गीतमा ‘कथा काठमान्डू’
काठमाडौं : असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कथा काठमान्डू’ को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा बुलेट फ्लो र वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर सुन्न सकिन्छ । प्रायः आफ्नै फिल्म वा एल्बममा मात्र गीत गाउने आचार्यले यसपटक अन्य ब्यानरका लागि गीत गाएका हुन् । उनले पछिल्लो समय फिल्म ‘छ एकान छ’, ‘छक्का पञ्जा–२’ लगायतमा गीत गाएका थिए ।
सुरजविक्रम थापाको शब्द, संगीत र कम्पोज रहेको गीतमा काठमाडौंको अस्तव्यस्त दैनिकी चित्रण गरिएको छ । गीतले फिल्मको मूल कथा प्रस्ट्याएको डेब्यु निर्देशक संगीता श्रेष्ठले बताइन् । फिल्मको कथा निर्देशक संगीताले नै लेखेकी हुन् । विजय राईको निर्माणमा तयार भएको यो फिल्ममा लुज सिंहको छायांकन छ ।
‘कथा काठमान्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । फिल्ममा प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सन्ध्या केसी, प्रेक्ष्या अधिकारीको प्रमुख भूमिका छ ।
अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरजविक्रम थापाले संगीत भरेका छन् । फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् भने यसको भीएफएक्स र कलर भरत रेग्मीले गरिरहेका छन् ।