डोल्पामा अत्याधुनिक चौकी बन्ने
दुनै : हिमाली जिल्ला डोल्पामा अत्याधुनिक प्रहरी चौकी निर्माण हुने भएको छ। समुद्री सतहबाट ४२ सय मिटर उचाइमा रहेको धो उपत्यकामा पहिलो पटक अत्याधुनिक प्रहरी चौकी निर्माण हुने भएको हो।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यही वर्षभित्र २ करोड लागतमा अत्याधुनिक प्रहरी चौकी निर्माण गरिने कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए। भवन निर्माणका लागि स्थलगत अध्ययन गर्न धो पुगेका मन्त्री भण्डारीले १० करोड लागे पनि प्रहरीका लागि अत्याधुनिक भवन बनाइछाड्ने बताए।
पर्यटकीय र त्रिदेशीय व्यापारिक केन्द्रका रूपमा धोलाई विकास गर्न कर्णाली प्रदेशले कुनै कसर बाँकी नराख्ने मन्त्री भण्डारीले बताए। माथिल्लो डोल्पामा सुरक्षाका लागि कुनै पनि चौकी स्थायी रूपमा नभएकाले अब तिब्बतका प्रहरीको जस्तै अत्याधुनिक भवन र विशेष व्यवस्थासहित बाह्रै महिना माथिल्लो डोल्पामा प्रहरी बस्न सक्ने अत्याधुनिक भवन निर्माण गर्ने मन्त्रीले प्रतिबद्धता गरे।
माथिल्लो डोल्पामा वर्षको ६ महिना मात्र प्रहरी ३ वटा स्थानमा भाडा घरमा बस्ने गरेको छ।जिल्लाको सबैभन्दा ठूलो बजारका रूपमा रहेको सदरमुकाम दुनैमा बजारको सबै क्षेत्रमा सीसीक्यामेरा राखिने भएको छ। सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरीको निगारानीमा दुनै बजारमा सीसी क्यामेरा राखिने भएको हो।
पहिलो पटक जिल्लाको सदरमुकाममा राखिने र विस्तारै अध्ययन गरेर जिल्लाका अन्य साना बजारमा पनि सीसीक्यामेरा राखिने मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै, डोल्पाका २ वटा विद्यालय डिजिटल बनाइने भएको छ। जगदुल्ला गाउँपालिकाको त्रिपूरा माध्यमिक विद्यालय र ठूलीभेरी नगरपालिकाको सरस्वती माध्यमिक विद्यालय डिजिटल बन्ने भएका हुन्।