बबईको बाँध जोगाउदै सुरक्षाकर्मी
गुलरिया : बबई नदीस्थित बर्दियाको गुलरियामा निर्माण गरिएका माटाका बाँध जोगाउन सुरक्षाकर्मीहरू जुटेका छन् । बाढीको अत्यधिक जोखिम रहेका क्षेत्रमा दैवीप्रकोप उद्धार समिति बर्दियाको समन्वयमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायत गुलरिया नगरपालिका तथा बबई नदी व्यवस्थापन आयोजनाका कर्मचारीहरू श्रमदानमा जुटेका हुन् ।
शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आइतबार बेलुकी बबई नदी (भादा) पुलमा पानीको सतह चेतावनी तह नाघेपछि माटोको बाँधमा पु¥याएको क्षतिलाई सुरक्षाकर्मी परिचालन गर्दै मर्मत गरिएको प्रमुख जिल्ला अधिकारी एवं दैवीप्रकोप उद्धार समिति बर्दियाका संयोजक रामबहादुर कुरुम्बाङले बताए ।
‘यसपालि जसरी भए पनि माटोको बाँध जोगाउनुपर्छ । बोरामा माटो भरेर बाँधलाई सपोर्ट दिएका छौं बाँध कटानी रोकियो भने गुलरिया नगरक्षेत्रमा बाढीको समस्या केही समाधान हुन्छ’, उनले भने ।
पशुहाट क्षेत्रमा बनाइएको माटोको बाँध बाढीले फुटाएको खण्डमा हुलाकी सडकमा क्षति पुग्ने भएकाले पनि बाँध जोगाउन थालिएको बबई भादा औरही नदी व्यवस्थापन आयोजना प्रमुख नारायणप्रसाद सुवेदीले बताए ।
ड्याम जोगाउन अग्रिम कंक्रिट तथा बम्बो पाइलसँगै बोरीमा बालुवा भरेकाले पानीको सतह चेतावनी तहसम्म आइपुग्दासमेत ड्याम जोगिएको उनको भनाइ छ । २०७१ र ०७४ को बाढीले क्षति पु¥याएको अस्थायी ड्यामको निर्माण कार्य यसै वर्ष सम्पन्न भएको हो ।
बबई, भादा, औरही नदी व्यवस्थापन आयोजनाको कार्यालय स्थापना भएपछि नदी व्यवस्थापन कार्यले गति लिन थालेको गुलरिया नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र पौडेलले बताए ।