पप्पु कन्स्ट्रक्सनलाई राष्ट्र बैंक भवन बनाउने ठेक्का

पप्पु कन्स्ट्रक्सनलाई राष्ट्र बैंक भवन बनाउने ठेक्का

काठमाडौं : पप्पु कन्स्ट्रक्सनलाई नेपाल राष्ट्र बैंकको भवन बनाउने ठेक्का दिइएको छ। उसले विगतमा ठेक्का पाएका काम समयमा नसकेको र गुणस्तरहीन रहेको आरोप लागिरहेका बेला फेरि अर्को ठेक्का हात पारेको हो। कर्मचारीदेखि राजनीतिक नेतृत्वसम्मको सेटिङका आधारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पप्पुलाई बालुवाटारमा बैंकको भवन निर्माण गर्ने ठेक्का दिएको हो।

पप्पुले हालसम्म निर्माण गरेका सडक र पुल गुणस्तरहीन र मापदण्ड विपरीत भएको व्यापक गुनासो आइरहेको अवस्थामै सरकारले राष्ट्र बैंकको भवन निर्माण गर्न सोही कम्पनीलाई छनोट गरेको हो। निर्माण कार्यमा पप्पुले गरेको अनियमितताको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएकै बेलामा यो ठेक्का दिइएको हो।

पप्पुले भवन निर्माणका लागि सबैभन्दा कम मूल्यको बोलपत्र प्रस्ताव गरेकाले सोही कम्पनीलाई निर्माण गर्न छनोट गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए। पप्पुले बालुवाटारको भवन निर्माण गर्न दुई अर्ब ६ करोडको प्रस्ताव गरेको थियो। भवनको लागत करिब तीन अर्ब रुपैयाँ राखिएको थियो। पप्पुले हालसम्म सडक र पुलको ठेक्का मात्रै लिँदै आएको थियो।

मानन्धरका अनुसार पप्पुले राष्ट्र बैंकको भवन बनाउन प्राविधिक रूपमा सक्षम रहेको प्रमाणपत्र पेस गरेको छ। सबै कागजात र आवश्यक प्रमाण पुगेको र सबैभन्दा कम अंक कबोल गर्ने कम्पनीलाई ठेक्का दिनुपर्ने नियम छ।

‘पप्पुको सबै प्रक्रिया मिलेको छ, प्रक्रिया बाहिर जान मिल्दैन। प्रक्रिया मिलेकै आधारमा पप्पुलाई नै निर्माण गर्ने जिम्मेवारी दिएका छौं’, सहसचिव मानन्धरले शनिबार अन्नपूर्णसँग भने, ‘मिडियामा पप्पुले गरेका काम कमजोर भयो, पुल भत्कियो, कामै गरेन भन्ने विषय आए पनि कारण प्रस्ट रूपमा आउन सकेन।’

सञ्चारमाध्यममा पप्पुको समाचार आएकै कारण कागजपत्र पुगेको र तोकिएको मापदण्ड पूरा गरेको कम्पनीलाई पन्छाएर अर्को कम्पनीलाई दिन नमिल्ने मानन्धरले बताए। नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बालुवाटारमा निर्माण गर्न लागिएको ६ तले भवनको निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी र पप्पुले संयुक्त रूपमा पाएका छन्। शिवाकोटीले भने, ‘चिनियाँसहितको पप्पुले निर्माणको जिम्मेवारी पाएको छ, १५ दिनभित्रमा सम्झौता गरी निर्माण कार्य सुरुआत हुनेछ।’

कर्मचारीदेखि राजनीतिक नेतृत्वसम्मको सेटिङका आधारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पप्पुलाई बालुवाटारमा बैंकको भवन निर्माण गर्ने ठेक्का दिएको हो।

प्राधिकरणका अनुसार बालुवाटारको भवन निर्माण गर्न विभिन्न १४ वटा कम्पनीले प्रस्ताव गरेका थिए। त्यसमध्ये १२ वटालाई प्राविधिक रूपमा छनोट गरिएको थियो। छनोट भएका १२ मध्ये पप्पुले सबैभन्दा कम अंकको बोलपत्र प्रस्ताव गरेकाले उसैलाई छनोट गरिएको हो। भवन निर्माणका लागि सम्झौता हुन बाँकी छ।

पप्पुलाई दुई तीन दिनमै सार्वजनिक सूचना दिएर सम्झौताका लागि बोलाउन लागिएको मानन्धरले जानकारी दिए। यो भवन निर्माण गर्न प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ठेक्का लगाएको हो।

२०७२ को भूकम्पबाट क्षतिग्रस्त बनेको यो भवन निर्माण गर्न चिनियाँ कम्पनी एसआरबीसीसँगको जेभीमा पप्पुले प्रस्ताव हालेको हो। छनौट भएको कम्पनीले १५ दिनभित्रमा सम्झौता गर्न नआए स्वतः अर्को कम्पनीलाई दिन सकिने प्रावधान छ। सबैभन्दा कम अंक कबोल गरेको पप्पुपछि अर्को कम्पनीको प्रस्ताव पनि दुई करोड मात्रै बढी छ।

मानन्धरका अनुसार पप्पु पटकपटक विवादमा परे पनि कागजी रूपमा बलियो भएकाले उक्त कम्पनीसँग कसैले कामै नगराउन हालसम्म कसैले निर्देशन दिएको छैन। पप्पुले बनाएको काठमाडौंको टेकु पुल प्राविधिक रूपमा कमजोर भेटिएको छ। सडक विभागले टेकुको पुल सञ्चालनमा रोक लगाइसकेको छ। निर्माण कम्पनीले लापरबाही गरेर निर्माण गरेका कारण पुल कमजोर भएको सडक विभागले जानकारी दिएको छ।

कालिमाटी–टेकु जोड्ने ६२ मिटरको यो पुल हस्तान्तरण नभएको, पुलमा देखिएका प्राविधिक समस्या समाधान नगरी निर्माण कार्य अघि बढाएको र परामर्शदाताले दिएको सुझाव पालन नगरी पुल निर्माण गरेको भन्दै सञ्चालनमा रोक लगाइएको हो। संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु बारम्बार विवादमा आउनु र उसैले बनाएको पुल सञ्चालनमा रोक लाग्नुले यो कम्पनीको विश्वसनियतामा थप प्रश्न उब्जिएको छ।

पप्पु कन्स्ट्रक्सनको अर्को उदाहरण तीन कुनेमा निर्धाणाधीन वाग्मती पुल पनि हो। ‘काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७१ पुसमा ठेक्का लगाएको यो पुलको गत असार मसान्तमा निर्माण गर्नुपर्ने थियो। तर, यो पुलको काम भर्खर दायाँबायाँ वाल उठाउनेबाहेक केही भएको छैन। यो पुल सडकको दुवैतर्फ हाल बिजुलीबजारमा बनिरहेको जस्तो नेटवर्क आर्क ब्रिज बन्नुपर्छ।

पप्पुले राष्ट्रिय राजमार्गसहित सडक र पुल गरी हाल ४० वटा आयोजनाको ठेक्का हात पारेको छ। पप्पु वा यसले जेभीमा ठेक्का लिएका पुलमध्ये ३३ वटाभन्दा बढी पुल निर्माण सुरु भएकादेखि अन्तिम चरणमा पुगेर रोकिएका छन्।

पप्पुले हाल राष्ट्रिय राजमार्गमा निर्माण गरिरहेका सात पुलमध्ये पाँचवटा र स्थानीय सडकमा निर्माण गरेका २६ वटा पुलमध्ये १८ वटाको ठेक्का सम्झौता सकिएको छ। ठेक्का सम्झौता एक वर्ष अगाडिदेखि गत असार मसान्तसम्म सकिएका यस्ता सडक भौतिक प्रगति न्यून भएका कारण निर्माण अलपत्र छ। सडक विभाग र अन्य निकायले ठेक्का लगाएका यस्ता पुलमा अधिकांशको निर्माण कार्य अलपत्र छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.