टेलिफोन सेवा बन्द
कालिकोट : विद्युत् सेवा अवरुद्ध भएसँगै कालिकोटमा दूरसञ्चार सेवा पनि बन्द भएको छ । सदरमुकाम मान्मदेखि करिब १३ कोस पश्चिममा रहेको सान्नीगाड पोतमारा साना जलविद्युत् आयोजना बन्द भएको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै कालिकोटको दूरसञ्चार सेवा पनि बन्द भएको हो । पावर अभावकै कारण इकाइ तथा नमस्ते मोबाइल सेवा बन्द रहेको दूरसञ्चार कार्यालय कालिकोटले जनाएको छ । पावर अभावका कारण सबै सेवा प्रवाह गर्न नसकिएपछि ल्यान्डलाइन सेवा मात्र सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । सान्नीगाड विद्युतगृहको पावरहाउसमा समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको हो ।
विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल सेवा बन्द गर्नुपरेको दूरसञ्चार कार्यालय कालिकोट प्रमुख प्रेम विष्टले जानकारी दिए । उनले कार्यालयमा रहेको जेनेरेटर पनि बिग्रिएको बताए । उनले भने, भर्ताको स्काई टावरले केही ठाँउमा काम गरिरहेको छ । जिल्लामा रहेको टावरले ल्यान्डलाइन सेवा मात्र सञ्चालनमा छ । उनले जेनेरेटर बनाउन दूरसञ्चार कार्यालय सुर्खेतबाट प्राविधिक बोलाइएको जानकारी दिए । दूरसञ्चार कार्यालय कालिकोटका प्रमुख विष्टका अनुसार कार्यालयमा एक सय २० वटा सोलार भए पनि उक्त सोलार २०५६ सालदेखिको पुरानो भएकाले पावर कम भएको बताए । उनले जिल्लामा विद्युत् सेवा अवरुद्ध हुँदा जेनेरेटर चलाएर सेवा प्रवाह गर्ने गरिएको बताए । हाल आएर जेनेरेटरसमेत बिग्रिएपछि टेलिकमका सेवा पनि बन्द भएको उनले जानकारी दिए ।
विद्युत्सँगै टेलिफोन सेवा समेत बन्द भएपछि टाढा टाढाबाट सरकारी कार्यालयमा कामका लागि आएका सेवाग्राही मारमा परेका छन् । जिल्लामा विद्युत् सुचारु नभएपछि यहाँको स्वास्थ्य, शिक्षा, सञ्चारलगायत क्षेत्र प्रभावित भएका छन् ।