बाहिरी चक्रपथ निर्माणमा चिनियाँ सरकारी कम्पनीहरू इच्छुक
काठमाडौं : उपत्यकाको बाहिरी चक्रपथ बनाउन २४ वटाले चिनियाँ सरकारी कम्पनीले इच्छा देखाएका छन्। जग्गा एकीकरण गरेर निर्माण प्रक्रिया अगाडि बढाउने टुंगो नलाग्दै चीनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत इच्छुक सरकारी कम्पनीको सूची बुझाएको छ। यसैगरी चीनका निजी कम्पनी पनि चक्रपथ बनाउन निरन्तर सम्पर्कमा आइरहेका छन्। ७२ किलोमिटरको पूरै सडक बनाउन इच्छा व्यक्त गर्दै आवेदन हाल्ने सरकारी कम्पनी २४ वटा रहेको बाहिरी चक्रपथ विकास आयोजनाले जानकारी दिएको छ।
चीनले नेपाललाई बाहिरी चक्रपथ निर्माण गर्दा चिनियाँ सरकारी कम्पनीसँग सहकार्य आग्रह गर्दै ती कम्पनीको सूची उपलब्ध गराएको छ। चीनले बाहिरी चक्रपथ चिनियाँ सरकारी कम्पनीमार्फत नै बनाउन चाहेको पनि सुझाव सूचीमा उल्लेख छ।
उपत्यका विकास प्राधिकरणले अगाडि बढाइरहेको बाहिरी चक्रपथ निर्माणको फाइल अहिले सहरी विकास मन्त्रालयमा छ। मन्त्रालयले पूरै खण्ड एकैपटक अघि बढाउने प्रयास गरिरहेको सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले जानकारी दिए। उनले अन्नपूर्णसँग भने,‘ आवश्यकताअनुसार डीपीआर र रेखांकन परिवर्तन गर्न सक्ने गरी प्रस्ताव गर्न लागिएको छ।’
मन्त्री राईका अनुसार आयोजना बन्ने हल्ला भएपछि भूमाफियाले जग्गा टुक्रा गरेरको, कित्ताकाँट बढेको र जग्गा फिर्ता गर्दा सरकारले थपेर दिनुपर्ने हुँदा समस्या हुने भन्दै बाहिरी चक्रपथको रेखांकन नै परिवर्तन गर्नुपर्ने बताए छन्। आयोजना अगाडि बढाउन १४ वर्ष अगाडि नै घोषणा गरेको भए पनि अहिलेसम्म आवश्यक प्रक्रिया नै पूरा भएको छैन।
बाहिरी चक्रपथको ७२ किमिमध्ये पहिलोचरणमा चोभार–सतुंगल खण्डको जम्मा ६.६ किमि दूरीको प्रक्रिया अगाडि बढाइएको भए पनि गत वैशाखमा मन्त्रिपरिषद्को त्रुटिपूर्ण निर्णयका कारण यो आयोजना अगाडि बढ्न नसकेको उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए। उनका अनुसार उक्त निर्णयमा ‘जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जग्गा अधिग्रहण गर्ने’ भन्ने शब्द छुटेकाले यस वाक्यको भाषागत संरचनालाई मिलाएर पुनःनिर्णय गराउनुपर्ने भएको छ।
बाहिरी चक्रपथ बनाउन यस अघि चिनियाँ कम्पनी चाइना ह्युम्यानिटिज डिप्लोमेटिक प्रमोसन एसोसिएसन र चाइना न्युक्लियर इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन ग्रुप कर्पोरेसनको संयुक्त लगानीको कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्ने इच्छा औपचारिक रूपमै देखाएको थियो। यो कम्पनीले सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणमा बाहिरी चक्रपथ निर्माण गर्न विषयमा प्रस्तुतीकरणसहित आशयपत्र पेस गरेको आयोजनाले जानकारी दिएको छ।
आशपत्रमा कम्पनीले ७० प्रतिशत अनुदान र ३० प्रतिशत ऋणमा बाहिरी चक्रपथ निर्माण गर्ने उल्लेख छ। आशयपत्र पेस गर्ने, रुचि देखाएर आउने लिखित रूपमा अयोजना निर्माणको इच्छा देखाउनेदेखि विभिन्न आयोजनाबाट भेटका लागि आउने गरेका छन्। सरकारी कम्पनीबाहेक दर्जनौं निजी कम्पनीले पनि बाहिरी चक्रपथ बनाउने जिम्मा दिएर आर्थिक स्रोत खोज्ने उल्लेख गरेका छन्।
चीनले नेपाललाई बाहिरी चक्रपथ निर्माण गर्दा चिनियाँ सरकारी कम्पनीसँग सहकार्य आग्रह गर्दै ती कम्पनीको सूची उपलब्ध गराएको छ।
चिनियाँ कम्पनीले दिएको पछिल्लो प्रस्तुतीकरणमा प्रतिकिमि एक अर्ब रुपैयाँ खर्च हुने उल्लेख छ। चिनियाँ कम्पनीले स्रोतको जोहो गरेर ल्याउने र सहुलियत ऋणमा लगानी गर्न चाहेको तिवारीको भनाइ छ।
बाहिरी चक्रपथ निर्माणमा इच्छा देखाउने सरकारी कम्पनीमा पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, पावर चाइना इन्टरनेसनल, ग्रुप लिमिटेड, सिनो हाइड्रो कर्पोरेसनसहितको हाइड्रो चाइना कर्पोरेसन, चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसन लिमिटेड, चाइना इन्टरनेसनल वाटर इलेक्ट्रिक कर्प, छोङ्दीङ इन्टरनेसनल इन्जिनियरिङ, चाइना तिसीजु सिभिल इन्जिनियरिङ, हुवावे टेक्नोलोजी, जेटटीई कर्पोरेसन, तिब्बतियन इलेक्ट्रिक अपार्तुस कम्पनी, सांघाई कन्स्ट्रक्सन ग्रुप, दोङफङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन, चाइना रेल्वाट सीसीजु ग्रुप कर्पोरेसन, चाइना रेल्वे इन्टरनेसनल, चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी छन्।
यसैगरी बाहिरी चक्रपथ बनाउन रुचि राख्ने कम्पनीमा आइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी तथा नाइन्थ चाइना फस्र्ट हाइवे इन्जिनियरिङ, चाइना हुसी इन्टरप्राइजेज, चाइना रेल्वे कन्ट्रक्नस कर्पोरेसन, सान्दोङ तइकाई पावर इन्जिनियरिङ, चाइना साङदोङ फरेन इकोनोमिक एन्ड टेक्निकल कर्पोरेसन, चाइना रेल्वे ग्रुप लिमिटेड, चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्प, चाइना रेल्वे नं २ इन्जिनियरिङ कम्पनी, चाइना नेसनल ओभर्सिज इन्जिनियरिङ कर्पोरेसन, चाइना इलेक्ट्रिक पावर इक्विपमेन्ट एन्ड टेक्नोलोजी र चाइना नेसनल हेभी मेसिनरी कर्प रहेका छन्।
चक्रपथको औचित्य के ?
सहरी विकास मन्त्रालयले आयोजना अगाडि बढाउने निर्णय भएको १४ वर्षपछि अहिले आवश्यकताको पुष्ट्याइँ मागेको छ। मन्त्रालय स्रोतका अनुसार बाहिरी चक्रपथ अयोजनाको पृष्ठभूमि, बाहिरी चक्रपथको आवश्यकता, अयोजनाको विवरण, चक्रपथ र जग्गा एकीकरणसहितको अनुमानित लागत र नक्सासहितको विवरण मागेको पनि मन्त्रालय स्रोतले जानकारी दिएको छ।
बाहिरी चक्रपथको हालसम्म चारवटा खण्डको डीपीआर भइसकेको छ भने दुईवटा खण्डको बाँकी छ। डीपीआर तयारी भएको र आयोजना अगाडि बढाउन उपयुक्त खण्ड चोभार सतुंगल खण्डको ६ किमि रहेको पनि आयोजनाले जानकारी दिएको छ।
पहिलोखण्ड अन्तर्गतको यो परियोजनाका लागि करिब १४ हजार कित्ता जग्गा अधिग्रहण गर्नुपर्छ। जग्गा विकासको माध्यबाट बनाइयो यो अयोजनामा सरकारले ठूलो लगानी गर्नुपर्दैन। उपभोक्ताबाट जग्गा लिने र निश्चित प्रतिशत काटेर आयोजना विकास गर्ने र व्यवस्थित घडेरीका रूपमा स्थानीयलाई नै फिर्ता गरिने आयोजनाले जानकारी दिएको छ।