नानीबाबुसँग धनञ्जय शर्माका मनका कुरा
पढाइमा निरन्तर अभ्यास चाहिन्छ विद्या पैसाले किन्ने वस्तु होइन । थुप्रै सामुदायिक विद्यालयले स्तरीय शिक्षा दिएका छन्, यो कुरा हामी थाहा नै पाउँदैनौं । मेरो जन्म पर्वतको कटुवाचौपारी गाउँमा भएको हो । यो अहिले कुश्मा नगरपालिकामा पर्छ । हाम्रो परिवार कृषिमा आधारित थियो । अति विपन्न हाम्रो परिवारको वर्ष दिनको कमाइले ६ महिना पनि खान पुग्दैनथ्यो । हामी चार दाजुभाइ र चार दिदीबहिनी थियौं । बुवा चण्डी, रुद्री आदि पढ्नुहुन्थ्यो तर पुरोहित्याइँ गर्नुुहुन्नथ्यो । उहाँ पात्रो हेर्नुुहुन्थ्यो । गाउँका मानिसको चिठी पत्र, तमसुक आदि लेखिदिनुुहुन्थ्यो । उहाँले घुँडामा नेपाली कागज राखेर लाहुरेहरूका लागि चिठी लेखिदिनुभएको सम्झिरहन्छु ।
मेरा दाजुहरू साक्षर मात्र हुनुभयो । दिदीबहिनीले पढ्ने मौका पाएनन् । हाम्रो बाल्यकाल मोदीखोलामा वस्तुबाख्रा चराउँदैमा बित्यो । आठ वर्षको हुँदा मैले बुवासँग ठूलो वर्णमाला पढेँ । त्यसपछि चण्डी छिचोलेँ । उतिबेला पढ्नु भनेकै कण्ठस्थ पारेर सुनाउनु थियो । त्यसपछि म गाउँकै स्कुलमा कक्षा ६ मा भर्ना भएँ । हाम्रो घरबाट हाइस्कुल पुग्न घण्टौं लाग्थ्यो । खोलामा पुल टाढा भएकाले घुमेर जानुपथ्र्यो । मलाई उतै राखेर पढाउन सक्ने पारिवारिक स्थिति थिएन ।
आमाले काठको कोसीमा दही जमाउनु हुन्थ्यो । एकदिन मैले आमा नभएको मौका पारेर खोपामा राखिएको दही चोरेर खाने विचार गरेँ । अग्लो ठाउँमा भएकाले भेटिन । पिरा खात राखेर खोपको दही खाएँ । मुख पुछेर निस्किँदै गर्दा आमाले देख्नुभयो । भोटोमा लागेको दही आमाले देखिहाल्नुभयो । उहाँ मोही पार्ने तयारीमा हुनुहुँदोरहेछ । दही देवतालाई नचढाई खान नमिल्ने भनेर पीर लिनुभयो । त्यसपछि मैले कहिल्यै पनि चोर्ने काम गरिनँ ।
एकपटक बाख्रा चराउन एक्लै गएको थिएँ । सेती बाख्राको एउटा पाठो ढुंगाको कापमा यताउति गरिरहन्थ्यो । त्यसदिन पाठो टाउको छिराएपछि निस्कन सकेन, अगाडि जान पनि सकेन, च्यापिएर कराउन थाल्यो । मैले पनि पछाडिबाट तान्नुको साटो पाठालाई अगाडिबाट तानेछु । बल गर्दागर्दै पाठो म¥यो । साँझ परेपछि बाख्राहरू घर फर्किए । म पाठो रुँघेर जंगलमै बसिरहें । मलाई दाजुले लिएर जानुभयो ।
एकदिन मलाई बुवाले मोदीबेनीमा नयाँ मान्छेसँग भेट गराइदिनुभयो । अर्कोदिन उनको साथ लगाएर मलाई भारत पढ्न पठाउनुभयो । दुई, तीन सय रुपैयाँ दिनुभयो होला ती मानिसलाई । करिब २० रुपैयाँ मेरा हातमा पनि हालिदिनुभयो । हामी रानीघाट हुँदै पाल्पाबाट भैरहवा निस्कियौं । त्यहाँ मैले पहिलो पटक मोटर देखेँ । गाडी कसरी कुद्छ भन्ने खुल्दुली भइरह्यो । सँगैका साथीलाई सोध्न पनि सकिनँ । गोरखपुरमा बत्तीको उज्यालोले दिन रात केही पनि छुट्टिएन । मलाई झन् आश्चर्य लाग्यो । मैले सोध्दा बिजुली हो भनेर उत्तर दिए । तर मेरो जिज्ञासा मेटाउन सकेनन् ।
मलाई दिनुभएको नेपाली रुपैयाँ भारतमा साटिएन । उनले मलाई अयोध्या पु¥याए । वास्तवमा ती मान्छे असल रहेनछन् । उनले मलाई राम्रो व्यवस्था गर्नुुको सट्टा एउटा मन्दिरमा अलपत्र जस्तै छाडिदिए । झन्डै बेवारिसै भएँ । त्यो वैष्णव समुदायको मन्दिर रहेछ । म कुचो लगाउने काम गर्न थालेँ । त्यहाँ रोटी खान दिन्थे । मलाई मीठो लाग्दैनथ्यो । नयाँ भाषा, नयाँ ठाउँ बानी हुन समय लाग्यो । तै पनि म उनीप्रति अनुगृहित नै छु ।
त्यहाँ मैले प्रथमाको परीक्षा दिने तयारी गर्न थाले । ६ महिना जति भाषा सिक्नै समय लाग्यो । तर मैले मेहनत गर्न छाडिनँ । त्यसपछि संस्कृत महाविद्यालयमा भर्ना भएँ । छात्रवृत्तिबापत पाइने नगद ३० रुपैयाँले सजिलो भयो । २०३१ सालमा शास्त्री पास गरेर फर्किएँ ।
२०३२ सालमा म शिक्षण सेवामा प्रवेश गरेँ । २०३६ सालको जनमत संग्रहका बेला बहुदलको आरोपमा मलाई जागिरबाट निकालियो । त्यसपछि पर्वतबाट काठमाडौं आएँ । पत्रकारिता सुरु गरेको थिएँ, २०३८ सालमा काठमाडौंको ज्ञानोदय मावि, बाफलका हेडमास्टर रेवरत्न वज्राचार्यसँग भेट भयो । उहाँले मलाई त्यहाँ लगेर नियुक्ति दिनुभयो । हामी विद्यालयको स्तर वृद्धिमा केन्द्रित भयौं । २०४० सालदेखि २०५० सम्म मैले उहाँको सहायकको रूपमा काम गर्ने मौका पाएँ । त्यसपछि त्यही अनुभवको आधारमा म २० वर्ष हेडमास्टर भएँ । त्यसपछि स्कुलको रिजल्ट एकाएक राम्रो भयो । प्रायः ९५ प्रतिशतभन्दा माथि नै रिजल्ट आउथ्यो । हाल उक्त विद्यालयमा २६ सय विद्यार्थी अध्ययनरत छन् । प्रवेश परीक्षामा सामेल ३५ प्रतिशत विद्यार्थीले मात्र त्यहाँ भर्ना पाउँछन् ।
भाइबहिनीलाई मेरो के अनुरोध छ भने पढाइ भनेको साधना हो । यसमा निरन्तर अभ्यास आवश्यक हुन्छ । पढेर मात्र केही सिकिँदैन, लेख्ने बानी गर्नुपर्छ । सिकाइलाई परिणाममुखी बनाउन चिन्तन मनन् जरुरी हुन्छ । त्यसो गर्न सके सिकेको कुरा व्यवहारोपयोगी हुन्छ । जीवनोपयोगी पनि हुन्छ ।
हिजोआज आमाबाबु र गुरुप्रति सम्मान भावमा कमी आएको छ । उहाँहरूले हामीलाई जन्ममात्र दिनुभएको छैन । भरणपोषण गर्नु भएको छ । पढाउनु भएको छ । संस्कार दिनुभएको छ । बाँच्ने कला दिनुभएको छ । आमाबाबुले छोराछोरीबाट ठूलो आशा राखेका हुँदैनन् । छोराछेरीले नाम कमाएको र सुख पाएको देख्दा मात्रै उहाँहरू सन्तुष्ट हुनुहुन्छ ।
हामी पूर्वीय दर्शन, संस्कार संस्कृतिप्रति निरपेक्ष हुँदै गएका छौं । यो हाम्रो पुर्खाको सम्पत्ति हो । यसको जगेर्ना गर्नुुपर्छ । हाम्रा मूल्यमान्यता सबै गलत छैनन् बरु वैज्ञानिक छन् । हामीमा मानवीय संवेदना हराउँदै गएको छ । पारस्परिक अभाव बढेर गएको छ । हामी स्कुलको पढाइ सक्नासाथ विदेशबारे सोच्न थाल्छौं । विदेश गएपछि उतै भासिन्छौं । हामीसँग भएका अपार सम्भावनाबारे खोजी गर्दैनौं । हामी बत्तीमुनिको अध्यारो जस्तै भएका छौं । उच्च शिक्षाको लागि विदेश गए पनि हामीले आफ्नो देश भुल्नु हुँदैन ।
विद्या पैसाले किन्ने वस्तु होइन । हिजोआज अभिभावक र विद्यार्थी आकर्षक विज्ञापनका पछाडि कुद्ने गरेका छन् । पैसा तिर्दा मात्र गुणस्तरीय शिक्षा प्राप्त हुन्छ भन्ने मान्यता छ । थुप्रै सामुदायिक विद्यालयले सस्तोमा स्तरीय शिक्षा दिएका छन्, यो कुरा हामी थाहा नै पाउँदैनौं ।
(ज्ञानोदय माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक शर्मासँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित ।)