हातसँगै गाँसिएको खुसी

हातसँगै गाँसिएको खुसी

वीरगन्जकी नैनाकुमारी १० वर्षकी भइन्। जन्मजातै उनको बायाँपट्टि हातको नाडीभन्दा तलको भाग छैन। एक त मधेसी समुदायको गरिब परिवार। त्यसमा पनि अपांगता भएकाले उनले नियमित पढ्नसमेत पाएकी थिइनन्। आफूले कृत्रिम चलाउन मिल्ने हात हाल्न पाउने खबर पाएपछि उनी निकै दंग परेकी थिइन्। गत महिना काठमाडौं आएर उक्त हात हालेपछि त्यसलाई कसरी चलाउने भनेर उनी निकै आतुर भएकी थिइन्। हात हालेर गाउँ गइसकेकी नैनासँग अहिले उनका स्कुलका साथीहरू पनि खेल्न आउँछन्। सधैं टाढा भाग्ने साथीहरू नजिकिएका देखेर उनी स्कुल पनि जान थालेकी छिन्। सबैभन्दा बढी त नैना साइकल चलाउन सक्छु भन्नेमा खुसी भएकी छिन्।

संखुवासभाकी मीरा       श्रेष्ठलाई पनि यही हातले जीवनमा नयाँ उमंग दिएको छ। वानास्थित वाना माविमा कक्षा ९ मा अध्ययनरत उनले हात लगाउनासाथ बोतलको बिर्को समातेर लगाएकी थिइन्। मीराले हात लगाएर गाउँ गएपछि उनकी आमा लक्ष्मी र उनकै साथीहरूको पनि हेर्ने लर्को लागेको थियो। पहाडको ठाउँ भएकाले काम पनि त्यत्तिकै गर्नुपर्छ। आमालाई सघाउने जिम्मेवारी पनि १५ वर्षीया मीरामै छ। तर पनि उनले हातलाई चलाउने दिनहँ अभ्यास गर्ने र सकेसम्म सम्हालेर काम गर्ने बानी बसालेकी छिन्।

नैना र मीरा जस्तै अञ्जना र खुसीको जीवनमा पनि निःशुल्क हात लगाइदिएर खुसी थप्ने काम ई–नेबल नेपालले गरेको छ। हालसम्म केहीले मात्रै हात लगाए पनि करिब ४० जना हात लगाउने लाइनमा छन्। थ्रीडी प्रोस्थेटिकको उक्त हात निर्माण पनि नेपालमै हुने गरेको छ। यसका लागि आवश्यक कोठाहरू दिने काम नोबेल अस्पताल, सिनामंगलले गरेको छ भने उपकरणको सहयोग ई–नेबल क्यानडाले गरेको जानकारी संस्थाका सचिव दिनेश राजभण्डारीले गराए।

थ्रीडी प्रिन्टरबाट प्रिन्ट गरेर निकालिने उक्त हात बनाउन क्यानडाबाटै आएका एक प्राविधिकले यहाँका तीनजना स्वयम्सेवीलाई एक महिना तालिम दिएका थिए। शिक्षा गौतम, रितेश राजभण्डारी र समोद       श्रेष्ठले उक्त तालिम लिएर हाल पालैपालो हात बनाउने काम गर्दै आएका छन्। कहिलेकाहीँ मेसिनमा प्राविधिक गडबडी हुँदा र कम्प्युटरमा हातको नापहरू सेटिङ गर्दा तलमाथि भएमा नयाँ बन्ने हातको आकार बिग्रिन सक्ने प्राविधिक शिक्षा गौतमले बताइन्। हात बनाउँदा सबै भाग छुट्टाछुट्टै बनाए पछि ती सबैलाई धागो र नटले जोड्ने गरिन्छ।

हात नभएका १६ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर संस्थाले यो कार्यक्रम सुरु गरे तापनि सबै हात नभएका बालबालिकालाई भने यो कृत्रिम हात लगाउन मिल्दैन। कुहिनोबाट लगाउने भए त्यहाँभन्दा दुई इन्च तलसम्मको भाग हुनुपर्छ। नाडीबाट लगाउने भए नाडी चारैतिर घुमाउन मिल्ने हुनुपर्छ। त्यस्तै मुठी र औंलाको आकार प्रकारले पनि हात लगाउन मिल्ने नमिल्ने निर्धारण गर्छ।

नाडीमुनिको भाग जम्मा सय ग्राम मात्रै हुने भएकाले हात निकै हल्का हुन्छ। हात बालबालिकाकै इच्छाअनुसारको रङको बनाउन मिल्छ भने नचाहिने बेलामा फुकालेर राख्न पनि सकिन्छ। हात लगाउँदा त्यसभित्र नरम खालका कपडा पनि राखिने हुनाले चिलाउने, पोल्ने वा एलर्जी हुने जस्ता समस्या आउँदैन।

हात नभएका कारण बालबालिका विद्यालय जान मान्दैनन्। कतिपय परिवारमा बाबुआमाले पनि छोराछोरीलाई घरमै लुकाएर राख्ने गरेका छन्। यस्ता हातले उनीहरूलाई बाहिर एक्सपोज हुन शारीरिक र मानसिक रूपमा उत्प्रेरित गर्ने सचिव राजभण्डारीको भनाइ छ।

ठूला मानिसले हात नहुँदा पनि आफूलाई त्यसैमा बानी पारिसकेका हुन्छन्। तर साना बालबालिकालको जीवन धेरै लामो र महŒवपूर्ण पनि हुन्छ। उनीहरूलाई जीवनमा धेरै खेल्नुपर्ने र लेखपढ गरी करियर बनाउनुपर्ने पनि हुन्छ। त्यसैले हरेक बालबालिकासँग हात होस् भन्ने सोचाइले संस्थाले यो सुरु गरेको हो। हात लगाएर गएपछि बालबालिका बढ्ने क्रममा हातको आकार पनि बढ्दै जान्छ। यसरी बढेको अवस्था र कतै टुटेफुटेको बेलामा संस्थाले निःशुल्क मर्मतको सुविधा पनि दिएको छ।

सातै प्रदेशका स्थानिय सरकारसँग मिलेर बालबालिका भएकै ठाउँमा प्रिन्टरलाई लगेर हात बनाउने र लगाइदिने सोच संस्थाको छ। हात बनाउने कामलाई आर्थिक सहयोग जुटाउन संस्थाले विभिन्न योजना बनाएको छ। कारणवश भविष्यमा संस्थाले हात बनाएर बाँड्न सकेन भने हातको बानी परिसकेकालाई ठूलो चोट पुग्न सक्छ। त्यसैले नेपाल सरकारले पनि आफ्नो काममा सहयोग गरिदिए यसलाई निरन्तरता दिन सजिलो हुने उपाध्यक्ष युवराज गौतमले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.