डोल्पामा दैनिक १४ घन्टा फोन अबरुद्ध
दुनै : हिमाली जिल्ला डोल्पामा दैनिक १४ घन्टा टेलिफोन र मोबाइल सेवा अबरुद्ध हुने गरेको छ। दुई सातादेखि मोबाइल, इन्टरनेट र ल्यान्डलाइन फोन सेवामा दैनिक १४ घन्टा लोडसेडिङ हुँदा सेवा अबरुद्ध भएको हो।
जिल्लाको ठूलीभेरी नगरपालिकाअन्तर्गतको जुफाल र दुनैमा राखिएको नमस्ते, स्काई र ल्यान्डलाइन टावरका बीटीएसबाट हुने सेवामा दैनिक १४ घन्टा लोडसेडिङ हुने गरेको छ।
दुई सातादेखि विद्युत् आपूर्ति बन्द छ। प्रत्येक दिन ८ बजे नमस्ते स्काईलागायत सबै सेवा जान्छन् अर्को दिन बिहान ९ बजे मात्र टावर आउँदा काम गर्न असहज भएको स्थानीय कालुप्रसाद हमालले दुखेसो पोखे।
विद्युत् आपूर्ति बन्द भएसँगै दुर्गमका टेलिफोन टावरमा समेत घन्टौं लोडसेडिङ हुन थालेपछि ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका सबै मर्कामा परेका छन्। फोन, इन्टरनेट र विद्युत् नभएपछि दैनिक काम गर्न नसकिएको योगेन्द्र बुढाले जानकारी दिए।
‘दुर्गममा सुविधा भनेको यही टावर होला, तर टावर पनि नियमित छैन। कोही रात बिरामी प¥यो भने उपचारका लागि अस्पताल वा जिल्लाबाहिर लैजान खबर गर्ने माध्याम छैन’, ओमबहादुर चन्दले वास्तविकता सुनाए।
उनले भने, ‘टावरनै हुँदैन, भूगोल ठूलो भए पनि बस्ती पातलो छ, सबै ठाउँमा मान्छे नै पठाएर पनि सम्भव छैन टेलिकमले बेवास्ता गरिदिन्छ। हाम्रा पीडा कसले सुनिदिने ? ’
सदरमुकाम दुनैमा रहेको जैरीगाड जलविद्युत् आयोजना पहिरोले अबरुद्ध भएपछि जुफाल र दुनैको टेलिफोन टावरमा पनि लोडसेडिङ भएको छ।
सदरमुकाम दुनैमा रहेको जैरीगाड जलविद्युत् आयोजना पहिरोले अबरुद्ध भएपछि जुफाल र दुनैको टेलिफोन टावरमा पनि लोडसेडिङ भएको दूरसञ्चार कार्यालय डोल्पाले जनाएको छ। कार्यालयका अनुसार सेवा सञ्चालन गर्न पावर छैन।
‘जुफालको टावरको राखिएको सोलार ब्याकअपमा समस्या छ। घाम लागुन्जेल टावर चल्छ त्यसपछि बन्द हुन्छ। दुनैको विद्युत्ले काम गर्दासम्म लोडसेडिङको दर घटेको थियोे। पहिरोले दुनैको बत्ती अवरुद्ध भएपछि टावरमा हुने लोडसेडिङको समय बढेको हो’, दूरसञ्चार कार्यालय डोल्पा प्रमुख दयाविक्रम केसीले जानकारी दिए।
अहिलेको अवस्थामा सञ्चार नै पहिलो हो। टेलिफोन टावरलाई २४ घण्टा सञ्चालन गर्न डोल्पाली जनताले माग गरेका छन्।
बारम्बार टावरमा समस्या आइरहँदा समेत टावरलाई भरपर्दो बनाउन सम्बन्धित निकायले चासो नदिएकोमा डोल्पाली जनताले आक्रोस पोखे।
नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले जुफालमा सोलार ब्याकप थप गरेर टेलिफोन सेवा नियमित गर्ने बताए पनि कार्यान्वयन भने गरेको छैन।
पटक–पटक टेलिकम टावर अबरुद्ध हुँदा भोग्नुपरेको समस्यालाई मध्यनजर गरी सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने सरोकारवालाको भनाइ छ।
जिल्लामा राखिएका टावरमा समस्या आएपछि हाल सञ्चालनमा रहेको एडीएसएल इन्टरनेट समेत प्रभावकारी रूपमा चल्न सकेको छैन। इन्टरनेट नचलेपछि सरकारी कार्यालयका काम पनि अबरुद्ध भएका छन्।