पर्यटन प्रवर्द्धन गर्न कैलालीमा डल्फिन उत्सव
टीकापुर : डल्फिनको माध्यमले प्रदेशको पर्यटन प्रवद्र्धन गर्न कैलालीको ढुंगाना टोलमा डल्फिन उत्सव आयोजना गरिएको छ। जिल्ला समन्वय समिति कैलालीको संयोजन तथा टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको आयोजनामा एकदिने डल्फिन उत्सव गरिएको छ।
उत्सवको संघीय सरकारका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले डल्फिन क्षेत्र विश्वकै लागि आकर्षणको विषय बन्न सक्ने बताए।
'विश्वमै दुर्लभ मानिने डल्फिन कैलालीका नदीमा पाइनु राष्ट्रकै लागि चासोको विषय बनेको छ', मन्त्री अधिकारीले भने, 'यसको संरक्षणका लागि पहल गर्नेछु।'
मन्त्री अधिकारीले ७ नं. प्रदेशका पर्यटकीय क्षेत्रको विकासका लागि बृहत् योजना बनाएर काम गर्ने आश्वासन दिए। उनले भने, '७ नं. प्रदेशका पर्यटकीय क्षेत्र खप्तड, रामारोशन, बडीमालिका, डल्फिन क्षेत्रलगायत पर्यटकीय योजना बनाएर प्रवद्र्धन गर्न सरकार लागि परेको छ।'
यहाँको पर्यटकीय विकासका लागि हवाई सेवा सहज रूपमा सञ्चालनको प्रयाससमेत भइरहेको मन्त्री अधिकारीको भनाइ थियो। कैलाली भ्रमण वर्ष २०७५ मनाइरहेको जिल्ला समन्वय समिति कैलालीले डल्फिनको प्रवद्र्धन र डल्फिन क्षेत्रको अवलोकन गर्न कार्यक्रम आयोजना गरेको जनाएको छ।
'कैलाली भ्रमण वर्षकै रूपमा डल्फिन उत्सव आयोजना गरिएको हो', जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले भने, 'कैलालीमा पर्यटक भिœयाउन यो महŒवपूर्ण कार्यक्रम हुनेछ।'
बच्चा पाउन नेपाल आउँछन डल्फिन
वर्षायाममा नदीमा पानीको सतह बढ्दै गएपछि भारतको घाँघरा नदीबाट सुरक्षित बासस्थानको खोजीमा डल्फिन नेपालका नदीहरूमा आउँछन्। पानीको सतह घट्दै जाँदा फेरि घाँघरा नदीमै फर्किने डल्फिन विशेषतः असार, साउन, भदौ, असोज महिनामा कैलालीको मोहना, पथरैया र काँडा नदीमा देखा पर्छन्।
डल्फिन संरक्षण उपकेन्द्र टीकापुर नगरपालिका- ७ ढुंगाना टोलका अध्यक्ष भोजराज ढुंगानाले डल्फिन क्षेत्रमा दिनप्रतिदिन पर्यटक आउने गरेको बताए। नेपालको एकमात्र स्थानमा पाइने, सजिलै नजिकैबाट डल्फिन देख्न सकिने हुँदा पनि पर्यटकका लागि डल्फिन आकर्षणको केन्द्र बनेको हो।
'चार महिनासम्म नदीछेउमा बसेर मज्जाले डल्फिन हेर्न पाइने भएकाले पनि पर्यटकहरूले चासो दिइरहनु भएको छ', अध्यक्ष ढुंगानाले भने। 'केही वर्ष पहिलेसम्म केही विदेशी पर्यटक आउने गरेको भए पनि पछिल्लो समय आन्तरिक पर्यटकसमेत थुप्रै आइरहनु भएको छ।'
भारतीय सीमा भएर बग्ने मोहना र पथरैया नदीको दोभान, काँडा र पथरैया नदीको दोभान तथा पथरैया र गैरीनालाको दोभानमा डल्फिनहरू सजिलै देख्न सकिन्छ। संरक्षणकर्मी विजयराज श्रेष्ठका अनुसार डल्फिन बच्चा हुर्काउने सयममा ती नदीहरूमा देखा पर्ने गर्छन्।
बच्चा डल्फिनहरू बढी देखिने गरेको उल्लेख गर्दै श्रेष्ठले भने, 'डल्फिन यहाँ आउँदा बच्चा धेरै हुने र जाँदा वयस्क भएर जाने गरेको हामीले पाएका छौं।' स्वच्छ पानी, कम गहिरो नदी, र पर्याप्त खेल्ने वातावरण भएको हुँदा डल्फिन बच्चा पाउन र हुर्काउन यहाँ आउने गरेको श्रेष्ठले बताए। ती नदीमा सामूहिक रूपमा डल्फिनहरू देख्न सकिन्छ।
विश्वबाटै दुलर्भ मानिएको डल्फिन संरक्षणका लागि २०५७ सालदेखि स्थानीयहरू जुट्दै आएका छन्। स्थानीय भोजराज श्रेष्ठ 'गुलेली बाजे'ले डल्फिनका बारेमा स्थानीयलाई सचेत गराउन सुरु गरे। भारतीय नागरिकले जाल हानेर मार्दै आएका डल्फिनबारे गुलेली बाजेलाई एकजना अमेरिकी नागरिकले सुनाएपछि उनी संरक्षणका लागि कस्सिएका हुन्।
अहिले स्थानीयकै पहलमा विभिन्न १४ स्थानमा डल्फिन संरक्षण उपकेन्द्र स्थापना भएका छन्। समुदायमा तीनवटा इको क्लब र नौवटा डल्फिन क्लब गठन गरिएका छन्। डल्फिन संरक्षणमा प्रत्यक्ष अप्रत्यक्ष गरी करिब ६० हजार स्थानीय सक्रिय रहेको ढुंगानाटोलका संरक्षणकर्मी भोजराज ढुंगाना बताउँछन्।