नेपाल–बंगलादेश ऊर्जामा समझदारी
काठमाडौं : नेपाल र बंगलादेशबीच इनर्जी कोअपरेसन (ऊर्जा सहायता)सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल र बंगलादेशबीच ऊर्जा अदानप्रदान गर्ने विषयमा दुई देशको ऊर्जा विकाससम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो।
नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदबीच शुक्रबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। यसअघि नेपालले चीनसँग पनि यस्तै समझदारी गरिसकेको छ भने तीन वर्षअघि भारतसँग ऊर्जा व्यापार सम्झौता गरेको थियो। भारतीय भूमि हुँदै बंगलादेशसम्म प्रसारण लाइन निर्माण गर्ने पक्षहरूबीच सहमति भएमा शुक्रबार बंगलादेशसँग भएको समझदारीले मूर्त रुप पाउनेछ।
हस्ताक्षरपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो समझदारीमा जलविद्युत् विकास, प्रसारण लाइन, ऊर्जा दक्षता तथा विभिन्न प्रकारका नवीकरणीय ऊर्जाको विकास गर्ने, जनशक्ति विकास र ऊर्जा क्षेत्रको उत्पादकत्वसहित दक्षता बढाउन सकिन्छ।’
यो समझदारीमा दक्षिण एसियामा रहेको जलविद्युत् विकासको अथाह सम्भावना भरपुर उपयोग गर्न सकिने मन्त्रालयले जनाएको छ। उक्त सम्भावनालाई क्षेत्रीय तथा उपक्षेत्रीय तहको सहकार्यबाट ऊर्जा क्षेत्रका जनताको जीवनस्तर विकास र सुधार गर्न सकिने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
विद्युत् उत्पादन, प्रसारण, वितरण, ऊर्जा दक्षता, जलविद्युत् आयोजनाको विकास, लगानी, डिजाइन, निर्माण स्थापना, सम्पन्न, सञ्चालन तथा उत्पादनका क्षेत्रमा दुवै देशका सार्वजनिक तथा निजी निकायबीच सहकार्य गर्ने विज्ञप्तिमा उल्लेख छ। विद्युत् आयोजनामा संयुक्त उपक्रमको माध्यमबाट लगानी गर्न आ–आफ्नो देशको नीति तथा कानूनको अधिनमा रही सहयोग र समन्वय गर्नेसमेत व्यवस्था राखिएको छ।
विद्युत् आयोजनाको सफल कार्यान्वयन गर्न सार्वजनिक तथा निजी क्षेत्रका निकायसँग आवश्यक सहयोग तथा समन्वय गरिनेछ। एक अर्काका विद्युत् गृह, निकाय तथा पूर्वाधारमा सम्बन्धित व्यक्तिको भ्रमण आदानप्रदान, दुई देशबीच विद्युत् व्यापारको सम्भावना खोज्न उपयुक्त राष्ट्रिय तथा क्षेत्रीय ग्रिड कनेक्टिभिटी स्थापनाका लागि दुवै पक्षले आवश्यक कदम चाल्नेसहितका दुई देशबीच सहकार्य, समन्वय र प्रोत्साहन गर्ने विषय पनि समझदारीपत्रमा राखिएको मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
समझदारीमा हस्ताक्षर गरेपछि बंगलादेशका विद्युत् राज्यमन्त्री हमिदले नेपालमा उत्पादित बिजुली बंगलादेश लैजान तयार रहेको बताए।
विज्ञप्तिअनुसार समझदारी कार्यान्वयन र आपसी समन्वयका लागि दुवै देशका ऊर्जा मन्त्रालयका सहसचिवको सहअध्यक्षतामा एक संयुक्त कार्यदल गठन गरिनेछ। उक्त कार्यदलले दिएको प्रगतिलाई दुई देशका विद्युत् सचिवले समीक्षा गर्ने गरी संयुक्त निर्देशक समिति गठन गरिने समझदारीमा उल्लेख छ। यस्तो संयन्त्रको बैैठक ढाका र काठमाडौंमा आलोपालो बस्ने गरी समझदारी भएको पनि घिमिरेले जानकारी दिए।
समझदारीमा हस्ताक्षर गरेपछि बंगलादेशका विद्युत् राज्यमन्त्री हमिद नेपालमा उत्पादित बिजुली लैजान आपूmहरू तयार रहेको बताए। नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न र नेपालसँग ऊर्जा सहकार्य गर्न बंगलादेश तत्पर रहेकाले नै यो सम्झौता सम्भव भएको हमिदको बुझाइ छ। यो समझदारीले नेपालबाट उत्पादित बिजुली प्रसारण लाइन बन्नासाथै बंगलादेश निर्यातको ढोका खुलेको छ। बंगलादेशले हाल भारतबाट पाँच सय मेगावाट बिजुली आयात गरिरहेको छ भने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन सुरु भए पनि बंगलादेशले बिजुली लैजान सक्ने गरी यो सम्झौता भएको पनि ऊर्जा मन्त्रालयको भनाइ छ।
बंगलादेशका ऊर्जा राज्यमन्त्री हमिद नेपालमा जलविद्युत्को अपार सम्भावना रहेकाले यसलाई दुई देशबीचको समन्वयमा दुवैलाई लाभ हुने गरी उपभोग गर्न सकिने बताए। हाल बंगलादेशमा १४ हजार मेगावाट बिजुली उत्पादन भइसकेको, सन् २०२१ सम्म २४ हजार र सन् २०४१ सम्म ६० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य रहेको हमिद बताए। उनले भने, ‘बंगलादेशले २०४१ सम्म एसियाको लिडिङ इकोनोमिक कन्ट्रीको रूपमा अगाडि आउने गरी योजना बनाएको छ। नेपालमा ऊर्जामन्त्री पुनले आगामी १० वर्षमा नेपालको जलविद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट बनाउने र सोही अवधिसम्ममा पाँच हजार मेगावाट निर्यात गर्ने सरकारी लक्ष्य रहेको बताए। यही योजनाअनुसार बिजुली निर्यातका लागि अहिलेदेखि नै उपयुक्त माध्यमको खोजी सुरु हुन थालेको मन्त्री पुनको भनाइ छ। नेपालबाट बिजुली आयात गर्ने सम्झौता गरेर बंगलादेशले ऊर्जा क्षेत्रका लागि ऐतिहासिक उपलब्धी तथा कोशेढुंगा साबित भएको बताए। नेपाल र बंगलादेशबीच विद्युत् विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारी हुनुलाई सकारात्मक उपलब्धि भएको मन्त्री पुनले उल्लेख गरे।
आगामी दिनमा नेपालबाट बंगलादेशमा बिजुली निर्यात गर्न यो सम्झौता महŒवपूर्ण भएको ऊर्जामन्त्री पुनले बताए। उनले बंगलादेशले उत्पादन गरिरहेको सौर्य ऊर्जामा पनि आपसी सहकार्य गर्न सकिने बताए। सार्क फेमवर्क सहमति यसअघि नै भइसकेकाले यसैको माध्यमबाट यो सम्झौतालाई थप प्रभावकारी बनाउन सकिने जानकारी मन्त्री पुनले दिए।
दुई देशबीचको समन्वयका लागि आगामी महिना हुने बिमस्टेक सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच थप छलफल हुने पनि उनको भनाइ छ।