नानीबाबुसँग प्रा.डा. अरुण गुप्तोका मनका कुरा

नानीबाबुसँग प्रा.डा. अरुण गुप्तोका मनका कुरा

म कपिलवस्तुको बहादुरगन्जमा हुर्किएको हुँ। बहादुरगन्ज त्यतिबेला खजहनी शिवराज जिल्लाको सदरमुकाम थियो। पछि सरकारले जिल्लाको संरचना परिवर्तन गर्‍यो। भारतको सिमानाभन्दा नौ किलोमिटर उत्तरमा पर्ने यो ठाउँ गाउँ भन्न पनि नमिल्ने र सहर पनि भइनसकेको थियो।

हामी श्रीराम गोरखा बहुउद्देशीय हाइस्कुलमा पढ्थ्यौं । पञ्चायत सरकारले देशभर यस्ता १७ वटा हाइस्कुल सञ्चालन गरेको थियो जहाँ विज्ञान, कृषिजस्ता अतिरिक्त विषयको समेत पढाइ हुन्थ्यो । हाम्रो स्कुलमा दुईवटा पुस्तकालय थिए । गोपाल श्रेष्ठले खोलेको ज्ञानोदय पुस्तकालय पनि हाम्रो गन्तव्य प्रमुख थियो । विद्यालयमा पढाइका अतिरिक्त खेलकुदलाई विशेष महत्‍व दिइन्थ्यो । हामी क्रिकेट, ब्याडमिन्टन, हकी, टेनिस आदि खेल्थ्यौं । पढ्ने र खेल्ने कामलाई उत्तिकै महत्‍व दिन्थ्यौं ।

हामी सानैदेखि वातावरण र पर्यावरणको महत्‍वबारे जानकार थियौं । आमाले नै हामीलाई यसबारे अभ्यस्त गराउनुभएको थियो । मलाई सानै छँदाको एउटा रमाइलो घटना सधैं याद आइरहन्छ । हाम्रो बुवा डाक्टर हुनुहुन्थ्यो । उहाँ सरकारी अड्डामा काम गर्ने साथीभाइसँग मिलेर सिकार खेल्न जंगल जानुहुन्थ्यो । उहाँहरू कहिले साइकलमा त कहिले घोडामा हिँड्नुहुन्थ्यो । प्रायः हरिण, बँदेल मारेर ल्याउनु हुन्थ्यो । आमा सिकार खेल्न गएको पटक्कै मन पराउनु हुन्नथ्यो ।

त्यसदिन बुवा सिकारबाट समयमा फर्किनु भएन । हामी सबै खाना नखाई पर्खेर बसेका थियौं । बल्लबल्ल रातको ११ बजे बुवाको साइकलको घन्टी बज्यो । हामी सबै उहाँको क्लिनिकको बरण्डामा बसिरहेका थियौं । बुवाको साइकलमा हरिण पनि लादिएको थियो । यो देखेर आमा नजिकै जानुभयो ।

हरिण चल्मलाएको देखेपछि त्यसलाई तुरुन्तै सुइँ लगाउन आमाले बुवालाई भन्नुभयो । सायद हरिणलाई गोलीको छर्राले मात्र लागेको थियो । भाग्यवश त्यो मरेको थिएन । आमाले अलि गम्भीरतापूर्वक कुरा गरेपछि बुवाले कहिल्यै नकार्नु हुन्नथ्यो । बुवाले तुरुन्तै सुइँ लगाउन साथ हरिण जुरुक्क उठ्यो । आमाले त्यो रात हरिणलाई कुकुर राख्ने खोरमा हालिदिनु भयो । भोलिपल्ट बिहान हरिण मजाले घाँस खाइरहेको थियो ।

त्यो दृश्य देखेपछि आमा हरिणका छोराछोरी मातृवियोगको पीडामा कसरी रोइरहेका होलान् भन्दै झनै गम्भीर बन्नुभयो र बुवालाई हरिण फिर्ता लगेर जंगलमा छाड्न भन्नुभयो । बुवाले एउटा ट्र्याक्टरमा हालेर हरिणलाई जंगलमा छाडिदिनु भयो । त्यो घटनाको प्रत्यक्षदर्शी म पनि थिएँ । त्यसदिनदेखि बुवा सिकार खेल्न जानुभएन । त्यो घटना थाहा पाएर बुवाका साथी मदन क्षेत्री मामाहरूले पनि सिकार खेल्न जान छाड्नुभयो । आमा रूखबिरुवा रोप्न र हुर्काउनमा ज्यादै रुचि राख्नुहुन्थ्यो । अहिले ८० वर्षको उमेरमा हिँड्दा पनि उहाँ उत्तिकै रुचि राख्नुहुन्छ ।

हाम्रा शिक्षकहरू हाम्रो पढाइमा मात्र होइन हाम्रा हरेक क्रियाकलापको रेखदेख गरिहनुहुन्थ्यो । पाइलापाइलामा पछ्याइरहनु हुन्थ्यो । उहाँहरू हाम्रा साथीजस्ता समेत हुनुहुन्थ्यो । म मेरा दौंतरीहरू भन्दा अलि सीधा थिएँ । भाइ तापस र उसको साथी दिनेश अलि बदमासी पनि गर्थे । गुलेली बोकेर चरा मार्न जान्थे । मुकेश भाइको बाँदरसँग मुक्का हानाहान भएको समेत म सम्झिरहन्छु ।

शिक्षकहरू, आमा र हजुरआमाले पढ्नमा प्रेरणा दिइरहनुहुन्थ्यो । आमा भान्सामा काम गर्दासमेत पढिरहनु हुन्थ्यो । बुवाको रुचि इतिहासमा थियो । त्यही प्रभावले मैले आभिर वंशदेखि वर्तमान समयसम्मको इतिहासको टिपोटसमेत राखेको छु । हाम्रो घरमा नियमित आउने गोरखापत्र, राइजिङ नेपाल, टाइम्स अफ इन्डिया आदिले पढ्नमा थप जगाएको थियो । म त्यसबेला बीबीसी नेपालीमा सुन्थेँ र अंग्रेजीमा अनुवाद गर्थें । यसले मेरो भाषा विकासमा ज्यादै सहयोग गर्‍यो ।

हाम्रो घरमा रहमत, सालिख, सुखी आदि काम गर्न आउँथे । उनीहरूसँग मेरो सम्बन्ध ज्यादै सुमधुर थियो । उनीहरूसँग पढाइका कुरा पनि हुन्थे । म उनीहरूलाई काममा पनि सघाउँथे । उनीहरूसँग म कहिल्यै टाढा भइनँ । म उनीहरूलाई काका, दाइ भनेर विनम्रतापूर्वक सम्बोधन गर्थें ।

मुस्लिम समुदायका रहमत मेरा हिरो नै हुन् । उनी रातभर हिँड्न पनि डराउँदैनथे । भूतका कथा सुनाउँथे । बुवासँगै बिरामीहरूका घरमा जान्थे । उनी ज्यादै गरिब थिए । दसैंमा दुर्गा सेलाएपछि पानी भित्रबाट शृंगारका सामग्री झिकेर ल्याउँथे । श्रीमतीलाई उपहार दिन्थे, कुनै बेच्थे पनि । उनी चिहानबाट समेत गहनाहरू झिक्थे । पछि हिन्दु मुस्लिमबीच विभेद बढ्न थालेपछि त्यो कम गरे । उनी बुवालाई ‘जयरामजी की’ भन्थे । बुवा ‘सलामलेकुम’ भन्नुहुन्थ्यो ।

उनी पढाइका कुरासमेत गर्थे । देवीले भाइहरू कस्तो पढ्दै छन् भनेर सोधेकी छन् भनेर गफ लाउथे । बुवासँग पहाड जाँदा भूतले बाटो छेकेर बिँडी मागेपछि ‘म पढेको मान्छे हुँ’ भन्दा भूत भागेको कथा भन्थे । उनी हामीलाई पढाइमा समेत उत्प्रेरित गरिरहन्थे ।

आमाले हामीलाई पढ्दा, काम गर्दा वा खेल्दा ज्यादै मनोरञ्जनात्मक वातावरण बनाइदिनुहुन्थ्यो । म खाली समयमा आफ्नो काम आफैं गर्छु । हामी तीनैजना दाजुभाइको त्यस्तै बानी छ । यसको श्रेय आमालाई नै जान्छ । मदन श्रेष्ठले हामीलाई नाटकसमेत खेलाउनुहुन्थ्यो । बालकृष्ण समको नाटकमा भाग लिएको सम्झना अझै ताजै छ । यसले ममा वाक्शक्ति बढायो भने अर्कातिर लजाउने बानी पनि हट्यो ।

भाइबहिनीहरूले ज्ञानको दायरा बढाउन सहरमा बसेर मात्र पुग्दैन । गाउँको समेत भ्रमण गर्नुपर्छ । यसले गाउँको संस्कृति, परम्परा, धर्म आदिबारे थाहा हुन्छ । दुःखसुख बुझिन्छ । यसबाट मान्छेले बाँच्नका लागि गरेका संघर्षबारे थाहा हुन्छ । हामीले आफ्नो मातृभाषा मात्र जानेर पुग्दैन । स्थानीय तहमा बोलिने र अन्य अन्तर्राष्ट्रिय भाषाहरू सिक्नुपर्छ । यसले सामाजिक भावनामा सहयोग गर्छ ।

भाइबहिनीको अमूल्य समय, इन्टरनेट, मोबाइल र टीभीले समेत बर्बाद गरिरहेको छ । हामी जबसम्म किताब पढ्ने बानी गर्दैनौं तबसम्म नयाँ कुरा सिक्दैनौं । पढ्ने बानी गर्न सुरुमा कथाका किताब पढ्नुपर्छ । कथा पढ्ने बानीले पठन संस्कृतिको ढोका खुलाउँछ ।

मलाई पनि सानैदेखिको पढ्ने बानी र घरको सोही खाले वातावरणले साहित्य र कलाको क्षेत्रमा रुचि जगायो । र यसै क्षेत्रमा काम गर्न प्रेरणा दिलायो ।

  (प्रा.डा.गुप्तोसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.