एकै भवनमा बैंक र गाउँपालिका कार्यालय
वैकुण्ठे (भोजपुर) : संघीयता आएसँगै निजी स्तरका बंकहरू गाउँ पस्ने लहरै चलेको छ । सरकारले पनि बैंकलाई गाउँ पस्न प्रेरित गर्दैै आएको छ । तर त्यसरी गाउँ भित्रिएका बैंकले भने पूर्वाधार विकास गर्न सकेका छैनन् । यस्तै एक उदाहरण छ, रामप्रसाद गाउँपालिकामा ।
निजी भवनको अभावमा चार महिनादेखि रामप्रसाद राई गाउँपालिका कार्यालय र एनआईसी एसियाको शाखा एउटै भवनमा सञ्चालन हुँदै आएका छन् । एकै ठाउँमा स्थानीय सरकार र बैंकको सुविधा पाएपछि गाउँपालिकाका वैकुण्ठे, मानेभञ्ज्याङ, धोदलेखानी, बासीखोरा, हतुवागढी गाउँपालिकाका वासिङथर्पु, यूँका सेवाग्राहीलाई सहज त भएको छ । तर गाउँपालिकाले भने एउटै घरमा रहेको बैंकबाट कारोबार गर्न पाएको छैन ।
नेपाल राष्ट्र बैंकको सिफारिस नभएकाले गाउँपालिकाको कारोबार सुरु हुन नसकेको हो । गाउँपालिकाले बैंकिङ कारोबार गर्दा पहिले वाणिज्य बैंक भोजपुर शाखाबाट महालेखा र महालेखाले नेपाल राष्ट्र बैंकलाई सिफारिस पठाएपछि बैंकले पूर्णतः सिफारिस अनुमति दिएपछि मात्र गाउँपालिकाको कारोबार सुरु हुने शाखा म्यानेजर सुजन राईले बताए । ‘शाखा भर्खरै स्थापना भएकाले गाउँपालिकासँग कारोबार ठप्प छ’, उनले भने, ‘नेपाल राष्ट्र बैंकसँग सिफारिसका लागि प्रक्रिया सुरु भएको छ र बैंकले सिफारिस अनुमति दिनासाथ कारोबार पनि सुरु गर्नेछौं ।’
साँघुरो भए पनि भवन अभावले तत्काललाई काम चलाइरहेको गाउँपालिका उपप्रमुख सम्झना राईले सुनाइन् । ‘भर्खरै बैंकको शाखा विस्तार भएकाले तत्कालका लागि यहीँ समायोजन गरेका छौं’, उनले भनिन्, ‘पछि गाउँपालिकाको भवन बनेपछि सहज हुनेछ ।’