मिनी म्याराथुनमा सेना प्रथम
इलाम : संविधान दिवसको अवसरमा मंगलबार इलाममा खुल्ला मिनी म्याराथुन प्रतियोगितामा नेपाली सेनाका धावक प्रथम भएका छन्। संविधान दिवस मूल समारोह समितिको आयोजना तथा इलाम नगरपालिका, जिल्ला खेलकुद विकास समिति र जिल्ला युवा समितिको संयोजनमा खुल्ला मिनी म्याराथुन भएको हो।
प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका चन्द्रकुमार सुनार प्रथम भए। उनले १४ मिनेट ३० सेकेण्डमा दूरी पार गरेका थिए। दोस्रो माइपोखरी ट्रेनिङ सेन्टर इलामका मौषम तामाङले १४ मिनेट ४० सेकेण्डमा दूरी पार गरे।
माइपोखरी ट्रेनिङ सेन्टर इलाम सचित राई ले १५ मिनेट १० सेकेण्डमा पूरा गरी तृतीय र नेपाली सेनाका शिशिर वाइवा तामाङल१६ मिनेट ५ सेकेण्डमा पूरा गरी सान्तवना घोषित भए। त्यस्तै महिलातर्फ नेपाली सेनाका शान्ता योङहाङले २० मिनेट ३० सेकेण्डमा दूरी पार गरी प्रथम र नेपाली सेनाकै योजना कुमाल २० मिनेट ५८ सेकेण्डमा पार गरी द्वितीय स्थान हाँसिल गर्न सफल भइन्।
इलाम चोक बजारदेखि धोविधारा जिरो किलोमिटर टुँडिखेल हुँदै चोकबजार सम्मको साढे ३ किलोमिटर पुरुष र महिला म्याराथुन आयोजना गरिएको थियो।प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र माइ पोखरी ट्रेनिङ सेन्टर इलामका २६ जना पुरुष र महिलाहरुले सहभागिता जनाएका थिए। विजेतालाई बुधबार संविधान दिवसको दिन पुरस्कार वितरण गरिने मूल आयोजक समितिले जनाएको छ।