नेकपामा जनप्रतिनिधिले कार्यकारी जिम्मेवारी नपाउने

नेकपामा जनप्रतिनिधिले कार्यकारी जिम्मेवारी नपाउने

 काठमाडौं : नेकपाले कुनै पनि तहका जनप्रतिनिधिलाई दोहोरो जिम्मेवारी नदिने भएको छ । केन्द्र र प्रदेशका सांसद तथा स्थानीय तहका प्रमुख एवं उपप्रमुखलाई कार्यकारी जिम्मेवारी नदिने गरी नेकपाले पार्टीको सांगठिनक संरचना निर्माण गर्ने भएको छ । दुई कम्युनिस्ट पार्टीबीच केन्द्रीय समितिको एकता भए पनि तल्लो तहमा एकता भइनसकेको सन्दर्भमा नेकपा सचिवालय बैठकले कार्यकारी भूमिकामा रहेका नेताहरूलाई दोहोरो जिम्मेवारी नदिने गरी कार्यविधि टुंग्याएको हो ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले संघीय तथा प्रदेशसभाका मन्त्री, पदाधिकारी, समिति सभापतिदेखि सांसदसम्म र स्थानीय तहका प्रमुख र उपप्रमुखसम्मलाई पार्टीको कार्यकारी जिम्मेवारी (अध्यक्ष र सचिव)को जिम्मेवारी नदिने कार्यविधि बनाएको हो । नेकपाले केन्द्रीय समितिबाहेक अन्य पार्टी कमिटीमा अध्यक्ष र सचिव मात्र पदाधिकारी रहने गरी विधान बनाएको थियो ।

बिहीबार सचिवालयले तय गरेको कार्यविधिले प्रदेश कमिटी, जिल्ला कमिटीदेखि अन्य तल्ला कमिटीको अध्यक्ष र सचिव ताक्दै बसेका सांसददेखि स्थानीय तहका जनप्रतिनिधिलाई समेत अंकुश लगाएको छ । सचिवालय बैठकले संघीय संसद्का मन्त्री, प्रदेशका मन्त्रीदेखि दलका पदीय जिम्मेवारीमा रहेका नेता कसैलाई पनि पार्टीको कार्यकारी जिम्मेवारी नदिने निर्णय गरेको नेता नारायणकाजी       श्रेष्ठले बताए ।

‘संघीय र प्रदेशका मन्त्री, प्रादेशिक दल नेता र उपनेता, संघीय र प्रदेशका प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापति, महानगर, नगरपालिकाका मेयर– उपमेयर, जिससका संयोजक, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले कुनै पनि स्तरको पार्टीको कार्यकारी पद अध्यक्ष र सचिवको जिम्मेवारी पाउँदैनन्’, उनले भने ।

सांसद वा प्रादेशिक सभाका सदस्यलाई पनि जिल्ला पार्टी वा त्योभन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष वा सचिवको जिम्मेवारी पनि नेकपाले दिनेछैन । संघीय संसदअन्तर्गत नेकपाका प्रतिनिधिसभामा १ सय ८४ र राष्ट्रियसभामा ४२ सांसद छन् । त्यस्तै प्रदेशसभाका सांसदले पनि पार्टी कमिटीका अध्यक्ष–सचिवको जिम्मेवारी लिन पाउनेछैनन् ।


यी जनप्रतिनिधिले पाउँदैनन् कार्यकारी जिम्मेवारी
– संघीय मन्त्री, प्रदेशका मन्त्री, प्रादेशिक दल नेता र उपनेता, संघीय र प्रदेशका प्रमुख सचेतक, मुख्य सचेतक, सचेतक, संसदीय समितिका सभापतिहरू, महानगर, नगरपालिकाका मेयर–उपमेयर, जिल्ला समन्वय समिति (जिसस)का संयोजक– सहसंयोजक र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले कुनै पनि स्तरको पार्टीको कार्यकारी पद अध्यक्ष र सचिवको जिम्मेवारी पाउँदैनन् ।

स्थानीय तहमा महानगरपालिकामा मेयर ३, उपमेयर १, उपमहानगरपालिकामा मेयर ७, उपमेयर ७, नगरपालिकामा मेयर १ सय ४७, उपमेयर १ सय ८१, गाउँपालिकामा अध्यक्ष २ सय ४३ र उपाध्यक्ष २ सय ६२ गरी ४ सय जना छन् । यी कुनै जनप्रतिनिधिले पनि पार्टीका मुख्य कार्यकारी पद अध्यक्ष र सचिवको जिम्मेवारी पाउनेछैनन् । नेकपाले प्रदेश तथा जिल्ला कमिटी र जनवर्गीय संगनठको एकताका लागि छुट्टाछुट्टै कार्यादल बनाई काम गरिरहेको छ । ती कार्यदललाई साउन २५ भित्र प्रतिवेदन तयार पारी बुझाउन निर्देशन भए पनि बिहीबारको बैठकले साउन मसान्तसम्मको म्याद थपेको छ ।

सचिवालय बैठकले कार्यदललाई थप कार्यादेश पनि दिएको छ । अब कार्यदलले केन्द्रीय सल्लाहकार, राष्ट्रिय परिषद्, ज्येष्ट कम्युनिस्ट मञ्च, केन्द्रीय आयोग र विभागमा रहने सदस्यको नामसमेत तय गरेर केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । नेकपाले भदौ ८ र ९ गते पार्टी स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयको टुंगो

नेकपाले पार्टी केन्द्रीय कार्यालयको टुंगो लगाएको छ । धुम्बाराहीस्थित कार्यालयलाई पार्टी केन्द्रीय कार्यालय र पेरिसडाँडास्थित कार्यालयलाई जनवर्गीय संगठनका केन्द्रीय कार्यालय, केन्द्रीय विभाग र अन्य आवश्यक निकायका कार्यालय राख्ने निर्णय गरिएको हो । यसअघि केन्द्रीय कार्यालय कहाँ राख्ने भन्नेमा नेकपा निर्णयमा पुगेको थिएन ।

आचारसंहिता बनाउन कार्यदल

बैठकले पार्टी विधान तथा नियमावलीका आधारमा बनाउनुपर्ने कतिपय विनियम र आचारसंहिताका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलका स्थायी समिति सदस्य सुवास नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जर्नादन शर्मा र वेदुराम भुसाललाई जिम्मेवारी दिइएको छ । कार्यदलले आर्थिक विनियम, कार्यकर्ता संरक्षण कोष विनियमलगायत आचारसंहिता बनाउनेछ ।

 सांसद वा प्रादेशिक सभाका सदस्यलाई जिल्ला पार्टी वा त्योभन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष वा सचिवको जिम्मेवारी नदिइने ।

बैठकले नेता नारायणकाजी   श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डललाई भदौ २७ देखि असोज ३ सम्म एक हप्ताका लागि चीन भ्रमणमा पठाउने निर्णय पनि गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा उनीहरू त्यसतर्फ जान लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.