राजधानी छिर्न ४५ किलोमिटर जाम : बिरामीको एम्बुलेन्समै गयो ज्यान
धादिङ : नागढुंगामा सडक निर्माणका कारण ४५ किलोमिटरसम्म जाम पर्न थालेको छ। जाममा धेरै समय रोकिँदा बुधबार एकजना बिरामीको एम्बुलेन्समै मृत्यु भयो। चितवनको भरतपुरबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेको बिरामीको समयमै अस्पताल पुर्याउन नसक्दा बाटोमै ज्यान गएको हो। नौबिसे नागढुङ्गा सडकखण्ड पार गर्न घण्टौं लागेपछि बिहान १० बजे त्रिभुवन राजपथस्थित टायलघरमा ५५ वर्षीया रजनी चौधरीको मृत्यु भयो। उनी चितवनको सौराहा निवासी हुन्।
चौधरीलाई भरतपुरस्थित एक निजी अस्पतालले थप उपचारका लागि काठमाडौं पठाएको थियो। मंगलबार रातिदेखि नागढुंगा नौबिसे सडकखण्डमा सवारी जाम थियो। चौधरीको मृत्यु भएपछि एम्बुलेन्स शवसहित चितवन फर्किएको थियो। नौबिसेदेखि नागढुंगासम्म सधैंजसो हुने जाम हटाउन भन्दै काठमाडौं जिल्लाको पिपलामोडदेखि नागढुंगासम्म २ किलोमिटर बाटो मर्मत थालिएसँगै यात्रु र बिरामीको बिचल्ली भएको छ।
राजधानी भित्रिने गाडीको लाइन नागढुंगादेखि ४५ किलोमिटर पर सिम्लेबजारसम्म पुग्ने गरेको छ। लामो समय जामले कुखुरा व्यवसायी पनि मर्कामा छन्। राति बेच्न लैजानुपर्ने कुखुरा दिउँसोसम्म बाटोमै अलपत्र पर्दा गाडीमै मर्ने गरेका छन्।नौ घण्टासम्म जाममा
नीलकण्ठ नगरपालिकाकी सरिता श्रेष्ठ बुधबार बिहान काठमाडौंबाट धादिङबेसी जान बिहान ६ बजे गाडी चढिन्। कलंकीदेखि जाममा परेकी श्रेष्ठ ९ घण्टा लगाएर अपरान्ह ३ बजे मात्रै धादिङबेसी पुगिन्। सामान्य अवस्थामा धादिङ–काठमाडौं बाटोको सयम ३ घण्टा मात्रै हो। त्रिभुवन राजपथअन्तर्गत नौबिसे–पिपलामोड–नागढुंगा सडकखण्ड अत्यधिक भार बोकेका गाडीका कारण खाल्डो परेर भास्सिएर कुलोजस्तो बनेको छ। काठमाडौंस्थित सडक डिभिजन कार्यालयले मर्मत थालेको छ।
सडक विभागले काम सहज बनाउन भन्दै सोमबारदेखि राति ८ बजेदेखि बिहान ५ बजेसम्म एक सातासम्म दुवैतर्फ सवारी साधन रोकेर मर्मत थालेको हो। यसले सवारी साधन ९ देखि १४ घण्टाभन्दा बढी जाममा बस्न बाध्य छन्।
जामका कारण बाटैमा अलपत्र परेको यात्रुवाहक तथा मालवाहक सवारी साधनको लाइन।
धादिङबेसीबाट काठमाडौं जाँदै गरेकी विष्णु श्रेष्ठले भनिन्,‘चाडबाडको मुखमा मर्मतको नाममा देखाइएको चटकले यात्रुलाई दिनुसम्मको सास्ती दियो। ८५ किलोमिटरको काठमाडौसम्मको यात्रामा ४५ किलोमिटर जाममा बस्नुपर्छ। यात्रुलाई बीचमा शौचालय जान पनि समस्या छ, पानीको प्यास मेट्न पनि पाइँदैन।’ इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक उद्धव पोखरेलले भने, ‘काठमाण्डौतर्फ पिपलामोडदेखि बाटो बनाउन लागेकाले राति दुवैतर्फ सवारी ठप्प हुन्छ। सयौं गाडी गुड्ने सडक रातभरि बन्द भइदिँदा सिम्लेसम्म जाम पुगेको छ।’
देशका ६८ जिल्लाबाट राजधानी भित्रिने सवारी राति आठ बजेपछि रोकिन्छन्। रातभरि थुप्रिएको गाडीको जाम नै लामो हुने र ओभरटेक गर्न चालकले विपरीत लेनमा गाडी गुडाइदिँदा जाम झन् बढ्ने गरेको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए। बुधबार सडक विभाग महानिर्देशक र ट्राफिक प्रहरी महाशाखाको टोलीसहितले मर्मत हुँदै गरेको त्रिभुवन राजपथको अवलोकनसमेत गरेको थियो।
सडक मर्मतका कारण लामो जाम हुन थालेपछि सडक बन्द गरिने समय घटाएर बुधबारदेखि राति १० देखि बिहान ३ बजेसम्म मात्रै सवारी बन्द गरिने नागढुंगा प्रहरीले जानकारी दिएको छ। दसैं तिहारका कारण दैनिक २ हजारभन्दा बढी ठूला ढुवानी साधन राजधानी प्रवेश गर्छन्। भारतीय मालवाहक सवारी साधन कम्तीमा १८ चक्केदेखि २२ चक्केसम्म राधाजनी भित्रिन्छन्। यिनले पनि राजमार्गमा अवरोध सिर्जना गर्ने गरेको छ।