श्वेतपत्र जारी गर्ने खानी विभागको तयारी
काठमाडौं : खानी तथा भूगर्भ विभागले वर्तमान स्थिति र भविष्यमा चाल्नुपर्ने रणनीतिसहितको श्वेतपत्र जारी गर्ने तयारी गरेको छ। विभागले हालसम्मका प्रगतिका आधारमा आगामी कार्यदिशासहित श्वेतपत्रको मस्यौदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएको छ।
मन्त्रालयले स्वीकृत गरेपछि श्वेतपत्र जारी गर्ने तयारीमा रहेको विभागका प्रवक्ता कृष्णदेव झाले जानकारी दिए। उनले आगामी कार्यदिशासहितको श्वेतपत्र तयार भएको जानकारी दिए।
सरकारले यही साताभित्र भूविज्ञान तथा खनिज सम्पदा विकासको अवधारणा, वर्तमान अवस्था तथा भावी कार्यदिशा (श्वेतपत्र) जारी गर्न लागेको विभागका अधिकारीले जनाएका छन्।
संघीयता कार्यान्वयनपछि खानीजन्य उद्योगमा देखापरेका चुनौती तथा खानी खोजतलास, अन्वेषण, उत्खनन् तथा उद्योग सञ्चालनका मुद्दाका साथै विभागले अबका दिनमा लिने नीति स्पष्ट पार्न श्वेतपत्र जारी गर्न लागिएको हो। विभागले बुझाएको मस्यौदामाथि मन्त्रालयमा छलफल भइरहेको विभागीय मन्त्रीका निजी सचिव प्रेम आचार्यले जानकारी दिए। उनले भने, ‘सम्भवतः यसै साताभित्र मस्यौदाले अन्तिम रुप पाउनेछ।’
आर्थिक वर्ष २०७४/७५ मा विभागले खनिज कार्यअनुसार खास खनिज प्रवद्र्धनबापत ६६ करोड ९३ लाख ९६ हजार रुपैयाँ संकलन गरेको छ। खनिज उत्पादन रोयल्टीबापत ३१ करोड १९ लाख ८९ हजार रुपैयाँ उठेको छ। विभागको कुल राजस्व करिब एक अर्ब १३ करोड ९७ लाख संकलन भएको विभागले जनाएको छ। भौगर्भिक सर्वेक्षण, खनिज अन्वेषण, उत्खनन, प्रशोधन, प्रवद्र्धन, उत्पादन र वितरण कार्यमा आधुनिक प्रविधि उपयोग गर्दै खनिज सम्पदाको दिगो विकास गर्ने विभागको योजना छ।
चिनियाँ लगानी बढ्यो
पछिल्लो समय नेपालको खानीजन्य उद्योगमा चिनियाँ लगानी बढेको विभागले जानकारी दिएको छ। चिनियाँ लगानीमा होङ्सी शिवम सिमेन्ट प्राइभेट लिमिटेड नामक उद्योगले चुनढुंगा उत्खनन गरी सिमेन्ट उत्पादन सुरु गरेको छ। यस्तै अर्को हुवासिन नारायणी सिमेन्ट प्रालिले खास खनिज अन्तरगत चुनढुंगा अन्वेषणको लागी सरकारसँग सम्झौता गरी चुनढुंगा खोजतलास अनुमतिपत्र लिएको छ।
विभागका अनुसार खनिज कार्यका लागि स्वदेशी एवं विदेशी लगानीबीच फरक व्यवहार गरिने छैन भन्ने नीतिगत व्यवस्थाअनुसार हाल खानी क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ता आकर्षित भएका हुन्। विशेष गरी चिनियाँ र भारतीय निजी लगानीकर्ताले खानी अन्वेषण तथा उत्खनन्मा लगानी गरेका छन्। विदेशी लगानीकर्ताको प्रमुख आकर्षण सुन अन्वेषण, खरी अन्वषण, तामा अन्वेषण, चुनढुंगा अन्वेषण तथा उत्खनन् साथै सिमेन्ट उद्योगमा रहेको छ। ००इन्धन खनिज००
पेट्रोलियम अन्वेषणका लागि छुट्टयाइएका १० अन्वेषण खण्डमा सरकारद्वारा सरकारसँग खरिद (जी–टूजी) सुविधा वा अन्य कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निजी क्षेत्रलाई आकर्षित गरी पेट्रोलियम अनवेषण योजनालाई अघि बढाइनेछ। पेट्रोलियमको सम्भाव्यता देखिएका तराई तथा चुरे क्षेत्रमा हालसम्म गरिएका भौगर्भिक तथा भू–भौतिक अन्वेषणवाट डाटावेश तयार गरी थप अनुसन्धान गर्न तराई, चुरे र महाभारत पहाडको पाँच हजार वर्ग किमि क्षेत्रफल नबढ्ने गरी १० वटा ब्लकमा छुट्टयाइएको छ। नेपाल पेट्रोलियम ऐन, २०४० तथा नेपाल पेट्रोलियम नियमावली, २०४१ को अधिनमा रही पेट्रोलियम अन्वेषण परियोजना मार्फत केही ब्लकमा अन्तरर्राष्ट्रिय कम्पनीलाई अन्वेषण अनुमति दिइएको भए पनि विभिन्न कारण देखाइ अन्वेषणमा उदासीनता देखाइएकाले हाल सम्पूर्ण अनुमति खारेज गरिएको र नयाँ कम्पनीलाई प्रतिश्पर्धाका लागि आह्वान गर्ने तयारी भइरहेको छ।
संघीयता कार्यान्वयनपछि खानीजन्य उद्योगमा देखापरेका चुनौती तथा खानी खोजतलास, अन्वेषण, उत्खनन् तथा उद्योग सञ्चालनका विषयका साथै विभागले आगामी दिनमा लिने नीति स्पष्ट पार्न श्वेतपत्र जारी गर्न लागिएको छ।
यस्तै दैलेख र मुस्ताङमा प्राकृतिक ग्यास तथा काठमाडांैमा मिथेन ग्यासको भण्डार रहेको छ। काठमाडौं उपत्यकामा तीन करोड घन मिटर मिथेन ग्यास रहेको अनुमान छ। दाङ र पाल्पामा प्राकृतिक कोइलाको व्यावसायिक उत्पादन हुँदै आएको छ। नेपालमा पेट्रोलियम अन्वेषण गर्न नेपाल सरकार र चीन सरकारबीच मार्च २३, २०१६ मा १३६ मिलियन आरएमबी बराबरको सहयोग सम्झौता सम्पन्न भई विभागमा कार्यन्वयन गर्ने योजना प्राप्त भएको र कार्यान्वन गर्ने क्रममा छ।
४० करोड चुनढुंगा खानी प्रमाणित
विभागको अध्ययनअनुसार देशका विभिन्न भागमा चुनढुंगा, डोलोमाइट, मार्बल ,फोस्फोराइट, म्याग्नेसाइट ,खरी रातोमाटो, ग्रेनाइट, क्वार्जाइट, सिलिका स्यान्ड, कावलिन क्ले, फेल्डस्पार, अभ्रख जस्ता अधातु खनिज पत्ता लागेको छ। फलस्वरुप लगभग ४० करोड टन चुनढुंगा भण्डार प्रमाणित गरिएका छन् भने थप १० करोड टन अर्ध प्रमाणित र ७४ करोड सम्भाव्य गरी कुल लगभग एक अर्ब टन चुनढुंगा पत्ता लगाइएको छ। हाल वार्षिक ५० लाख टनभन्दा बढी चुनढुंगा उत्पादन भइ सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भरताको दिशामा अगाडि बढेको छ। हाल चुनढुंगा, खरी, रातोमाटो, क्वार्जाइट स्ल्याबको व्यावसायिक उत्पादन भैरहेको कार्यदिशामा उल्लेख छ।
एक करोड टन फलाम
धातु खनिज अन्तर्गत सुन, तामा, फलाम, जस्ता, सिसाको भण्डार पहिचान भएको छ। नवलपरासीको धौबादी, रामेछापको ठोसे र ललितपुरको फुल्चोकी फलाम भण्डार छ। यस्तै सोलुखुम्बुको वाप्सा, मकवानपुरको कालिटार, उदयपुरको कुडुले, गोरखाको ग्याजीलगायत धेरै स्थानमा तामा खानी, रसुवाको गणेश हिमालमा जस्ता र सिसा एवं अन्य धेरै स्थानमा विभिन्न धातु खनिजको सम्भाव्यता छ। नवलपरासिको धौबादी फलाम खानीको विस्तृत अध्ययन भैरहेको र हालसम्मको अध्ययनले अनुमानित सरदर एक करोड टन फलामको धाउको भोगोलिक भण्डारण रहेको पाइएको छ।
निर्माणमुखी खनिजको विस्तृत अध्ययन गरी १ स्थानीय तह १ निर्माणमुखी खानी हुने गरी प्रबद्र्धन गर्ने विभागको योजना छ। नवलपरासी धौबादी फलामको उत्खनन् गरी उद्योग स्थापनाको लागि प्रबद्र्धन गर्ने बताइएको छ। नेपाल सरकार र चीन सरकारबीच सम्झौता भइ मेटालर्जिकल टेस्टका लागि करिब आठ सय केजि फलामको धाउको नमुना चीन पठाइएको र हाल परीक्षण भइरहेको छ।
सिमेन्टमा निजी उद्योगकै बढी लगानी
खनिजजन्य कच्चा पदार्थको उत्खनन् तथा यसमा आधारित उद्योगको स्थापना तथा सञ्चालनमा निजी क्षेत्रको उत्साहजनक सहभागिता छ। आव २०७४/७५ सम्म २२ वटा सिमेन्ट उद्योग निजी लगानीमा सञ्चालनमा छन् भने खरीमा आधारित पाउडर उद्योग पाँचवटा छन।
डोलोमाइट तथा खरी स्रोतको प्रशोधन गरी रंग उद्योगका लागि कच्चा पदार्थ आपूर्ति गर्ने उद्योग सञ्चालनमा छ। सरकारी लगानीका दुईवटा सिमेन्ट उद्योगबाहेक अन्य खनिजमा आधारित उद्योगमा निजी क्षेत्रको नै सहभागिता रहेको विभागले जानकारी दिएको छ।
खास खनिज अन्तर्गत प्रवद्र्धन गरिएका चारवटा चुनढुंगा खानी, दुईवटा सिसा जस्ता खानी, एक म्याग्नेसाइट र दुईवटा रातोमाटो खानीबाहेक हालसम्म जारी एक सय १५ वटा उत्खनन अनुमतिपत्र प्रापक खानी निजी क्षेत्रबाट नै सञ्चालित छन्। साथै तीन सय ६२ वटा नै खोजतलास अनुमतिपत्र निजी क्षेत्रले लिई खनिज अन्वेषण गरिरहेका छन।
रेडियोधर्मी खनिज
युरेनियमलगायत रेडियोधर्मी पदार्थको सम्भावित भण्डार देशका विभिन्न स्थानमा पत्ता लागेका छन्। माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र, बैतडीको उत्तरी क्षेत्र, गोरखाको आँपपीपल क्षेत्र र मकवानपुरको तीनभंगाले क्षेत्रमा विभागले अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियोग ‐आईएईए) को सहकार्यमा रेडियोधर्मी खनिजसम्बन्धी अनुसन्धान कार्य अगाडि बढाएको विभागले जानकारी दिएको छ।
साधारण निर्माणमुखी खनिज
देशभरका विभिन्न १४ जिल्लामा ९२ वटा साधारण निर्माणमुखी ढुंगा खानी पहिचान गरी गुण र परिमाण यकिन गरिएको छ। तराईका विभिन्न भागमा कुल ६० करोड घनमिटर निर्माण सामग्री (बोल्डर, ग्राभेल तथा बालुवा) का भण्डार पाइएको छ भने अझै धेरै क्षेत्रमा अध्ययन अनुसन्धान हुन बाँकी नै छ। यस्तै चुरे तथा महाभारत पहाडी शृंखलामा प्रशस्त मात्रामा निर्माणमुखी खनिज पदार्थ रहेको विभागको कार्यदिशामा उल्लेख छ।
देशभर सिस्मिक, जीपीएस र एक्सेलेरोमिटर तथा भूकम्पमापन स्टेसनको सञ्जाल स्थापना गर्ने र खानी तथा भूगर्भ विभागमा हिमालयको अध्ययन अनुसन्धान गर्न प्रयोगशाला स्थापना गर्न र खुला विश्वविद्यालयका रूपमा विकास गर्न थालेको।