काष्ठमाण्डप पुर्ननिर्माण दुर्तगतिमा

काठमाडौँ : काष्ठमाण्डप पुर्ननिर्माणको कामले गति लिन थालेको छ । भूकम्पले भत्किएको काठमाडौँको शान काष्ठमाण्डपको पुर्ननिर्माणको कामले अब गति लिने भएको हो । अहिले निर्माण क्षेत्रको स्थान खाली गराउने काम भइरहेको छ । काष्ठमाण्डप पुर्ननिर्माण समितिका अध्यक्ष एवं प्रदेश सभा सदस्य राजेश शाक्यले अब पुर्ननिर्माणको कामले गति लिने बताए । काष्ठमाण्डप पुर्ननिर्माणका लागि आउँदो असोज ५ गतेभित्र पहिलो चरणमा काठ आइपुग्ने उनले जानकारी दिए।
‘मंसिर १५ गतेभित्र २५ फुटभन्दा लामा काठ र इट्टा आइपुग्छन् । मंसिर १५ गते जगको काम औपचारिक शुरुवात् गर्ने र माघको १५ गते पहिलो तलाका थाम उभ्याउने तयारी भएको छ,’ काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलेले भने, ‘२०७६ असार मसान्तभित्र पहिलो तलाको पुननिर्माण सम्पन्न गर्छौ ।’
शुक्रबार राष्ट्रियसभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, पुनिनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुशील ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र भित्री वडाका वडाध्यक्षसहित बसेको पुननिर्माण निर्देशक समितिको बैठकमा अध्यक्ष शाक्यले अहिलेसम्ममा काठ, इट्टा र माटो प्राप्त गर्ने काम भइरहेको बताए।
बैठकमा पुर्ननिर्माणको प्राविधिक पक्ष पुर्ननिर्माण प्राधिकरण र पुरातत्व विभागले र आर्थिक पक्ष महानगरले हेर्ने पनि मेयर शाक्यले बताए । लक्षित बजेटको सीमामा बसेर समितिले काम गर्नुपर्ने उनको भनाई थियो । मेयर शाक्यले सम्पदा पुर्ननिर्माणमा खर्चको विषयलाई लिएर विवादित टिप्पणी आएकोप्रति पनि लक्षित गर्दै भने– ‘हामी विदेशी या अरु दातासँग पैसा माग्दैनौं, सरकारले दिएको रकममा अपुग महानगरले खर्च गर्छ, यो विषयमा सबै स्पष्ट हुन जरुरी छ ।’
निर्धारित समयमा काम सक्नुपर्छ भन्दै मेयर शाक्यले यसो भएन भने खर्च बढ्ने र जनविश्वास घट्ने बताए । ‘त्यसैले कामको प्रगति लिखित रुपमा महानगरलाई प्राप्त हुनुपर्छ,’ बैठकमा उनले भने। बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नागरिक सम्बन्ध् स्थापित गर्दै पुननिर्माणको काम अघि बढाउनु पर्ने सुझाव राखे ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले काष्ठमण्डप पुननिर्माणको विषयलाई आफूले नजिकबाट निगरानी गरिरहेको बताए । काष्ठमण्डपलाई निर्धारित समयमा निर्माण सम्पन्न गर्न साना–साना काठमा बुट्टा कुँद्ने काम थालनी सुरु गर्दा हुने सुझाव दिए ।
बैठकमा उपस्थित वडाध्यक्षहरुले जात्रा पर्व, काष्ठमण्डप र स्थानीयको सम्बन्ध निरन्तरताका विषयमा ख्याल गर्न सुझाव दिए। काष्ठमण्डप पुर्ननिर्माणका लागि महानगरले गएको जेठ २९ गते एक औपचारिक कार्यक्रम आयोजना गरेर समितिलाई पहिलो किस्ता ५० लाख रुपैयाँ अनुदान रकम प्रदान गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस !
