काठमाडौंमा मनाइयो गौरा पर्व
काठमाडौं : कर्णाली प्रदेश र प्रदेश ७ मा मनाइने विशेष पर्व गौरा टुँडिखेलमा धार्मिक एवं सांस्कृतिक कार्यक्रमसहित मनाइएको छ। गौरा पर्वको मुख्य दिन सोमबार अठवली अर्थात् अष्टमीका दिन गौराको विशेष पूजाआजा गरियो। काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका सुदूरपश्चिमेलीहरूले टुँडिखेलमा धुमधामसँग गौरा पर्व मनाउँदै आएका छन्। शिव र गौरा देवीको प्रेम तथा विवाहको सम्झनामा महिला पुरुष सबैले देउडा खेल्ने प्रचलन छ।
राजनीतिक रूपमा विभाजित भए पनि प्रदेश ७ का शीर्ष नेताका साथै अन्य नेताकार्यकर्ताले सँगै हात जोडेर देउडा खेल्दै सामाजिक एकता र सद्भावको सन्देश दिएका थिए। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपाका स्थायी समिति सदस्य भीम रावल, लेखराज भट्ट, कांग्रेस नेताहरू एनपी साउद, रमेश लेखक, राप्रपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायतले टुँडिखेलमा गौरा पर्व मनाएका थिए।
भदौ शुक्ल पञ्चमीमा सुरु हुने गौरा पर्वको पहिलो दिन महिलाले व्रत बसी घरघरमा केराउ, गहुँ, मास, गहत र गुरौस मि श्रण गरी (जसलाई बिरुडा भनिन्छ) तामाको भाँडामा भिजाएपछि गौरा पर्व सुरु हुन्छ। बिरुडा भिजाइने भएकाले सुदूरपश्चिममा भदौ शुक्ल पञ्चमीलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ।
भदौ शुक्ल पञ्चमीमा भिजाइएको बिरुडा भोलिपल्ट नजिकको धारा, तलाउ वा पोखरीमा लगेर पखाल्ने चलन छ। सप्तमीमा गौरा देवीलाई नजिकैको मठमन्दिरमा भिœयाएर पूजाअर्चना गरी विवाहित महिलाले दुवधागो (मन्त्रिएको धागो) चढाउने चलन छ। अठवली अर्थात् अष्टमीमा व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको धुमधामसँग पूजापाठ गर्ने चलन छ।
प्रदेश ७ का शीर्ष नेताका साथै अन्य नेताकार्यकर्ताले सँगै हात जोडेर देउडा खेल्दै सामाजिक एकता र सद्भावको सन्देश दिएका थिए।
सुदूरको मौलिक संस्कृति झल्किने गौरा डडेल्धुरा, दार्चुला, बैतडी, डोटी, बझाङ, अछाम, कैलाली, कञ्चनपुर र भारत उत्तराखण्डको कुमाउ, गढवालमासमेत धुमधामसँग मनाइन्छ। गौराका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका वरिष्ठ नेता चन्दलगायत नेताले शुभकामना व्यक्त गरेका थिए।
गौराले राष्ट्रिय एकता र दिगो शान्ति एवं आपसी सद्भाव बढाउने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन्। प्रधानमन्त्री ओलीले गौरा हाम्रो विशिष्ट पहिचान भएकाले यसले जातीय संस्कृति र विविधतालाई आपसी द्वन्द्वमा रूपान्तरण गर्ने सबै दुस्प्रयास परास्त गर्दै आएको बताए।
कांग्रेस सभापति देउवाले गौराको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले यस्ता चाडपर्वको महŒव सामान्य उत्सव मात्र नभएर त्यसले समुदाय र क्षेत्रको साझा ऐतिहासिक पहिचान र सामाजिक सम्बन्धको परिचय दिने बताए।