श्रमशिविरमा कर्णालीका मन्त्री
सुर्खेत : कर्णालीमा प्रदेश सरकारले श्रमशिविर सञ्चालन गरेको छ । श्रमशिविरमा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले श्रम गर्न थालेका छन् । श्रमप्रतिको सम्मान बढाउन र नागरिकलाई श्रम गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले श्रमशिविर सुरु गरिएको हो ।
मन्त्रीहरू हरेक महिनाको दुई दिन आफैं श्रमशिविरमा पुगेर काम गर्न थालेका हुन् । श्रमशिविरअन्तर्गत विकास आयोजना, भौत्तिक निर्माणका काम र सार्वजनिक सरोकारका कार्यमा मन्त्रीहरूले श्रम गर्न थालेका हुन् । मुख्यमन्त्री र मन्त्रीहरू नै श्रममा सहभागी भएपछि सर्वसाधारणले पनि अभियानमा साथ दिन थालेका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिवसका रूपमा मनाउने निर्णय गरेको छ । यही निर्णयअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा शुक्रबार मन्त्रीहरूले वीरेन्द्रनगरस्थित खोर्के खोलामा पुगेर चार वर्षअघि बाढीले क्षति पु¥याएको भौत्तिक संरचनाको पुननिर्माणमा श्रम गरेका हुन् ।
बिहानै श्रमशिविरमा पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बाढीले बगाएको स्थानीय सरस्वती बालविकास केन्द्रको भवन पुनर्निर्माण सुरु गरे । बाढीले कटान गरेको स्थानमा तटबन्ध निर्माणका लागि समेत मन्त्रीहरूले ढुंगा बोक्ने तथा जाली भर्ने काम गरेका छन् । करिब तीन घण्टासम्म मन्त्रीहरूले पसिना बगाउँदै ढुंगा बोकेका थिए । श्रमशिविरमा सेना र प्रहरीको पनि सहभागिता थियो । मुख्यमन्त्री र मन्त्रीहरूले नै खोलामा पुगेर ढुंगा बोकेको र निर्माण गरेको देखेपछि आश्चर्यमा परेका स्थानीय बासिन्दाले पनि काममा सहभागी भएका थिए ।
‘ श्रम गर्ने संस्कृति हराउँदै गयो, सुकिला लुगा लगाउनेले ढुंगामाटो छुनै हुन्न भन्ने सोच हाबी भयो’, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘ श्रम नगर्दा नै हामी गरिब भयौं, मान्छे श्रम गर्न लाज मान्न थाले । यही लाज मान्ने संस्कृति तोड्न हामीले श्रमशिविर सञ्चालन गरेका हौं, अब महिनाको दुई दिन हामी अनिवार्य श्रम गर्नेछौं ।’ आफूहरू नै श्रममा उत्रिएपछि प्रदेशका सांसद, जनप्रतिनिधि र कर्मचारी पनि सहभागी हुने मुख्यमन्त्री शाहीको भनाइ छ । यसअघि मन्त्रीहरूले वीरेन्द्रनगरमा सरसफाइ गर्दै आएका थिए । मन्त्री विमला केसीले भनिन्, ‘वास्तविक श्रमशिविर त अब सुरु भयो, हामीले बल्ल भौतिक निर्माणमा पसिना बगाउन थालेका छौं । हाम्रो श्रमले देखिने गरी निर्माणको काम हुन थालेको छ, यसले पनि नागरिकमा विकास निर्माणमा श्रम गर्नुपर्छ भन्ने भावना पैदा हुनेछ ।’
प्रदेश सरकारले श्रमशिविरमा सहभागी हुन प्रदेशका सांसद, कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणलाई आग्रह गरेको छ । तर, कर्मचारीले नै प्रदेश सरकारलाई टेरेका छैनन् भने सांसदको सहभागिता पनि न्यून देखिएको छ । श्रमबाट मात्र प्रदेशलाई समृद्ध बनाउन सकिने भन्दै सामाजिक विकासमन्त्री दल रावलले श्रमशिविरका कारण जनसहभागिता बढेको बताए । उनले भने, ‘मन्त्री नै ढुंगा बोक्न आउँदा जनतामा सकारात्मक सन्देश गयो, हामीलाई देखेर जनता आफैं काममा सहभागी हुन थालेका छन् । यसले सबैलाई उत्प्रेरित गरेको छ, श्रम गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ ।’ प्रदेश सरकारले श्रम गर्ने संस्कृति विकास गर्न यो अभियानलाई निरन्तरता दिइने जनाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘भत्ताबिना कामै नगर्ने अवस्था छ, अहिले पनि कर्मचारी श्रममा आउन मानिरहेका छन् । अब भत्ता भएको ठाउँमा हामफाल्ने र सार्वजनिक हितमा श्रम गर्न नमान्ने प्रवृत्ति अत्य गरिन्छ ।’
चुनाव जितेर गएपछि बस्तीमा नफर्कने नेताका कारण निरास बनेकी गौमाया नेपालीले भनिन्, ‘बाढीले नोक्सान गरेको चार वर्ष बित्यो, हालसम्म कोही आएका थिएनन् । तर, आज त मन्त्रीहरू नै आँगनमा आएर ढुंगा बोकेर जाली लगाइदिए, बल्ल सरकार भएको अनुभूति भयो ।’ मन्त्रीहरू आफैंले आएर विकासको काम गरेको भन्दै उनले खुसी व्यक्त गरिन् । मन्त्रीको कामले आफूहरूमा पनि काम गर्ने उत्प्रेरणा मिलेको स्थानीय सञ्जय पुनले बताए । अब मन्त्री मात्र नभई सरकारका सबै कर्मचारीले यसरी विकासका काममा श्रम गर्नुपर्ने उनको भनाइ छ ।