असोजबाट जल यातायात : बरुण वाटरवेजले माग्यो सञ्चालन अनुमति
काठमाडौं : नेपालका नदीमा जल यातायात सञ्चालन गर्न वरुण वाटरवेजले अनुमति मागेको छ। यो कम्पनीले असोज दोस्रो साताबाट सञ्चालन तयारी गरिरहेका दुईवटा र पुसमा थप हुने अर्को एक वाटर बोटका लागि सञ्चालन अनुमति मागेको हो। कम्पनीले हाल बोट चलाइरहेको अरुण नदीमा दूरी बढाउनेदेखि दूधकोसी, सुनकोसी, कर्णाली र नारायणी नदीमासमेत वाटर बोट सञ्चालनको अनुमतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष माग गरेको छ।
जल यातायातलाई नियमन, सञ्चालन इजाजत, नयाँ नदीमा सञ्चालन अनुमति तथा नदीमा देखिएका प्राविधिक समस्या समाधानसहितका लागि सरकारसँग आग्रह गरिएको वरुण वाटरवेजका प्रबन्ध निर्देशक सुमिरन आचार्यले शनिबार अन्नपूर्णलाई बताए। उनले भने, ‘पछिल्लो समय सरकारले जल यातायातलाई प्राथमिकता दिन थालेकोले सम्भावना भएका नदीमा वाटरबोट सञ्चालन गर्न प्रवद्र्धन गर्नुपर्छ।’
सरकारले यो क्षेत्रलाई व्यवस्थित गर्ने र सञ्चालनको वातावरण बनाउँदै सहजीकरण गर्ने तथा नदीको बीचमा हुने ठूला ढुंगा र पानीको बहावलाई केन्द्रीकृत गरेर पठाउनेसहितका प्राविधिक पक्षमा ध्यान दिन बरुणले आग्रह गरेको छ। नेपालका लागि जलयातायात नयाँ क्षेत्र हो। पानीको बहाब नमिल्दा वाटरबोटमा बालुवा पस्ने र छिटो बिग्रने समस्या छ। यही समस्याका कारण सञ्चालन हुने र बन्द हुने भइरहेको पानी बोटलाई व्यवस्थित रूपमा चलाउन आर्थिक वर्ष २०७४/७५ बाट कम्पनी नै स्थापना गरेको आचार्यले जानकारी दिए। यो कम्पनीले हाल दुईवटा वाटरबोट अरुण नदीको चतराघाटबाट धनकुटाको सिम्लेसम्मको आधा घण्टाको दूरीमा चलाइरहेको छ। यसले थप दूरी बढाउँदै भोजपुरको अखुवाटार र मचुवाटारसम्म सञ्चालनको तयारी थालिसकेको छ।
आगामी असोज/कात्तिकदेखि चतराघाटबाट सिम्ले हुँदै अरुणनदीमा सञ्चालन हुने वाटरबोटलाई धनकुटाको लेगुवाघाट हुँदै संखुवासभाको तुम्लिङटारसम्म पु¥याउने उल्लेख छ। कम्पनीले यसलाई दूधकोसी, सुनकोसी हुँदै नेपालथोकसम्म नै विस्तार गर्ने लक्ष्य छ। यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने कम्पनीको भनाइ छ।
यो कम्पनीले आगामी वैशाखबाटै नारायणी नदीमा नारायणघाटबाट मनकामना मन्दिरसम्मको लागि सम्भावना औंल्याइसकेको छ। आगामी वर्ष कर्णाली नदीमा पनि जलयातायात सञ्चालन गर्न सकिने सम्भावना अध्ययन गरिसकिएकाले अनुमति माग गरेको कम्पनीले जानकारी दिएको छ।
हरेक प्रदेशमा अनुमति माग्दै जान असहज हुने भएकाले संघीय सरकारबाट अनुमति लिएपछि धेरैतर्फ दौडनु नपर्ने व्यवस्था गर्न माग गरेको अरुण वाटरवेजका कानुनी सल्लाहकार अमर थापाले बताए। थापाले भने, ‘कम्पनीले आफै धेरैवटा स्थानमा अध्ययन गरिरहेको छ। कोसी नदीकै हकमा पनि चतराबाट खुर्कोटसम्म जल यातायात चलाउन कम्तीमा २० स्थानमा अवरोध छ। यस्तो अवरोध हटाएर सरकारले जल यातायात सञ्चालन कार्यविधि तथा नियमनसहितका लागि ऐन बनाउनुपर्ने थापाको भनाइ छ।
यो कम्पनीले पहिलो वाटरबोट २०६२/६३ मा दोस्रो २०६५/६६ देखि सञ्चालन गरेको हो। वाटरबोट चलाउँदा देखिएको प्राविधिक समस्या समाधान गरेर यसको क्षमता विस्तार गर्दै जान थालेको पनि कम्पनीले जानकारी दिएको छ। यो कम्पनीले आगामी पुसमा नयाँ वोट ल्याउने भएको छ। यो बोट त्रिपल इन्जिनसहित करिब ४५ सिट क्षमताको हुनेछ।
वर्षात् समयको तीन महिनाबाहेक बाँकी समय निर्वाध सञ्चालन हुन सक्ने वाटरबोट असोजबाट सञ्चालनमा आउँदै छ। हाल दुईवटा वाटरबोटलाई मर्मत गरिरहेको वरुणले जानकारी दिएको छ। पानीको तह न्यूनतम दुई फिट आवश्यक भए वाटरबोट सञ्चालन हुन्छ। अरुण नदीमा पाँच फिट माथि नै पानीको तह भएकाले सञ्चालनमा कुनै समस्या छैन। नेपालमा हाल सप्तकोसी नामक अर्को एक कम्पनीले पनि एउटा बोट सञ्चालन गरिरहेको उल्लेख छ।
जल यातायातले अनुमति मागेको, बोट सञ्चालन गर्ने चालकलाई पनि इजाजत दिनुपर्ने, यो क्षेत्रलाई नै व्यवस्थित बनाउन आवश्यक ऐन नै बनाउनुपर्ने आश्यकता देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर ध्रुव श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार हाल नियमन, दर्ता शुल्क सञ्चालनको मोटाडिटी केही छैन्। नेपालमा भर्खरै चर्चामा आउन थालेको यो जलयातायातको अनुमति भने २०५४ मै जारी भइसकेको छ। नेपालमा पहिलोपटक जल यातायातको सञ्चालन अनुमति लिने कम्पनी नेपाल रिभर ट्रान्सपोर्ट भएको पनि मन्त्रालयले जानकारी दिएको छ।
सरकारले चालु वर्षमा आन्तरिक नदीमा जल यातायात सञ्चालन गर्न सम्भाव्यता अध्ययनकै लागि एक करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। यो रकम भौतिक मन्त्रालय अन्तर्गत परिचालन हुनेछ। मन्त्रालयले आवयक अध्ययन र जलयात्राको सहजीकरणका लागि रकम खर्चने जानकारी दिएको छ।
सरकारले जल तथा ऊर्जा आयोगमार्फत चालु आवमा भारतबाट आउने साना जहाजलाई नेपालमा ल्याउने विषयमा अध्ययन पनि अगाडि बढाएको छ। आयोगले तयार पारेको एक प्राविधिक टोली आगामी असोज ३१ देखि कात्तिक ४ गतेसम्म भारतको इन्ल्यान्ड वाटरवेजको अध्यनका लागि जाने भएको छ। टोलीले दिएको सुझावका आधारमा इल्यान्ड वाटरवेज अगाडि बढ्ने पनि उल्लेख छ। इन्फो
कम्पनीले असोज दोस्रो साताबाट सञ्चालन तयारी गरिरहेका दुईवटा र पुसमा थप हुने अर्को एक वाटर बोटका लागि सञ्चालन अनुमति मागेको हो।