नानीबाबुसँग राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीका मनका कुरा
म नेपालगन्जको मुस्लिम समुदायमा हुर्किएकी हँव। त्यसबेला मुस्लिम समुदायका धेरैजसो केटाकेटी विद्यालय जाँदैनथेँ। विद्यालय जाने पनि बीचैमा छाड्थे। उनीहरूले आफ्नो घरको काम सघाउँथे। हाम्रो समुदायका करिब दुई सय घरधुरीमा संयुक्त परिवार बस्थे। धेरैजसोको आफ्नो जग्गा पनि थिएन। उनीहरू ज्याला मजदुरी गर्थे।
साना तरकारी पसल, फर्निचर पसल आदि चलाउँथे। टाँगा, रिक्सा चलाउने काममा मुस्लिम समुदायका व्यक्तिहरू संलग्न थिए। समुदायकै आर्थिक अवस्था सामान्य मात्र थियो। हाम्रो समुदायमा सामान किनेर भण्डारण गर्ने चलन थिएन। दिनभर काम गरेर बेलुकीको जोहो गर्ने गरिन्थ्यो। मेरो बुवाको पनि सानो फर्निचर उद्योग थियो। त्यो पछि गएर निकै राम्रो भएको थियो।
दुःखका बाबजुद पनि मेरो बाल्यकाल रमाइलो थियो। हामी माटाका भाँडाकुटी र पुतली किनेर खैल्थ्यौं। भाइहरू फुटबल र क्रिकेट खेल्न घर बाहिर जान्थे। हामी छोरीहरूलाई बाहिर जाने छुटसमेत थिएन। लुकेर जानु पथ्र्यो। म कहिलेकाहीँ भाइको कपडा लगाएर खेल्न निस्किन्थे। मलाई अलिअलि नाच्न पनि आउँथ्यो। विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा समेत मेरो सहभागिता हुन्थ्यो।
विद्यालयमा मेरा साथीहरू हिन्दु समुदायका धेरै थिए। मैले कक्षा ४ मा पढ्दा पहिलो पटक विभेदको महसुस गरेको थिएँ। हिन्दु समुदायका मानिस मुस्लिम समुदायमा गएर खाने चलन थिएन। मुस्लिम समुदायका मानिसलाई पनि उनीहरूले खान दिने गर्दैनथे। तर म चाहिँ साथीहरूको घरमा नियमित जान्थेँ। तर साथीका अभिभावकले मलाई निकै विभेद गर्थे। त्यहाँ हामीलाई खान दिने भाँडाकुँडासमेत छुट्टै हुन्थे।
खाएका भाँडाकुँडा हामीले नै पखाल्ने गर्नुपथ्र्यो। एकपटक मलाई साथीको घरमा धेरै कुच्चिएको भाँडामा खान दिए। त्यो कुरा आजसम्म पनि सम्झिरहन्छु। मेरा साथीहरू हाम्रो घरमा आइरहन्थे। उनीहरू हाम्रो घरमा पाक्ने मासुमा धेरै लोभिन्थे। पछि अन्य व्यक्तिहरू, सरकारी कर्मचारीहरूसमेत हाम्रो घरमा आएर खान थाले। हिजोआज यस्तो विभेद हटेर गएको छ।
नेपालगन्जमा दसैंको नौरथा अवधिभर रामायण कथामा आधारित नाटक देखाइन्छ। हामी बालबालिका त्यो दृश्य हेर्न पर्खेर बस्थ्यौं। मौलिक तरिकाले देखाइने उक्त नाटकका कलाकार बालबालिका नै हुन्थे।। राम, लक्ष्मण, सीता, हनुमान बसेको रथका पछिपछि हिँड्न ज्यादै रमाइलो हुन्थ्यो। मेरो विद्यालयको नजिकै रामलीला मैदानमा हुने यो भव्य कार्यक्रममा दसौं दिनको कार्यक्रम हेर्न गाउँगाउँबाट मानिस ओइरिन्थे।
हामो विद्यालयका धेरैजसो शिक्षक भारत र पूर्वी नेपालका थिए। भारतबाट आउने शिक्षकहरूले गणित र अंग्रेजी पढाउँथे। एकजना अंग्रेजीका शिक्षकले स्पेलिङ र मिनिङ भन्न लगाउनु हुन्थ्यो। जान्ने विद्यार्थीले नजान्ने विद्यार्थीलाई पिट्नु पथ्र्यो। कतिपय साथीहरू यो काम गर्न पाउँदा खुसी हुन्थे। आफ्नो रिसइबीसमेत साँध्ने गर्थे। तर मलाई दिक्क लागेर आउँथ्यो। त्यतिबेला रटेर र कुटेर पढाइन्थ्यो।
हाम्रो समुदायमा महिनावारी हुँदा बार्ने चलन थिएन। तर, ब्राह्मण र क्षेत्री समुदायका साथीहरू पहिलो महिनावारी हुँदा करिब एक महिना बार्थे। कक्षा ६ मा पढ्दा एक जना साथी लामो समय अनुपस्थित भइन्। उनलाई भेट्न हामी साथीहरू उनको घरमै पुगेका थियौं। साथीलाई बाहिर निस्किन नमिल्ने गरी घरभित्र राखेको देखेर हामी छक्क पर्र्याैं। विद्यालयमा कोही अनुपस्थित हुनासाथ शिक्षकहरूले हामीलाई पठाउनु हुन्थ्यो।
हिजो आज भाइबहिनीको पढ्ने बानी हराएको छ। कोर्सका किताब मात्र पढेर कहाँ धेरै कुरा सिकिन्छ र ? पुस्तकालय जाने गर्नाले पढ्ने बानी बढ्छ। इतिहास विषयमा चासो गर्नुपर्छ। त्यसमा पनि आफ्नो रुचिको विषय पढ्नुपर्छ। यसले हाम्रो समाजको विकासक्रम समेत थाहा हुन्छ। पढेर लेख्ने बानी गर्नुपर्छ। यसले स्मरण शक्तिसमेत बढाउँछ।
हामी पनि सानै छँदा पुस्तकालय जान्थ्यौं। समाचारपत्र पढिसकेपछि मात्रै कथा, कविताका किताबहरू पाइन्थ्यो। आजकल नेपाली विषय पढ्ने बानी हराएको छ। अधिकांश भाइबहिनी नेपाली विषयमा कमजोर हुने गरेका छन्। पत्रपत्रिका पढ्ने बानीले भाषाको विकास हुन्छ। सामाजिक, आर्थिक, राजनीतिक पक्षका सामान्य कुराकानीसमेत जानकारी राख्नु आवश्यक छ। यसले एकातिर दिमाग फराकिलो बनाउँछ भने अर्कातिर ज्ञानको दायरासमेत फराकिलो हुन्छ।
(राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता अन्सारीसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)