एउटै बगैंचामा ५ लाख किलो स्याउ
मनाङ : ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित ७ सय ३५ रोपनी जग्गामा फैलिएको स्याउ फर्म सम्भवतः देशकै ठूलो फर्म हो ।
जहाँ यस वर्ष मात्रै ५ लाख किलो स्याउ फलेको छ । ४ वर्षअघि ६७ हजार बिरुवा रोपिएकोमा यस वर्ष ५ लाख किलो उत्पादन भएको फर्म संचालक पोल्देन गुरुङ बताउँछन्। सांसद गुरङले मनाङ मस्र्याङ्दी क्लबको जग्गा २७ वर्षका लागि भाडामा लिएर स्याउ फार्म सुरु गरेका हुन् । यस परिणामबाट ५ करोड रुपैयाँ आम्दानी हुने गुरुङ बताउँछन् ।
इटाली र सर्वियाबाट ल्याएर रोपिएका ६७ हजार बिरुवा हुर्किएर २ वर्षयता फल दिइरहेका छन् । तर, वयस्क भइसकेपछि प्रत्येक बोटबाट कम्तीमा ३० देखि ३५ किलो स्याउ उत्पादन हुने गुरुङ बताउँछन् । गत वर्ष भने एउटा बोटबाट ७–८ किलोसम्म स्याउ उत्पादन भएको थियो । स्याउ फार्ममा ५५ जनालाई प्रत्यक्ष रोजगारी दिएको सञ्चालक गुरुङले बताए । फुजी, गाला र गोल्डेन प्रजातिका वर्णसंकर स्याउका बिरुवाले यसपटक गत वर्षभन्दा बढी फल दिने गुरुङको अपेक्षा छ । वर्णसंकर भएकाले यी बिरुवा अरू स्याउको जस्तो अग्ला र मोटा छैनन् ।
स्याउ फर्मका लागि हालसम्म गुरुङको कम्पनी एग्रो मनाङ प्रालिले ३० करोड रुपैयाँ लगानी गरिसकेको बताइएको छ । गुरुङले मनाङमा स्याउ फार्ममात्र चलाएका छैनन्, फर्ममै जोडेर होटल र कोल्ड स्टोरेज समेत निर्माण गरेका छन् । ‘हामीले यहाँ स्याउ खेतीमात्र गर्न खोजेका होइनौँ’, गुरुङले भने, ‘एग्रो टुरिजम विकास गर्न खोजेका हौँ, त्यसैले होटल पनि सँगसँगै बनायौँ ।’ एग्रो फार्मले जूस, ड्राई एप्पल, ब्रान्डी, वाइनसमेत बनाउन थालेको छ ।
आगामी ५ वर्षभित्र हरेक वर्ष कम्तीमा २१ लाख किलो स्याउ उत्पादनको लक्ष्यका साथ आफूहरू लागिपरेको गुरुङ बताउँछन् । फुजी, गाला र गोल्डेन जातका स्याउ क्रमशः सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा तयार हुन्छन् । तीन महिनासम्ममा फार्मबाट उत्पादित स्याउ बजार पु¥याउन र स्टोरेज गर्न सजिलो हुने उनले बताए ।
हरेक वर्ष बाहिरी देशबाट १४ अर्ब रुपैयाँको स्याउ आयात हुन्छ । हिमाली क्षेत्रहरुमा यसरी फर्म सञ्चालन गर्न सके निर्यात नै गर्न सकिने सञ्चालक गुरुङ बताउँछन् । गुरुङको स्याउ फर्म प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेका हुन् ।