पोखरामा १० वर्षीया बालिकाको हत्या, बलात्कारको आशंका
पोखरा : फेवाताल दक्षिणको गाउँ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनार मंगलबार बिहान घरनजिकै मृत भेटिएकी छन् । घटनाको प्रकृति र प्रारम्भिक विवरणका आधारमा प्रहरीले बलात्कारपछि त्या भएको हुनसक्ने आशंका गरेको छ ।
घरबाट बिस्कुट किन्न सोमबार साँझ निस्केकी उनी नफर्केपछि परिवारले खोजी गरेको थियो । मंगलबार बिहान ९ बजेति छोरेपाटन प्रहरी चौकीमा आएर श्रेया हराएको भन्दै खोजी दिन आफन्तले निवेदन दिएका थिए ।
आफन्तले निवेदन लेख्दालेख्दै उनको शव स्थानीयले देखेर खबर गरेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी उपरीक्षक (डीएसपी) नवीन कार्कीले जानकारी दिए । श्रेयाको शव घरनजिकै झाडीमा फेला परेको हो । अनुहारमा चोटैचोट लागेको अवस्थामा उनको शव भेटिएको हुँदा उनको हत्या यकिनजस्तै रहेको डीएसपी कार्कीले अन्नपूर्णलाई बताए ।
प्रत्यक्षदर्शीहरुका अनुसार कपडासमेत खोलिएको अवस्थामा श्रेयाको शव भेटिएको हो । ‘पोस्टमार्टमका लागि शव अस्पताल लगिएको छ, बलात्कार हो होइन रिपोर्ट आएपछि थाहा हुन्छ’, डीएसपी कार्कीले भने ।
पोखरा महानगरपालिका वडा नम्बर–२२ पुम्दीभुम्दीमा आमासँगै मामाघरमा श्रेया बस्दै आएकी स्थानीयले बताएका छन् । छोरीको हत्यापछि उनकी आमा अचेत भएकी छन्।