नानीबाबुसँग पूर्वप्रधानाध्यापक रमेशप्रसाद गौतमका मनका कुरा

नानीबाबुसँग पूर्वप्रधानाध्यापक रमेशप्रसाद गौतमका मनका कुरा

हामीले एकअर्कालाई माया र सम्मान गर्नुका साथै उनीहरूको अस्तित्व स्वीकार्ने बानीसमेत बसाल्नुपर्छ। मेरो जन्म काठमाडौंबाट करिब चार माइल पश्चिममा रहेको किम्सी पुलडोल गाउँमा भएको हो। दहचोकको काखैमा पर्ने अत्यन्त रमणीय मेरो जन्मस्थल हाल नागार्जुन नगरपालिकामा पर्छ। हाम्रा बुवा र काकाहरूका लहरै चारवटा घर थिए। आँगन निकै फराकिलो थियो। हामी त्यहाँ लुकामारी खेल्थ्यौं। बाख्राका पाठा, गाईका बाच्छा, कुकुरका छाउरा आदिसँग जिस्किँदै खेल्दा औधी आनन्द लाग्थ्यो। हामी पिँढी र बार्दलीमा बसेर पढ्थ्यौं।

दाजुहरू र भतिजाहरूसँग म बारीका पाटामा खेल्न जान्थेँ। हामी कपडाको पोको बनाएर भकुण्डो खेल्थ्यौं। त्यति बेला अहिलेजस्तो फुटबल जतासुकै कहाँ पाइन्थ्यो र ! डन्डिबियो र कपर्दी पनि खेल्थ्यौं। मेरा दौंतरीहरूको तुलनामा म बलियो थिएँ। खेल्दा होस् या अरू बेला; उनीहरू मसँगै जोडी बाँधिन खोज्थे, मेरै सहारा खोज्थे। मेरो व्रतबन्ध पाँच वर्षकै उमेरमा भयो। त्यसै बेलादेखि बिहान सबेरै उठेर नुहाउने, पूूजाआजा गर्ने, जप गर्ने आदि नित्य कर्म सुरु भयो। पछि यो क्रम टुट्दै गयो।

मेरी आमा साक्षर हुनुहुन्थ्यो। उहाँले नै मलाई साउँ अक्षर चिनाउनुभयो। त्यसका लागि बेग्लै गुरु खोज्नु परेन। आमाका अक्षर त्यति राम्रा थिएनन्। त्यही प्रभावले होला, मेरा पनि अक्षर राम्रा छैनन्। उहाँ मलाई तत्वबोध, रामायण आदि पढाउनुहुन्थ्यो। यसले मलाई पढ्ने बानी पार्दै लग्यो। म ठूलाको सिको गरेर पढ्थेँ। मलाई पढ् भनेर बाआमाले खासै कर गर्नु परेन।

हाम्रो गाउँनजिकै स्कुल थिएन। २०१५ सालमा शान्ति निकुञ्जमा मेरा दाइ र भतिजाहरूलाई भर्ना गर्न खोज्दा म पनि उनीहरूको पछि लागेँ। मलाई ग्रेड १ मा भर्ना गरियो। बर्खाको समयमा म सानै छु भनेर आमाले स्कुल छुटाइदिनुभयो। खोलामा पुल थिएन। शान्ति निकुञ्जमा पढ्दा चित्रकला पढाउने गुरुले पेन्सिल नल्याएको निहुँमा अत्यन्तै दुख्ने गरी कान निमोठ्नुभयो। यो मेरो जीवनकै तीतो अनुभवमध्येमा पर्छ। शिक्षकले विद्यार्थीप्रति गर्ने व्यवहारले शिक्षण सिकाइमा कस्तो प्रभाव पार्छ भन्ने कुरा मैले त्यसै बेलादेखि बुझ्न थालेँ। एक दिन मैले लगाएको टोपी टाउकोबाट झिकेर साथीहरूले गोल खेल्न थाले। मैले बेन्च उचालेर हान्न लाग्दा हेड मास्टरले देख्नुभएछ। उहाँले साथीहरूलाई गाली गर्दै माफ माग्न लगाउनुभयो।

अर्को वर्षदेखि म, दाइ र भतिजाहरू साइँली आमासँग काठमाडौं भीमसेनस्थान नजिकै डेरा बस्न थाल्यौं। हामी सीताराम हाइस्कुलमा भर्ना भयौं। त्यहाँ स्काउट सिकाइन्थ्यो। म बलियो थिएँ, ज्यान पनि खाइलाग्दो थियो। तर, कम उमेर भएकै कारणले मलार्ई समूहमा छानिएन। एकजना केटी साथीले ‘हाम्रो स्कुलमा रमेश नै राम्रो खेल्ने विद्यार्थी हो’ भनेपछि मात्रै मलाई पनि समावेश गरियो। २०१८ सालमा टुँडिखेलमा भएको प्रदर्शनमा हामी छात्र र छात्रा दुवै समूहबाट प्रथम भयौं।

म १४ वर्षकै उमेरमा स्कुल युनियनको सभापति भएँ। एउटा कार्यक्रममा मैले चर्को स्वरमा भाषण गरेको सुनेर हेड मास्टरले खुब प्रशंसा गर्नुभयो। ‘तेरो परिवारमा यसरी भाषण गर्ने मान्छे को छ ? ’ भनेर प्रश्नसमेत गर्नुभयो। म कसैले पनि नसिकाई स्वतःस्फूर्त रूपमा बोलेको थिएँ। १० कक्षामा पढ्दा हाम्रो कक्षाकोठा डुङडुङ्ती धुलो उड्ने भयो। पालेहरूले लिप्न र बढार्न छाडिदिए। सरसफाइ नगरुन्जेल शुल्क नतिर्ने भन्दै मैले आन्दोलन थालेँ। साथीहरूले पनि मलाई साथ दिए। यही निहँमा हेड मास्टरले हाजिरी खाताबाट मेरो नाम काटिदिनुभयो।

मलाई त्यहाँ पढ्न मन लागेन। लगत्तै कालीमाटीस्थित जनप्रभात हाइस्कुलमा भर्ना भएँ। मसँगै मेरा साथीहरू पनि यतै भर्ना हुन आए। यही कारणले होला, सीताराम स्कुलमा हेड मास्टर फेरिए। एसएलसी गर्नासाथ नयाँ हेड मास्टरले मलाई पढाउन बोलाउनुभयो। म माध्यमिक तहमा पढाउन थालेँ। यसरी मेरो शिक्षण पेसा प्रारम्भ भयो। त्यसपछि मैले महेन्द्ररत्न कलेज वसन्तपुरबाट आईए, सरस्वती कलेजबाट स्नातक र प्राइभेट परीक्षा दिएर स्नातकोत्तर गरेँ। मैले चार दशकभन्दा बढी विभिन्न हाइस्कुलको शैक्षिक र प्रशासनिक क्षेत्रमा रहेर काम गर्ने अवसर प्राप्त गरेँ।

म केटाकेटी हुँदा पौडी खेल्न सिपालु थिएँ। हामी मनमती खोलामा पौडी खेल्न जान्थ्यौं। त्यस बेला मनमतीमा सङ्लो र धेरै पानी बग्थ्यो। एक दिन हामी पौडी खेल्नकै लागि नीलकाँडा पन्छाउँदै खेतको बाटो भएर बालाजु पुग्यौं। म कपडा खोलेर हामफालेको मात्रै के थिएँ, पानी खाइहालेँ। बाहिर निस्किन आपत् आइलाग्यो। साथीहरूले पनि ख्यालै गरेनछन्। म जबरजस्ती थकित भएर बाहिर आएँ।

हाम्रो परिवार धार्मिक थियो। बुवाहरू बिहान बेलुकी नै पूजाआजा गर्नुहुन्थ्यो। हामी त्यस बेला खेतीपातीमा आ िश्रत थियौं। खान छुट्याएर अन्नपात बेचबिखन गर्न पनि पुग्थ्यो। धान कुट्न ढिकीजाँतोकै प्रयोग हुन्थ्यो। थोरै मात्र घट्टमा पिसाइन्थ्यो। धान किन्ने मान्छे घरैमा आउँथे। हामी घरायसी सामान किनमेलका लागि असन र इन्द्रचोक पुग्थ्यौं।

एक दिन हामी काफल खान भनेर स्कुलबाटै नागार्जुन गयौं। घर आइपुग्दा निकै ढिलो भयो। आज किन अबेर गर्‍यौ भनेर निकै सोधीखोजी हुन थाल्यो। म केही बोलिनँ। म अन्कनाएपछि हामी स्कुल नगएको सबैलाई थाहा भइहाल्यो। रमेश पनि स्कुल छाड्ने भयो भनेर मेरो निकै चर्चा हुन थाल्यो। यस घटनाले मलाई निकै हीनताबोध भयो। त्यसपछि स्कुलबाट भाग्ने गरिनँ। मेरो मावली टिस्टुङ। चन्द्रागिरिको उकालो चढ्दै, लालीगुराँस खाँदै, गीत गाउँदै, चित्लाङको बाटो भएर बढो फूर्तिसाथ मावल पुगिन्थ्यो। चित्लाङमा नेवारहरूले नेपालको भानिज आयो भन्दै सम्मान गर्थे।

एकपटक बुवाले दसैंको समयमा दाइहरूलाई मात्र पाइन्ट ल्याइदिनुभएछ। मलाई पाइन्ट लाउने रहर जाग्न थालेको थियो। भोलिपल्ट आमाले मलाई पसलमा लिएर जानुभयो र हिजो उहाँका लागि लगेको सारी फिर्ता गर्दै मेरा लागि सर्ट र पाइन्ट साटिदिनुभयो। म सानैदेखि घरमा काम सघाउँथे। हाम्रो खेत भलछोपुवा थियो। पानी पर्नासाथ तैनाथ हुनुपर्ने। एकपटक मैले सोझ्याएर ल्याएको कुलो हामीभन्दा तल खेत हुनेले अन्यायपूूर्ण तरिकाले लान खोजेपछि समातेर फालिदिएँ।

दरबार हाइस्कुलमा सहायक प्रधानाध्यापक भएका बेला एउटा फटाहा विद्यार्थीले गुलेलीले हानेर एक छात्राको आँखीभौंमा घाउ पारिदिएछ। मैले त्यस विद्यार्थीलाई निकै पिटिदिएँ। ऊ लडेको बहाना गर्दै त्यहाँबाट निस्कियो। एकैछिनमा शिक्षा सहायक मन्त्री हीरालाल विश्वकर्माले मलाई हप्काउँदै फोन गरे। मेरो गल्ती नभएको र खराब विद्यार्थीलाई सामान्य कारबाही गरेको भन्दै जवाफ दिएँ। उनले मेरो जागिरमाथि पनि धावा बोले। केही छिन उनै मन्त्रीले तपाईंले राम्रै गर्नुभएको रहेछ, त्यो केटो फटाहा नै रहेछ भन्दै पुनः फोन गरे। म जहाँ पुग्छु त्यहाँ विद्यार्थी भेटिन्छन्। यसले बढो आनन्द लाग्दो रहेछ। शिक्षा सचिवसम्म भएका विद्यार्थीले मन्त्रालयमा पुग्दा होस् वा कार्यक्रममा भेट्दा धेरै आदर गर्छन्, काममा सहयोग गर्छन्।

मेहेनती, पढ्न जान्ने र जिज्ञासु विद्यार्थी मात्रै शिक्षकको नजिक हुन्छन्। जान्ने साथीलाई अरूले हेप्ने, दुःख दिने, पढ्नलाई अवरोध पुर्‍याउनेसमेत गर्थे। बेलैमा यो थाहा पाएर मैले मेरा विद्यार्थीलाई समान व्यवहार गरेँ र अरूलाई पनि यस्तै व्यवहार सिकाएँ। कक्षामा र कक्षाबाहिर विद्यार्थी आपसमा कस्तो व्यवहार गर्छन् भनेर ख्याल गरिरहेँ। उनीहरूलाई यसैबमोजिम सल्लाह दिइरहेँ।

भाइबहिनीले अक्षर सधैं सफा लेख्ने बानी गर्नुपर्छ। सानो छँदा जस्तो बानी लाग्यो पछिसम्म त्यस्तै लेख्ने बानी लाग्छ। अक्षरले मूल्यांकनमा समेत प्रभाव पार्छ। उत्तरपुस्तिका परीक्षक स्वभावैले सफा र राम्रा अक्षरप्रति आकर्षित हुन्छन्। अहिले प्रविधिको जमाना आए पनि हस्तलिखित अक्षरको महत्व कहाँ कम हुन्छ र !

हामीले आफ्नो संस्कार, संस्कृति, मूल्य–मान्यताको रक्षा र सम्मान गर्नुपर्छ। समाजैपिच्छे यस्ता चालचलन फरकफरक हुन्छन्। फरक धर्म र भाषाको सम्मान गर्न सकेमात्रै समाज समृद्ध बन्छ। हामीले सेवाको भावना लिनुपर्छ। यसले हामीलाई सामाजिक बन्न सिकाउँछ।

हाम्रो समाजमा विभिन्न सामाजिक हैसियतका मानिस बसोबास गर्छन्। एक ठाउँबाट अर्को ठाउँमा पुग्दा यस्ता कुराको अनुभव गर्न सकिन्छ। असहाय, गरिब, दुःखीहरूको निःस्वार्थ सेवाले दिने आनन्द अरू कुराले कहाँ दिन्छ र ?     हामीले एकअर्कालाई माया र सम्मान गर्नुका साथै उनीहरूको अस्तित्व स्वीकार्ने बानीसमेत बसाल्नुपर्छ।

(पद्मोदय माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक गौतमसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.