स्थानीय पथप्रदर्शकलाई एकमहिने तालिम

स्थानीय पथप्रदर्शकलाई एकमहिने तालिम

भक्तपुर : भक्तपुर नगर क्षेत्रका स्थानीय पदप्रदर्शकलाई एकमहिने तालिम दिन सुरु गरिएको छ। भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति (बीटीडीसी) र नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) मिलेर उक्त तालिम दिइएको हो ।

भक्तपुरको कला, संस्कृति, इतिहाससँगै नाथमको पदप्रदर्शकसम्बन्धी कोर्ष संयोजन गरिएको उक्त तालिमको मंगलबार भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेका हुन्।

उक्त तालिमको लागि भक्तपुर नगरपालिकाले स्थानीय पदप्रदर्शकलाई नाम दर्ता र परीक्षासमेत लिएको थियो। परीक्षा दिनको लागि एकसय १४ जनाले नामसमेत दर्ता गराएका थिए तर परीक्षामा ८० जना उत्तीर्ण र १० जना वैकल्पिक सूचीमा नाम प्रकाशन गरिएको थियो।

सोही उत्तीर्ण र बैकल्पिक सूचीमा नाम निकालेका पथप्रदर्शकहरुको लागि तालिम सुरु गरिएको हो ।

भक्तपुर नपाका प्रमुख प्रजापतिले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न यहाँका पदप्रदर्शकहरुको क्षमता अभिवृद्धि गर्न तालिम दिइएको जानकारी दिए।

उनका अनुसार एकमहिने तालिमको लागि ६५ जना भर्ना भएका छन्।‘भर्ना भएका ६५ जनालाई दुई समूहमा दैनिक चारघन्टाको कक्षा सञ्चालन हुनेछ’, उनले भने, ‘तालिमपछि स्थानीय पदप्रदर्शकहरुको लागि आचारसंहितासमेत निर्माण गरिनेछ।’

आचारसंहिताविपरीत जाने तथा भक्तपुरको पहिचान, प्रतिष्ठामा आँच पुग्ने कार्य पदप्रदर्शकहरुलाई कारबाहीसमेत गरिने उनको भनाइ थियो।

‘पथप्रदर्शकहरुको माध्यमबाट विश्वभर भक्तपुरको सकारात्मक प्रचारप्रसार गर्न खोजेका छौं’, नगर प्रमुख प्रजापतिले भने, ‘पथप्रदर्शकहरुले भक्तपुरको मौलिक इतिहास, कला र संस्कृतिमात्रै होइन, यहाँको मौलिक तथा परम्परागत उत्पादनबारे पनि पर्यटकहरुलाई पूर्ण जानकारी दिन सक्नुपर्छ।’

यसको लागि पर्याप्त अध्ययन र अनुसन्धान गर्नसमेत उनले पदप्रदर्शकहरुलाई आग्रह गरे। बीटीडीसीका अध्यक्ष रामसुन्दर भेलेले भक्तपुरमा १६ वर्षपछि दोस्रोपटक स्थानीय पथप्रदर्शकहरुको तालिम भएको जानकारी दिए ।

२०५९ सालमा पनि भक्तपुर नगरपालिकाकै संयोजनमा बीटीडीसी र नाथमले नै स्थानीय पदप्रदर्शकहरुको तालिम भएको उनको भनाइ थियो। 

पथप्रदर्शकहरुलाई लाइसेन्सको व्यवस्था
अध्यक्ष भेलेले अहिलेको एकमहिने तालिम पूरा गरेका स्थानीय पदप्रदर्शकहरुलाई लाइसेन्सको व्यवस्था गरिने बताए।

‘तालिम पूरा गरेकाहरुलाई लाइसेन्सको व्यवस्था गरिनेछ’, उनले भने, ‘लाइसेन्स नभएकाले पथप्रदर्शन गर्न पाइनेछैन। त्यस्तै उनीहरुलाई युनिफर्म र परिचयपत्रको आधारमा पदप्रदर्शकको पहिचान गर्न नम्बर उपलब्ध गराइनेछ।’

त्यस्तै स्थानीय पथप्रदर्शकहरुको रोजगारीको सुनिश्चितताको लागि क्यु प्रणालीसमेत लागू गरिने भएको भक्तपुर नपाले जनाएको छ। त्यस्तै भक्तपुर नगरभित्रको पर्यटकीय क्षेत्रको पथप्रदर्शन गर्ने प्याकेज तोकेर त्यसको शुल्क निर्धारण गरिने बीटीडीसीका महासचिव दीपेशराज शर्मा बताउँछन्।

‘प्याकेजअनुसार पथप्रदर्शनको शुल्कसमेत निर्धारण गर्छौं’, उनले भने, ‘यसबाट पर्यटकहरु ठगिन पाउने छैनन्। यसबाट भक्तपुरमा पर्यटकहरुको बसाइ पनि लम्बिनेछ।’

लाइसेन्स लिएका पथप्रदर्शकहरुले आचारसंहिताअनुसार काम गरे नगरेको अनुगमनसमेत गरिने महासचिव शर्मा बताउँछन्। सोही अनुगमनको आधारमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीस्वरुप लाइसेन्स खारेजसमेत गरिने उनले स्पष्ट पारे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.