दुर्घटना रोक्न स्थानीय तह सक्रिय
धादिङ: सधैँ व्यस्त रहने पृथ्वी राजमार्गलाई स्वच्छ सफा बनाउन तथा दुर्घटना न्यूनीकरणका लागि स्थानीय तहका जनप्रतिनिधि र विद्यार्थी सक्रिय भएका छन्। पछिल्लो समयमा राजमार्ग क्षेत्रमा प्रदूषण बढ्दै गएको व्यापक जनगुनासो आउन थालेपछि राजमार्गको स्वच्छताका लागि जनप्रतिनिधि आफैं अग्रसर भएका हुन्।
स्थानीय तहका पदाधिकारी तथा विद्यार्थीले राजमार्गमा गुड्ने सवारी साधनलाई एक मिनेट रोकी सार्वजनिक सवारी साधनमा फोहर फाल्ने डस्टबिन राख्न, सवारी साधनमा संकलित फोहोरको उचित व्यवस्थापन गर्न र सवारी नियम पालना गर्न सुझाव दिने गरेका छन्। अभियान सञ्चालन गर्ने स्थानीय निकायलाई विद्यार्थीमात्र नभइ प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, जिल्ला प्रहरी प्रमुख डम्बर विकलगायत ट्राफिक प्रहरी र सशस्त्र प्रहरीले पनि साथ दिएका छन्। दुर्घटना न्यूनीकरण र राजमार्ग स्वच्छताका लागि सुरक्षा निकायका प्रमुखहरू नै सडकमा पर्चा लिएर उत्रिएका हुन्।
राजमार्ग स्वच्छताका लागि स्थानीय तहहरूले आ–आफ्नो क्षेत्रमा तथा प्रवेशद्धारहरूमा देखिने गरी चेतनामूलक होर्डिङ बोर्डहरू पनि राखेको छ। बढी यात्रुको चाप देखिने खाना र नास्ता खाने होटल, पेट्रोल पम्प, सार्वजनिक शौचालयमा चेतनामूलक प्रचार सामाग्रीहरू राखिएको बेनीघाट रोराङ गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटीले जानकारी दिए।
उनले भने, ‘हामीले हाम्रो पालिका भित्रका सडक सुरक्षित र हाम्रो सहर सफा स्वच्छ राख्न प्लास्टिकमुक्त बनाउने अभियान सञ्चालन गरेका छौं, त्यसैलाई सफल बनाउन राजमार्र्गमा गुड्ने सवारी साधनलाई सचेत गराएका छौं।’ दुर्घटना न्यूनीकरण र सरसफाई अभियानमा चितवन र धादिङ जिल्लाका राजमार्गसँग नजिक रहेका विद्यालयका विद्यार्थी पनि सक्रिय छन्।
उनीहरूले सवारी साधन रोकी चालकलाई दुर्घटना न्यूनीकरण लागि सचेत हुन्, जथाभावी ओभरटेक नगर्न, ट्राफिक नियमको पालना गर्न सल्लाह दिने गरेका छन् भने यात्रुलाई पानीका रित्ता बोत्तल गाडीको झ्यालबाट नफाल्न, खाना खाजाका पोहोर निश्चित ठाउँमा मात्रै बिसर्जन गर्न आग्रह गर्ने गरेका छन्। नेपालीको ठूला चाडपर्व नजिकिँदै आएकाले राजमार्गमा सवारीको चाप पनि बढ्ने हुँदा सफाइ सँगै दुर्घटना न्यूनीकरणका लागि पनि चेतनामूलक कार्यक्रम थालिएको बेनीघाट रोराङ गाउँपालिकाले जनाएको छ।