युद्ध निषेध : शान्ति विशेष
महाशक्ति राष्ट्रहरूभन्दा पनि तिनले पुलपुल्याएका पात्रहरू विश्व शान्तिका लागि बढी खतरनाक देखिएका छन्
भनिन्छ– संसारमा विगत १४ हजार वर्षमा १४ हजारभन्दा बढी साना–ठूला युद्ध भएका छन्। युद्धका कैयन् कारण हुन्छन्। जस्तो– राज्य/भूभाग विस्तार, स्रोत, साधन र भूमि कब्जा गर्न, स्वार्थको टकराव, बदला भाव, धर्म, गृहयुद्धका कारण वा राष्ट्रवादका आडमा युद्ध हुने गर्छ। तथापि युद्धको मूल कारण भने शासकहरूको अहंकार र उन्माद नै हो। सन् १९३९ मा प्रारम्भ भएको दोस्रो विश्वयुद्धमा त्यो बेलाको जनसंख्याको झन्डै तीन प्रतिशत अर्थात् ६ करोडभन्दा बढी मान्छे मारिएका थिए। दोस्रो विश्वयुद्धको समाप्तिलगत्तै भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउने दृढतासहित संयुक्त राष्ट्रसंघको स्थापना भएपश्चात् अहिलेसम्म घोषितरूपमा तेस्रो विश्वयुद्ध भएको छैन। यो नै राष्ट्रसंघको सफलता हो तथापि सशस्त्र द्वन्द्वमा धेरै मानिस मारिएका छन्, जुन असफलता हो।
राष्ट्रसंघ सुरक्षा परिषद्मा पाँच स्थायी सदस्य राष्ट्र छन्। त्यसमध्ये अमेरिकाको स्वभाव त्यो जब्बर सिंहको जस्तो छ, जो आफू बलियो भए पनि समूहमै सिकार गर्न रुचाउँछ। नाटो भनेको त्यस्तै सिकारी समूहको झुन्ड हो। रूसको अवस्था त्यो भोको बाघको जस्तो छ, जसले आहाराका लागि जोसुकै माथि पनि आक्रमण गर्न सक्छ चाहे त्यो छिमेकी नै किन नहोस्। चीनको रफ्तार र स्वभाव त्यो आक्रामक चितुवाको जस्तो छ, जसले जोसुकैलाई जहाँबाट पनि झम्टिन सक्छ। ब्रिटेन र फ्रान्सको अवस्था इतिहासको भारीले किचिएको बूढो भालुको जस्तो छ, जसलाई आफ्नो संवेदनशील नाक जोगाउन र भारी भरकम पेट भर्न धौधौ परेको छ। यी पाँचवटा देश संहारकारी आणविक अस्त्र भण्डारण गरेर बसेका छन्।
यस्तै संहारकारी अस्त्र बनाएका कारण यी राष्ट्रहरू राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य हुनुका साथै भिटो नामक अर्को प्रतिरोधी अस्त्रले समेत लेस छन्। राष्ट्रसंघमा इजरायलको ज्यादती, अमेरिका, सिरियामा असदको ज्यादतीबारे आवाज उठ्यो भने रूस र उत्तर कोरियाको ज्यादतीबारे आवाज उठ्यो भने चीन भिटो प्रयोग गर्न तम्सिहाल्छन्। आणविक अस्त्रको विकास र परीक्षण गर्दै भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायल पनि आणविक क्लबमा सामेल भइसकेका छन्।
युरेनियमको एउटा टुक्राले हजारौं किलोवाट बिजुली उत्पादन हुन सक्छ, जसले जगत्लाई झिलिमिली पार्छ। त्यही युरेनियम २३५ लाई प्रशोधन गरेर प्लुटोनियम २३९ मा परिणत गरेपछि त्यो आणविक अस्त्रका लागि मूल सामग्री बन्छ, जुन आणविक अस्त्रले क्षणभरमा जगत्लाई दग्घ र ध्वस्त पार्न सक्छ। सन् १९४५ को अगस्त ६ मा अमेरिकाले जापानको हिरोसिमामा खसालेको एटमबम झन्डै १५ किलो टन टीएनटी क्षमताको थियो। हिरोसिमा विस्फोटनपछि १२ वर्ग किलोमिटर क्षेत्रफल ध्वस्त भयो, हजारौं मान्छे क्षणभरमा मारिए, हजारौं घाइते भए। विस्फोटनपछिको विकिरणका कारण भएको क्षति र मृत्युको संख्या झनै भयावह छ। अमेरिका र रूसले कालान्तरमा विकास गरेको हाइड्रोजन बमको क्षमता त्योभन्दा हजारौं गुणा बढी छ। हाइड्रोजन आइसोटप्स्को फिज्जनबाट विस्फोट हुने हुँदा यसलाई हाइड्रोजन बम भनिन्छ।
सन् १९६१ मा तत्कालीन सोभियत संघले परीक्षण गरेको हाइड्रोजन बम ५० मेगाटन बराबरको थियो (एक मेगाटन बराबर १० लाख टन हुन्छ)। अर्थात् हिरोसिमामा विस्फोटन भएको एटमबमभन्दा ३३ सय गुणा र दोस्रो विश्वयुद्धमा प्रयोग भएका सबै परम्परागत विस्फोटनभन्दा १० गुणा शक्तिशाली। त्यस्ता केही हाइड्रोजन बम विस्फोट हुन गयो भने यो प्यारो धरतीमा मानव सभ्यता विलुप्त हुन सक्छ।
महाशक्ति राष्ट्रहरूभन्दा पनि तिनले पुलपुल्याएका पात्रहरू विश्व शान्तिका लागि खतरनाक देखिएका छन्। मध्यपूर्वमा अमेरिकाको आडमा इजरायलको भूमिका आक्रामक छ, पूर्वीएसियामा चीनको आडमा उत्तर कोरिया आक्रामक हुँदै गइरहेको छ। आफूले भनेजस्तो नभए अमेरिकी सत्तालाई पनि हल्लाउन सक्ने घुर्की लगाएर इजरायल र हरेक सनकमा घुमाइफिराइ चीनले साथ दिन्छ भन्ने अति विश्वास उत्तर कोरियाली सत्ताले पालेको देखिन्छ। पूर्वीएसियामा जापान र दक्षिण कोरियासमेतको अमेरिकी धुरी र उत्तर कोरियासमेतको चिनियाँ धुरीबीच टकरावलाई रोक्न चीनले उत्तर कोरियाको सनकमाथि लगाम लगाउन सक्नुपर्छ। यसैगरी इजरायलको लडाकु चरित्रलाई सहिष्णु चरित्रमा रूपान्तरण गर्न अमेरिकाले बेला छँदै प्रयास नगर्ने हो भने मध्यपूर्वका अनेकांै देश कुनै पनि बेला भड्किने र त्यही तनावको कारण युद्धको अर्को विभीषिकाबाट सभ्यता प्रताडित हुन सक्ने सम्भावना पनि त्यत्तिकै छ।
नेपाललाई स्थायी द्वन्द्वभूमिमा रूपान्तरण गर्न कतिपय पात्र र प्रवृत्ति षड्यन्त्ररत रहेको अवस्थामा नेपाल आफैं कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्नु हुँदैन।
हाल सिरियामा जारी द्वन्द्वका कारण राजनीतिक भए पनि धार्मिक र सामरिक स्वार्थले द्वन्द्व नराम्रोसँग गहिरिएको छ। सुन्नी अरब र पर्सियन सियाबीचको लामो द्वन्द्व सिरियामा प्रतिबिम्बित भएको देखिन्छ। मुस्लिम सम्प्रदाय मूलतः सिया र सुन्नीका रूपमा दुई प्रमुख धारामा विभाजित छ। दुईबीचको शत्रुता गहिरो छ। यद्यपि अन्य ससाना धारा पनि नभएका होइनन्। विश्वमा कुल मुस्लिम धर्मावलम्बीहरूमध्ये ८५ देखि ९० प्रतिशत सुन्नी र झन्डै १० प्रतिशतको हाराहारीमा सिया रहेका छन्।
सुन्नीबहुल सिरियामा (७५ प्रतिशत सुन्नी) गैरसुन्नी राष्ट्रपति छन्, जसलाई क्षेत्रीय शक्ति इरानको साथ र सहयोग छ, इरानको जनसंख्यामध्ये ९० प्रतिशत सियाहरू छन्। स्पष्ट छ– महाशक्ति रूसले बसर अल असद नेतृत्वको सिरिया सत्तालाई समर्थन र संरक्षण गर्दै आएको छ। अर्कोतिर सिरिया डेमोक्रेटिक फोर्सका नाममा संगठित सिरियाको विद्रोही समूहलाई सुन्नीबहुल साउदी अरबले समर्थन गरेको छ भने अमेरिका र सहयोगीहरू त्यसको पछाडि छन्। सिरियामा जरा अर्थात् जमिनमा सिरियाको सत्ता र विद्रोही लडिरहेका छन्। इरान र साउदी अरेबिया हाँगामा बसेर युद्धलाई हम्किरहेका छन् र टुप्पामा बसेर रूस र अमेरिका बमबारी गरिरहेको देखिन्छ।
सन् २००३ मा अमेरिकी नेतृत्वको गठबन्धनले इराकमाथि अतिक्रमण गर्यो। युद्धलाई उचित र आवश्यक सावित गर्न इराकले आमसंहारको हतियार थुपारेको तर्क अमेरिका र आबद्ध मुलुकले अघि सारे। त्यसबेला इराकमा सद्दाम हुसेनको क्रूर शासन थियो। सन् १९९० मा इराकले कुबेतमा आक्रमण गरेपछि यसै पनि इराक बद्नाम हुनुका साथै एक्लिएको थियो। एकातिर आम संहारकारी हतियारको हौवा अर्कोतिर तानाशाह सद्दामको बर्बरता र अलोकप्रियताका कारण कतिपयले युद्धलाई उचित ठहर गर्दै समर्थन गर्न पुगे। नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले हतारहतार अमेरिकी आक्रमणको समर्थन गरे। अमेरिकी सरकारले आफ्नो वेबसाइटमा देउवाको त्यो भक्तिभावलाई ठाउँ पनि दियो तर सद्दामको पतनपछि पनि आम संहारकारी हतियार भण्डारण गरेको भने पुष्टि हुन सकेन।
भारत पाकिस्तान विभाजन मूलतः धर्मकै आधारमा भएको थियो। स्वतन्त्रतापश्चात्को ७१ वर्षमा दुवै देशबीच चारपटक खुला युद्ध भइसकेको छ। एकातिर ती देशहरूमा करोडौं जनता गरिबीको रेखामुनि छन्। कोही बाढी कोही सुक्खा पीडित छन्, कोही भोकानांगा र कोही दंगापीडित छन्। तर भारत र पाकिस्तानको सत्ता आणविक अस्त्रको विकास र विस्तारमा लिप्त छन्, जसका कारण दक्षिण एसियाको शान्ति खल्बलिएको छ तथापि क्षेत्रीय सहयोगका नाममा सार्क नामको एउटा बुख्याचा मञ्च छ। दक्षिण एसियालाई युद्धरहित क्षेत्र बनाऊ भन्नसमेत नसक्नुले यो मञ्चको निरिहता र कमजोरी प्रस्टिन्छ।
दक्षिण एसिया, मध्यपूर्व र पूर्वीएसियामा विद्यमान तनाव र द्वन्द्व र गत वर्ष चीन र भारतबीच डोक्लाममा भएको आमनेसामनेले कतै एसियाबाटै तेस्रो विश्वयुद्धको सुरुवात हुने त होइन भन्ने आशंका र त्रास उत्पन्न भएको छ। महाशक्ति/आणविक क्लबका सदस्य राष्ट्रहरू जुध्ने कुनै पनि युद्ध अब संसारले थेग्न सक्दैन। तसर्थ युद्ध निषेध ः शान्ति विशेष नै सबैको प्राथमिकता हुनुपर्छ। नेपालजस्तो राष्ट्रले यो नीतिका पक्षमा आवाज बुलन्द गर्न सक्थ्यो, तर अहिले नेपाल आफैं बिमस्टेकको सैन्य अभ्यासमा फस्न पुगेको छ। नेपाललाई स्थायी द्वन्द्वभूमिमा रूपान्तरण गर्न कतिपय पात्र र प्रवृत्ति षड्यन्त्ररत रहेको अवस्थामा नेपाल आफंै कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्नु हुँदैन।
युद्ध भयो भने एउटा व्यक्तिको होइन, हजारौं/लाखौंको जीवन समाप्त हुन्छ। तसर्थ लाखौं मानिसहरूको जीवनरक्षाका लागि पनि युद्ध निषेध हुन आवश्यक छ। युद्धमा पनि आणविक युद्ध भयो भने करोडौंको जीवन क्षणभरमा समाप्त हुन्छ। युद्ध अर्थात् आणविक युद्ध भयो भने संसार चिहानमा परिणत हुन सक्छ। आणविक अस्त्र आफैं पड्किँदैन, त्यसलाई मान्छेले नै पड्काउँछ। अहिले राष्ट्रसंघ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रसँग हाइड्रोजन बम र अन्य चारसँग एटम बम छ जबकि उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको दावा गर्दै आएको छ। आणविक क्लबका कतिपय सदस्य देशहरूमा उन्मादको लहर सुरु भएको छ र उन्मादी नेतृत्व स्थापित हुँदै गएको छ।
कुनै बेला उन्मादीहरूको काँध चढेर हिटलरको अभ्युदय भएको थियो। हिटलरले आत्महत्या गरेको भनिएको पनि ७३ वर्ष बित्यो। तर हिलटरको प्रेतले विचरण गर्न अहिले पनि छोडेको छैन। हिटलर वचन कहिले ट्रम्प, कहिले पुटिन त कहिले सीको मुखारविन्दबाट टप्किन्छ। हिटलरको प्रेत कहिले उत्तर कोरियाका किम जोङ उन त कहिले इजरायलका बेन्जामिन नेतान्याहुको शरीरभित्र पस्छ। हिटलरको प्रेत कहिले विन लादेन त कहिले बग्दादीको रूपमा प्रकट हुन्छ। नाजीहरू दुलो पसेको ७३ वर्ष भयो तर अलकायदा, तालिवान, आईएस र बोकोहरामको रूपमा नाजीका ख्याकहरूले आंतक मच्चाउन छोडेका छैनन्।
आणविक क्लबका सदस्यहरूसँग कुल १५ हजारको हाराहारीमा आणविक हतियार रहेको बताइन्छ। त्यसमध्ये रूससँग झन्डै सात हजार, अमेरिकासँग ६ हजार आठ सय संख्यामा आणविक अस्त्रको भण्डारण छ। सैन्य शक्तिमा अग्रपंक्तिमा रहे पनि आर्थिक दृष्टिले रूस पछाडि छ। रूसका उन्मादीहरूले तिनै अस्त्र बेचेर अर्थतन्त्र बलियो बनाउनुपर्ने तर्क नगरून्। अमेरिकाका उन्मादीहरूले विश्वकै लगाम आफ्नो हातमा हुनुपर्ने भन्दै अन्तरिक्षको सैनिकीकरण नगरून्। चीनका उन्मादीहरूले एक दर्जन बढी छिमेकीहरूका मनमा शंका बढाउने काम नगरून्। भारत र पाकिस्तानका उन्मादीहरूले इतिहासबाट पाठ सिकून्। समग्रमा सबैले युद्धलाई निषेध गर्दै शान्तिका लागि विशेष पहल गरून्।