पाँच दिनपछि छुटे पत्रकार बस्नेत

काठमाडौं : पत्रकार राजु बस्नेत पक्राउ परेको पाँचदिनपछि रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलको एकल इजलासले शुक्रबार पत्रकार बस्नेतलाई साधारण तारेखमा रिहा गरेको हो।
महानगरीय प्रहरी परिसर जावलाखेलले खोजतलास साप्ताहिक तथा खोजतलास न्युजडटकमका प्रधानसम्पादक बस्नेतलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धानका लागि भन्दै आइतबार पक्राउ गरेको थियो।
उनले दृष्टिन्यूज डटकममा प्रकाशित समाचार आफ्नो पत्रिका तथा अनलाइनमा साभार गरेका थिए। समाचारमा ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने हेडलाइन राखिएको थियो।
बस्नेत सुशील खनालले दिएको जाहेरीका आधारमा पक्राउ परेका हुन्। काठमाडौं जिल्ला अदालतले बस्नेतलाई पक्राउ गरी अनुसन्धान गर्न भदौ २४ गते आदेश दिएको थियो।
रिहाइपछि पत्रकार बस्नेतले आफूलाई राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखिएको प्रतिक्रिया दिएका छन्।
दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठसँग फोनमा अनुमती लिएर प्रकाशित गरेको समाचारलाई लिएर आफूलाई प्रहरीले हिरासतमा राखेको उनको भनाइ छ।
पत्रकार बस्नेतले दुष्टिका सम्पादकसँग अनुमति लिएर आफूले समाचार राख्दा कारबाही भएको तर पत्रकार श्रेष्ठलाई कुनै कारबाही नभएको भन्दै आपत्ति जनाए।
बस्नेतले दृष्टिका सम्पादक श्रेष्ठले आफूसँग फोनमा एउटा कुरा गरेको र बयानमा अर्को कुरा भनेको आरोप लगाएका छन्।
‘पत्रकारलाई हिरासतमा राख्नु भनेको सिंगो पे्रस जगतलाई पेलेर लाने प्रयास हो’, उनले भने, ‘अहिले म परेँ। भोलि जोपनि पर्न सक्छ।’
उनले पत्रकारलाई दमन गर्ने नयाँ कानुन संशोधनका लागि आफू फेरि पनि जेल जान तयार रहेकोसमेत बताए। बस्नेतले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा बैठकमा दिएको जवाफप्रति असन्तुष्ट व्यतm गर्दै भने, ‘कुन कानुनले मलाई समातेको ?’
पत्रकार बस्नेतले हरिसिद्धि इँटा टायल कारखानाको समाचार लेख्दा पटक पटक माननीय पम्फा भुषालललाइ फोन गरेको तर उहाँले फोन नउठाएको बताए।
काठमाडौं जिल्ला अदालतबाट रिहा भएका पत्रकार बस्नेतलाई अदालत परिसरबाट प्रहरी भ्यानमै निकालेको ललितपुर प्रहरीले जावलाखेल लगेर छोडेको छ। महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी नरेन्द्र चन्दका अनुसार पत्रकार बस्नेत आफ्ना सामान बुझेर घर गएको पुष्टि गरे।
प्रतिक्रिया दिनुहोस !
