तरकारीबाटै मनग्गे अाम्दानी
सन्धिखर्क : २०४० सालमा सरकारी जागिर छाडेर तरकारी खेती गर्दा बुद्धि बिग्रेकोे मान्छे भनेर गिज्याउँथे। राम्रो उब्जनी हुने ठाउँमा तरकारी लगाउँदा त गाउँलेले निकै खेदो गरेका थिए। तर, तरकारीबाट आम्दानी राम्रो हुने देखेपछि तीनै गाउँले मेरो देखासिकी गरी तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन्। यो भनाइ हो घोचेखोलाका कृषक गणेश बन्जाडेको।
उमेरले ५७ वर्ष पुगेका बञ्जाडे जिल्लाकै एक नमुना कृषक हुन्। सामान्य गरिब परिवारमा जन्मेका उनले पाएको जेटीएको सरकारी जागिरसमेत छाडेर तरकारी खेतीमा लागे। अरुको दवावमा काम गर्नुपर्ने, पैसाका लागि महिना कुर्नुपर्ने र घरमा पैसाको जतिबेला पनि आवश्यक पर्ने भएपछि जागिर छाडेर केही गर्ने बिचार आयो। महिना पुगेपछि पाइने तलबभन्दा उत्पादनमूलक पेसा गर्ने सोच बनाए उनले। तरकारी खेती गरेर उनले अहिले मासिक लाखौं रुपैयाँ कमाउँछन्।
उनी भन्छन्, ‘गरेपछि जे काममा पनि सफलता मिल्छ, निरन्तर काम गरिरहनुपर्छ।’ उनको खेतबारीमा अहिले आलु, बन्दा, टमाटरलगायत तरकारी उत्पादन भई बिक्रीका लागि तयार हुँदैछन्। काँक्रा, घिरौला, लौका, करेला उत्पादन हुने तयारीमा छन्। उनले दैनिक चारदेखि २० हजार रुपैयाँको तरकारी सन्धिखर्क बजारमा बिक्री हुने बताउँछन्।
उनले अहिले २५ रोपनी बारीमा तरकारी खेती गरेका छन्। परम्परागत खेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा २० देखि २५ लाख रुपैयाँ आम्दानी गर्दै आएको उनले बताए। उनले गरेको देखासिकीबाट सिंगो गाउँ नै तरकारी खेतीमा लागेको छ। घोचेखोला, किमडाँडा र धरम्पानीमा उनको देखासिकी गरेर झन्डै एक सय जनाले तरकारी खेती र गाईपालन गरिरहेका छन्। सुरुमा घरकै बारीमा तरकारी खेती सुरु गरेका बन्जाडेलाई अहिले १२ करोड रुपैयाँभन्दा बढीको मालिक बन्ने सफलता मिलेको छ। घोचेखोलामा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन हुन्छ।
तरकारीबाट वर्षमा २० देखि २५ लाख रुपैयाँ कमाएपछि उनले काठमाडौंको कोटेश्वरमा ३५ कोठाको ६ तले घर बनाए। सन्धिखर्क नगरपालिकाको १,२,८ र १० वडामा घर, घडेरी र खेत किनेका छन्। उनले झन्डै ४० रोपनी जग्गा जोडेका छन्। पाँच रोपनी त घडेरी मात्र आफूसँग रहेको बताए। सबै गरेर १२ करोड रुपैयाँभन्दा बढीका घर र घडेरी जोडिसकेका छन् उनले। उनका दुई छोरा पनि तरकारी खेतीमै लागेका छन्।
गाईभैंसीको गोबरमलभन्दा पिसाब सबैभन्दा उत्तम भएको पत्ता लगाएपछि तरकारी खेतीबाट उत्पादन दोब्बर भएको उनले बताए। पशुको पिसाब संकलन गर्न ट्यांकी बनाएर संकलन गर्ने र तरकारीका बोटमै बेलाबेलामा राखेपछि रासायनिक र गोबर मलको आवश्यकता नपर्ने उनको भनाइ छ। जुन स्वास्थ्यका लागि पनि लाभदायक रहेको उनको भनाइ थियो।
उनी अहिले सिंगो जिल्लालाई नै कृषिको नमुना जिल्ला भनेर चिनाउने अभियानमा लागेका छन्। गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर धेरै यतातिर तानिएका छन्। ‘युवा विदेशमा गएर जस्तो कठोर काम पनि गर्न पछि पर्दैनन्’, उनले भने, ‘तर आफ्नै देशमा काम गर्न हिचकिचाउँछन्।’
क्षेत्रीय कृषि निर्देशनालय पोखराबाट २०७४/७५ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट केही दिनअघि २५ हजार नगदसहित पुरस्कृत भएका छन्। २०६८ सालमा विकास सेवा रत्न पदक तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवबाट पाएको उनले बताए। जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यलयबाट पनि उनी पुरस्कृत भइसकेका छन्।
उनले विगत स्मरण गर्दै भने, ‘म जागिरमै रहेको भए तलबले घरखर्च टार्नुबाहेक अरु केही हुने थिएन। तर माटोमै खेल्दा मेरो र गाउँलेको जीवनमा ठूलै परिवर्तन भएको छ यसमा मलाई असाध्यै खुसी लागेको छ।’ सरकारले कृषि क्षेत्रलाई बेवास्ता गर्दा नेपालमा उत्पादनमूलक उद्योगको सम्भावना भए पनि ती ओझेलमा परेको बताए।
उनले तरकारी खेती गर्न सबै गाउँका युवालाई मात्र सिकाएका छैनन्। तरकारी खेतीको तालिम दिनसमेत विभिन्न स्थानमा हिँडीरहेका छन्। उनले घोचेखोला, किमडाँडा र धरमपानीमा पशु बिरामी भएमा घरघरमा गएर निःशुल्क उपचार पनि गर्ने गर्छन्। पशुको उपचार गर्दा उनी कुनै शुल्क लिँदैनन्। कसैले तरकारी खेती गर्न इच्छा गरे उनी सिकाउँछन्।
उनले समूह, सहकारी चलाएर आफू मात्र हैन पूरै गाउँलाई नै समृद्ध बनाउन लागिपरेका छन्। जिल्ला कृषि समितिको सदस्यसमेत रहेका उनी अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम ब्लकको अध्यक्ष बनेर डेढ वर्षदेखि काम गरिरहेका छन्। बेलाबेलामा पाउने पुरस्कारले आफूमा अझ हौसला थपेको उनले बताए।
वर्षातको समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो। ‘अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा खुसी लाग्यो’, उनले भने, ‘पहाडको तरकारी पेसिलो र स्वादिलो मान्दै सीमा नाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्लीसम्म पुग्यो।’