बाढीले पुल बगाएपछि गोसाइकुण्ड मेला प्रभावित
नुवाकोट : बाढीले पुल बगाएपछि रसुवामा लाग्ने प्रसिद्ध गोसाइकुण्ड मेला प्रभावित भएको छ। पासाङल्हामु मार्गमा रहेको त्रिशूली-धुन्चे सडकखण्डमा रहेको गर्खुखोलाको पुल बाढीले भत्काएका कारण गोसाइकुण्ड जान आएका तीर्थयात्री प्रभावित भएका हुन्।
पुल बगेपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ। बाढीले पुलको रसुवापट्टिको सडक १० मिटर बगाएको छ। रसुवालाई काठमाडौँसँग जोड्ने सडक अवरुद्ध भएपछि तीर्थयात्री बाटोमै अलपत्र परेका छन्।
सदरमुकाम धुन्चेदेखि डेढ दिनको पैदल दूरीमा रहेको गोसाइँकुण्ड गाउँपालिका- ५ मा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा मेला भर्नका लागि तीर्थयात्री जाने क्रम जारी रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।
प्रसिद्ध गोसाइकुण्ड मेला एक सातादेखि जारी छ । तर, जनैपूर्णिमामा लाग्ने मेलामा गोसाइकुण्ड स्नान गर्न जाने भक्तजन पहिरोले पुल बगाएपछि प्रभावित भएका छन्।
अविरल वर्षात्पछिको बाढीले पासाङल्हामु मार्गअन्र्तगत रहेको विदुर नगरपालिका- १ इन्द्रायणीचौर र विदुर-१० गेर्खु जोड्ने पक्की पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तबहादुर कुंवरले जानकारी दिए।
मुलुकका विभिन्न ठाउँबाट तीर्थयात्री मेला भर्न गोसाइकुण्ड जाने गरेका छन्। सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए। पुल भत्किएको स्थानमा अस्थायी डाइभर्सन वनाएर मोटर सुचारु गर्ने तयारी भइरहेको कुंवरले बताए। मंगलबारसम्म अस्थायी पुल निर्माण गरेर यातायात सूचारु गरिने उनको भनाई छ।
रसुवा जाने वैकल्पिक सडक त्रिशूली-तुप्चे-मनकामना- पैरेबेँशीसमेत पहिरोले बगाएपछि अवरुद्ध छ। गेर्खु खोलाको बाढीले सयौँ रोपनी खेत कटान गरेको छ। बाढीका कारण सयौँ परिवार जोखिममा परेका छन्।पुल बगाएसँगै रसुवा नुवाकोट भएर चल्ने कुनै पनि सवारीसाधन चल्न सकेको छैन।
सो सडकमार्गमा दैनिक रुपमा तीनसय भन्दा बढी बस, ट्रक, कन्टेनर, माइक्रोबस गुड्ने गरेकोमा पुल बगाएसँगै सवारी ठप्प भएको छ। हजारौं यात्रुबीच बाटोमै रोकिएका छन्।
अवरुद्ध भएको सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख तथा प्रहरी उपरिक्षक बसन्तवहादुर कुँवरले बताए। सयौं गाडी बीचमै रोकिँदा हजारौं यात्रुलाई खानपान तथा बसोबासको समस्या परेको छ।
बाटो अवरुद्ध भएपछि यात्रु तथा मालबाहक यातायातका साधन वैकल्पिक बाटो प्रयोग गरी चलाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए। गाडी बेत्रावती-नौविसे-पहिरेवेशी-सोले-तुप्चे-आंगापुटार-त्रिशूली हुँदै संचालन गरिएको छ।
लगातारको वर्षाले पुल बगाउँदा अवरुद्ध भएको सडक खुलाउन अस्थायी पुल बनाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। अवरुद्ध सडक नेपाल-चीन प्रवेशका लागि हाल संचालनमा रहेको एकमात्र रसुवागढी नाका जाने सडक हो।
गोसाइकुण्डमा श्रावण शुक्ल पञ्चमीदेखि सुरु भई साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमासम्म मेला लाग्ने गर्छ। यस कुण्डमा जाने तीर्थालुको सुविधाका लागि कुण्ड जाने मार्गको चोलाङपाटी, लौरीविना, बुद्ध मन्दिर, चन्दनवारी, घट्टेखोला, देउराली र गोसाइकुण्डमा स्वास्थ्य शिविर संचालनको तयारी पूरा भएको छ।
यो वर्षको मेलामा करिब १५ हजार तीर्थयात्रीले मेला भर्ने अनुमान गरिएको छ। गत वर्ष करिब ७ हजार तीर्थयात्रीले मेला भरेका थिए। मेला व्यवस्थापनको आवश्यक तयारी पूरा भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
मेलाका लागि दररेट निर्धारण, फोहोर व्यवस्थापन, स्वास्थ्य क्याम्प संचालन, स्वंयमसेवक परिचालन, यातायातको व्यवस्थापन, अस्थायी थर्पु निर्माण, पदमार्ग मर्मतलगायतका कार्य पूरा भएको अध्यक्ष संजिव डिएमले जानकारी दिए।
नागपञ्चमीदेखि मेला सुरु भएको हो। मेलाका लागि अस्थायी बास (थर्पु) १४ वटा सञ्चालन गरिए छ। घट्टेखोलादेखि गोसाइँकुण्डसम्म जानका लागि ५० वटा घोडा तयारी अहवस्थामा रहने समितिले जनाएको छ।
तीर्थयात्रीलाई यात्रामा सहजीकरण गर्नका लागि विभिन्न संघसंस्थाले स्वंयमसेवक परिचालन गरिने जनाइएको छ। यो वर्षको मेला यही साउन ३१ गतेदेखि भदौ १० गतेसम्म सञ्चालन हुनेछ।
गोसाइँकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटलले खाना तथा बासका लागि सम्पूर्ण तयारी गरिसकेको बताएका छन्। मेला भर्न आएका तिर्थयात्रीले पवित्र तिर्थस्थल गोसाइँकुण्ड तथा गोसाइँकुण्ड जान नसक्नेले धुन्चेस्थित मिनिगोसाइँकुण्डमा मेला भरिरहेका छन्।
गोसाइकुण्ड मेला व्यवस्थापन समितिका संरक्षक तथा प्रजिअ कृष्ण पौडेलेका अनुसार धुन्चे हुँदै गोसाइँकुण्ड पुग्न सकिने पदमार्गबाट दैनिक दुई सयजना तीर्थयात्री गइरहेका छन्।