कलियुगको आदित्य–ज्योति
लीलामणि पौड्यालको विचार छ, ‘आदित्यको अलौकिक शक्तिलाई भेट्न जानेहरूको भाग्य, पद, धनार्जनको बाटो बताउने साधन नबनाइयोस्।’
कुनै अनौठो दृश्य देखियो भने धेरैको मुखबाट सुनिन्छ, ‘लौ न नि के देख्नु परेको हो यो कलियुगमा ? ’ अहिले कलियुग चलिरहेको भनिन्छ। काठमाडौं गौरीघाटका बालज्ञानी गुरु आदित्यलाई अहिले धेरैले कलियुगको भगवान्को रूपमा हेर्न थालेका छन्। एक दिन पनि विद्यालय नगएका आदित्य संसारको जुनसुकै भाषामा लेखेर वार्तालाप गर्न सक्छन्। अज्ञात रोगले उनको बोल्ने क्षमता हराएको छ। उनलाई पहिलो पल्ट भेट्न जाने जोसुकै अपरिचितको नाम, पेसा, बताउन सक्ने हुँदा उनलाई गुगलब्वाई भन्न थालिएको छ। उनलाई दर्शनभेट गर्न जानेहरू भगवान्को रूपमा हेर्न थालेका छन्। उनको नाममा आदित्य संरक्षण प्रतिष्ठान गठन गरिएको छ। यही प्रतिष्ठानले उनको कारनामाबारे ‘कलियुगको आदित्य ज्योतिपथ’ नामक पुस्तक हालै बजारमा ल्याएको छ।
पुस्तक पाँच खण्डमा विभाजन गरिएको छ। पहिलो परिचय खण्डमा आदित्यको बाल्यवस्था, ज्ञान पाएको क्षण, अलौकिक लेखनशैली, ध्यान योग, साधना प्रयोगदेखि धार्मिक यात्रा, विशेष भेटघाट, दिशानिर्देश, शिवालय परिकल्पनासम्मको बारेमा उल्लेख छ। पुस्तकको मूल शीर्षक राखिएको कलियुगको आदित्य ज्योतिपथ दोस्रो खण्डमा छ। त्यस्तै, स्ववचनरूपी अन्तर्भाव तेस्रो खण्डमा र शिष्य एवम् विशिष्ट व्यक्तित्वका अनुभूति चौथो खण्डमा छ। अन्तिम पाँचौं खण्डमा उनका अमृत वाणीको संकलन छ।
७ साउन २०६७ मा बुवा शेषराज दाहाल र ईश्वरी गुरागाईंको पहिलो सन्तान हुन् आदित्य। जन्मिँदा उनी स्वस्थ्य थिए। आम बालबालिकाझैं बामे सर्ने, बस्ने, हिँड्ने गरे। तोते बोली बोले। २०६९ माघमा उनको देव्रे खुट्टा छोटो देखियो। हिँड्दाहिँड्दै थचक्क बस्न थाले। तर अनुहार भने ज्योतिमय थियो। उनलाई उपचारका लागि नेपालमा विभिन्न अस्पतालदेखि दिल्ली, अमेरिकासम्म लगियो तर निको भएन। २०७१ वैशाखदेखि त उनको बोली नै बन्द भयो। क्रमशः एक प्रकारले पक्षघात पीडितजस्तै भए। खाना खान र निल्नसमेत गाह्रो भयो। आफ्नो चौथो जन्मोत्सव आउन एकदिन अघि आदित्यले अनौठो गरे। अरू कसैले लेखपढ गर्न नसिकाए पनि कापीमा अ, आ, इ, ई देखि अः सम्म लेखे। उनको रेखदेखको लागि रहेकी मामाकी छोरीले आफ्नो नाम पनि लेख्न सक्छौ भन्दा फटाफट उनको नाम लेखिदिए, ‘सुष्मा।’ अर्को कोठामा रहेको दाजुको मोबाइल नोकिया कम्पनीको रहेकोदेखि बीजगणितको सूत्रसम्म हल गरेर देखाए, आदित्यले।
आफ्नो छोरालाई पढाउन विभिन्न विद्यालयको ढोका चहारेका थिए, तिनका अभिभावकले तर उनको शारीरिक अवस्था देखेर कसैले भर्ना गर्न मानेनन्। विद्यालय नटेक्दै आफ्नो चौथो वर्थ डेको उपहार लेखनशैली लिएर उपस्थित थिए आदित्य। यसरी २५ असार २०७१ मा उनी सामान्य बालकबाट बालज्ञानी गुरु आदित्यमा रूपान्तरित भए। उनी आफ्नो यही नाम अरूले भनुन् भन्ने चाहना राख्छन्।
अरूको सहारा बिना उनी उठबस गर्न सक्दैनन्। कलम समात्न पनि गाह्रो हुन्छ। त्यसैले अक्षर किरिंग मिरिंग देखिन्छ। उनी ध्यानमा बस्न रुचाउँछन्। उनले एकदिनको दैनिकीमा लेखेका छन्, ‘अनगिन्ती सोच, असाधारण विचार भित्रिन्छ मभित्र, त्यसैलाई मनन् गर्दागर्दै कहिले उठ्न बिर्सिन्छु, कहिले सुत्न बिर्सिन्छु। सामान्य रूपमा लिन सक्नुपर्छ मेरा हर क्रियाकलाप। म सबैभन्दा भिन्नु छु। सकिन्छ भने हर कार्यलाई स्वीकार, नभए एक सन्त हुँ, कि जंगलमा छाड कि जलमा बगाइदेऊ कि अग्निमा जलाइदिनू’ (पृ.२१)।
आम बालबालिका त्यसै पनि खञ्चुवा हुन्छन्। तर बीचबीचमा उनी निराहार व्रत बस्छन्। शाकाहारी भोजन गर्छन्। अरूलाई पनि त्यही भनेर उत्प्रेरित गर्छन्, ‘अन्तर्मनले मागेका सबै वस्तु खाऊ तर खाने बहानामा हत्या नै गरी अरूको आत्मा नखाऊ।’ (पृ.२२)।
शिवकी पार्वतीलाई मात्र होइन, शिरकी गंगारूपी वागमतीलाई पनि पूजिन लायक बनाऔं भन्ने आदित्यको त्यही सफाइ अभियानमा लागेका पूर्व मुख्यसचिव लीलामणि पौड्याल भेट्न जाँदा बागमती सभ्यताकै बारमे गफ गरे। पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, उद्योगी उपेन्द्र महतो, चिकित्सक भोला रिजाल, आरजु देउवा, क्याप्टेन रामेश्वर थापा, पत्रकार युवराज घिमिरे, विजय कुमारलगायतको शुभकामना मन्तव्य छ। यी व्यक्तित्वहरूले आदित्यसँग भेट गरी उनको दिव्य ज्ञान लिएका छन्।
पुस्तकमा उनलाई भगवान् चलाउने कोसिस गरिएको छ। तर, लीलामणि पौड्यालको विचार छ, ‘उहाँको अलौकिक शक्तिलाई भेट्न जानेहरूको भाग्य, पद, धनार्जनको बाटो बताउने साधन नबनाइयोस्।’ (पृ.१५४)। शान्तिद्वारा गरिने कामनाले मात्रै कलियुगको दीर्घायु हुनेछ, नत्र अशान्तिमय यो जगत्को अन्त्य हुन एक पल पर्खनु पर्दैन, यस्ता गम्भीर विचार राख्छन् आदित्य। यसरी खेल्ने कुद्ने उमेरमा उनी बहस, छलफलमा दिनहुँ व्यस्त रहन्छन्। पुस्तकमा यस्ता धेरै उदाहरण समेटिएको छ।