मिटिङ परेकाले बिहानै अफिसतिर लागिसक्नु भएको थियो। आमाछोरी मात्रै घरमा भएकाले दुवैले भान्सामा गई चियानास्ता खाए र घुम्नका लागि ढोका राम्रोसँग बन्द गरेर बाहिर निस्किए।
आजको घुमाइ भने सपनाले सोचेभन्दा फरक ठाउँमा हुनेवाला थियो। आमाले उनलाई नजिकैको सामुदायिक वनतर्फ लैजानुभयो। घुम्ने भन्दै जंगलतिर लगेको देखेर सपना पहिले त आश्चर्यमा परिन्। तर, जब दुवै आमाछोरी जंगलभित्र प्रवेश गरे, त्यपछि सपनालाई छुट्टै अनुभूति भयो। त्यहाँको स्वच्छ हावा अनि हरियाली वातावरणले सपनाको मन लोभ्यायो। त्यसमाथि पनि चराचुरुंगीको चिरबिर आवाज अनि त्यहाँबाट देखिने हिमाल तथा पहाडको मनमोहक दृश्यले उनलाई म अर्कै संसारमा पो आइपुगेछु कि भन्ने भान भयो। उनको मुखबाट आवाज निस्कियो, ‘अहा क्या रमाइलो !’
आमाले पनि सपनालाई सिकाउने उपर्युक्त समय यही हो भन्ने ठानेर वनजंगलको महत्वबारे वर्णन गर्न थाल्नुभयो। उहाँले भन्नुभयो, ‘हेर छोरी, वनजंगल भनेको हाम्रो जीवनमा नभई नहुने कुरा हो।’ आमाको कुरामा सही थप्दै सपनाले भनिन्, ‘अँ वनजंगलले त धेरै सुन्दरता प्रदान गर्ने रैछ है।’ सुन्दरता मात्रै नभई यसको अरू पनि धेरै महत्व छ भनेर आमाले उनलाई सम्झाइन्। अब सपना यसको महत्वका बारेमा जान्न आतुर भइन्। आमाले यसबारे वर्णन गर्दै भन्न थाल्नुभयो, ‘हेर छोरी, बिहान तिमी चम्चाले जुन स्वच्छ हावा भनेर खाँदै थियौ नि, त्यसको मुख्य स्रोत नै वनजंगल हो। हाम्रो शरीरलाई स्वस्थ राख्न हामीलाई अक्सिजन आवश्यक पर्छ, जुन हामी यही वनजंगल अथवा रूखबिरुवाबाट प्राप्त गर्छौं। हामीले पिउने पानीका स्रोतहरूलाई पनि वनजंगलले जोगाइराख्न मद्दत गर्छ। समयमा वर्षा हुन र वर्षायाममा बाढीपहिरोबाट जमिनलाई बचाउन पनि यसले सहयोग गर्छ। यसका अलावा अतिवृष्टि तथा अनावृष्टि नियन्त्रण गर्न पनि यसको भूमिका प्रमुख हुन्छ। वनजंगल भनेको चराचुरुंगी तथा जंगली जनावरहरूको बासस्थान पनि हो। हामीलाई आवश्यक पर्ने विभिन्न प्रकारका जडीबुटी पनि हामी यसबाट प्राप्त गर्छांै। त्यसैले मानव जीवनसँग जोडिएको अभिन्न अंगको रूपमा यसलाई लिन सकिन्छ।’
यी सबै कुरा सुनेर सपना दंग परिन्। आमाबाट वनजंगलको महत्वबारे बुझिसकेपछि बिहान आफूले गरेको क्रियाकलाप सम्झेर लजाउँदै उनले भनिन्, ‘स्वच्छ हावा त हामी आफैंले श्वासप्रश्वासको माध्यमबाट लिने रहेछौं। यसका लागि चम्चाले खानु नपर्ने रहेछ हैन त ? ’ आमाले भन्नुभयो, ‘हो त नि छोरी, तर वातावरणचाहिँ स्वच्छ हुनु पर्यो।’ यसले सपनाको मनमा नयाँ जिज्ञासा उब्जियो। उनले आमालाई भनिन्, ‘वातावरण स्वच्छ राख्न त हामीले पनि हाम्रो घरवरिपरि सफा राखी रूखबिरुवा रोप्न सक्छौं नि हैन।’ आमाले पनि यसमा सहमति जनाउनुभयो। ‘यसको सुरुआत हामी आफैंबाट गरौं र अरूलाई पनि यही गर्न सल्लाह दिऔं है’, सपनाले भनिन्। आमाले पनि खुसी हुँदै भन्नुभयो, ‘भइहाल्छ नि छोरी, तिमीलाई यी सबै कुरा सिकाउन त मैले यहाँ ल्याएको।’
एउटा परिवारमा आमा शिक्षित भए पूरै परिवार शिक्षित हुन्छ भन्ने कुराको नमुना उहाँले प्रस्तुत गर्नुभयो। ‘अब त ढिला पनि हुन लागिसकेछ लागौं घरतिर, फेरि खाना खाएर नुहाइधुवाइ पनि गर्नु छ’, आमाको कुरामा सपनाले पनि सहमति जनाइन्। अनि दुवै आमाछोरी खुसी हुँदै घरतर्फ लागे।