पहिरोले पुरेका तीन मध्ये एक बालकको शव निकालियो
दाङ : सल्यानको बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा पहिरोले पुरिएका तीन बालबालिका मध्ये एकको शव निकालिएको छ । खोजतलासका क्रममा सोमबार बिहान बलराम डाँगीका छोरा ६ वर्षीय ललितको शव फेला परेको घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक रनत शर्माले जानकारी दिएका छन् । पहिरोमा पुरिएर हराइरहेका छोरी ८ वर्षीया ललिता र ४ वर्षीया मेनकाको खोजी भइरहेको सर्इ शर्माले बताए ।
घटना आइतबार साँझ ६ बजे घटेको भए पनि दुर्गम क्षेत्र भएकाले रातको १२ बजे मात्रै प्रहरी घटनास्थल पुगेको थियो । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले राति नै उद्धार गर्न नसकिएको र सोमबार बिहान पानी रोकिएपछि मात्रै खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साँझ ३ बालबालिका आगो तापेर घरभित्र बसिरहेका बेला घरमाथिबाट आएको माटोको ढिस्काले बनीहरु बसेको कोठा पुरेको थियो । घरका अन्य सदस्य घर बाहिरै भएकाले जोगिएका थिए ।