सडक निर्माण अन्योलमा
इलाम : सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका जोड्ने १९ किलोमिटर सडक निर्माण अन्योलमा परेको छ। सूर्योदय नगरपालिकाले ठेकेदार कम्पनीलाई काम रोक्न भनेपछि सडक निर्माण अन्योलमा परेको हो।
उन्नति समावेशी वृद्धि कार्यक्रमको १४ करोड ४६ लाख लागतमा १६ महिनामा काम सक्ने गरी दुई वर्षअघि नागार्जुन कन्स्ट्रक्सनले सडक ठेक्का लिएको थियो। ठेक्का अवधि सकिँदा पनि ठेकेदारले ५५ प्रतिशत मात्र काम गरेको जनाइएको छ। त्यसपछि सडक निर्माणमा सहजीकरण गर्न नगरपालिकाले बनाएको समितिका संयोजक होम कार्कीले कम्पनीका प्रतिनिधि सन्तोष कटुवाललाई काम रोक्न भनेको जनाइएको छ।
ठेकेदार कम्पनीका प्रतिनिधि कटुवालले सडक ग्राभेललगायत काम भइरहेको अवस्थामा नगरपालिकाले काम रोक्न आग्रह गरेको जानकारी दिए। ठेक्काको म्याद सकिएको र वर्षामा काम राम्रो नहुने भएकाले रोक्न अनुरोध गरिएको संयोजक कार्कीको भनाइ छ। उनले स्थानीय सरकारको आग्रह बेवास्ता नगर्न ठेकेदार कम्पनीलाई चेतावनी दिएका छन्। कम्पनीले १४ किलोमिटर नाली निर्माण गरेको जनाइएको छ। अहिलेसम्ममा आठ किलोमिटर ग्रागल (सब-बेस)को काम अन्तिम चरणमा पुगेको कटुवालले बताए। भने, ‘आठ किलोमिटर सडकको सम्पूर्ण काम अवरोध नआए एक सातामा सम्पन्न हुन्छ।’
नगरपालिकाले सम्झौताको समय सकिएकाले काम रोक्न आग्रह गरे पनि ठेकेदार कम्पनीले उन्नतिले काम बन्द गर नभनेसम्म काम नरोक्ने जनाएको छ। ‘हामीले उन्नतिसँग सम्झौता गरेको हो’, कटुवालले भने, ‘उन्नतिले काम नगर नभनेसम्म काम जारी राख्ने तयारीमा छौं।’
माईजोगमाई गाउँपालिका र सूर्योदय गाउँपालिकाले कामलाई सहज र गुणस्तरीय बनाउने भन्दै कार्कीको संयोजकत्वमा समिति बनाएका थिए। काम भइरहेको अवस्थामा काम रोक्न आदेश दिनु गलत अभ्यास भएको स्थानीयको भनाइ छ।
ट्र्याक खनिएको ६५ वर्षपछि स्तरोन्नति सुरु भएको फिक्कल-नयाँबजार सडक अलपत्र परेपछि उत्तरपूर्वी इलामका बासिन्दा वर्षायाममा सास्ती खेप्न बाध्य छन्। गत जेठदेखि यातायात सञ्चालन हुन छाडेपछि यस क्षेत्रका बासिन्दाले समस्या खेप्नुपरेको हो।
सडक निर्माणमा ढिलाइपछि स्थानीय ३० हजार जनसंख्या ६ दशकदेखि समस्या भोग्दै आएका छन्। २०१० सालमा तत्कालीन बडाहाकिम सन्तवीर लामाको नेतृत्वमा खनिएको सडक स्तरोन्नति गर्ने काम अलपत्र परेपछि माईजोगमाई गाउँपालिकाले चालू आर्थिक वर्षदेखि नै कालोपत्रे गर्ने योजना अघि सारेको छ। गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले कालोपत्रेका लागि प्रदेश सरकारमार्फत २ करोड रुपैयाँ विनियोजन भएको र केन्द्रीय सरकारलाई ४० करोडको सिलिङ पेस गरीएको जानकारी दिए। ‘केन्द्र र प्रदेश सरकारसँग हारगुहार गरेर भए पनि सडक कालोपत्रेको काम चाँडै थाल्छौं’, अध्यक्ष राईले भने। गाउँपालिका केन्द्र पुग्ने सडक राम्रो नभएसम्म केही नहुने भएकाले प्राथमिकतामा राखिएको उनको भनाइ छ।