मलार्इ मजस्तै माया चाहिन्छ

मलार्इ मजस्तै माया चाहिन्छ

चर्चित गीत ‘चौबन्दीमा पटुकी’की गायिका आस्था राउत आफ्नो दोस्रो एल्बम ‘आधार २’ र यसको एउटा गीतको भिडियो दसैंअगाडि ल्याउँदै छिन्। राउतले विदेशमा झन्डै दुई दर्जनभन्दा बढी मुलुकमा आफ्नो प्रस्तुति दिइसकेकी छिन्। उनका गीतले विदेशमा बस्ने नेपालीभाषीलाई पनि एकताको सूत्रमा बाँधिन प्रेरित गरेको पाइन्छ। उनै गायिकासँग रामकला खड्काले गरेको कुराकानी।
 

नयाँ एल्बम ‘आधार २’ मा कस्ता गीतहरू समेटिएका छन् ?

यसमा जम्मा सात गीत छन्। पहिलो एल्बम ‘आधार’ भन्दा अझै फरक गर्ने कोसिस गरेको छु। मुटु छुने गीत यसमा समेटिएको छ। एउटा मेरो मामु सावित्री राउतको रचनाको गीत पनि छ। सबै गीतमा संगीत सुरेश अधिकारीले दिनुभएको छ। मेरा प्रायः गीतहरू छोरी पात्रसँग सम्बन्धित हुन्छन्।

गायन क्षेत्रमा लाग्नुमा कसको प्रेरणा बढी रह्यो ?

मेरो मामु नै मेरो पहिलो गुरु हो। गायन क्षेत्रलाई मैले रोज्नुको पछाडि पनि उहाँकै हात छ। मैले उहाँलाई घरमा मामु र विद्यालयमा शिक्षिकाको रूपमा पाएँ। मेरो बाबा हरिबहादुर राउत पनि लोकगायक नै हुनुहुन्छ। उहाँहरूको एक्लो सन्तान म। मामुबाबाले मलाई यो क्षेत्रमा धेरै मार्गदर्शन दिनुभयो भने यहाँसम्म आइपुग्नुमा संगीतकार सुरेशको पनि ठूलो हात छ।

सामाजिक सञ्जालमा बढी के प्रयोग गर्नुहुन्छ?

बढी त फेसबुक नै चलाउँछु। इन्स्टाग्राम तीन÷चार दिनमा अपडेट हुन्छु। युट्युब च्यानलमा पनि अलि बढी सक्रिय हुने कोसिस गर्दैछु।

कार्यक्रम प्रस्तुतिपछि प्रशंसकको प्रतिक्रिया कस्तो पाउने गर्नुभएको छ ?

भूकम्पपीडितको सहयोगार्थ च्यारिटी सोको सिलसिलामा विश्वका थुप्रै देश पुगेँ। दार्जिलिङ, सिक्किमतिर पनि श्रोताको धेरै माया पाएँ। मेरो भिडियोबिनाको गीत पनि उता लोकप्रिय रहेछ। एक पटक विदेशमा प्रस्तुति सकिएपछि करिब सात वर्षीया एक बालिका आफ्नी आमासँग आएर मसँग फोटो खिचाउने इच्छा देखाइन्। ती सानी नानीले मलाई आफ्नो आदर्श मान्दी रहिछिन्। त्यतिबेला उनकी आमाले ‘छोरी होस् त तपाईं जस्तो’ भनेको कुराले मेरो मन धेरै छोयो।

गीतमा काम गर्दा केमा बढी ध्यान दिनुहुन्छ?

म आफ्ना हरेक गीतमा सबैले आफ्नोपन महसुस गरून् भन्नेमा विशेष ध्यान दिन्छु। त्यसैगरी गीतको कम्पोज गर्दा पनि छोरीहरूप्रति विशेष जोड र आफ्नोपन भेटियोस् भन्ने थिममै हामी काम गर्छौं।

तपाईं गीतसंगीतदेखि खानेकुरालगायत धेरै चीजमा चुजी हुनुहुन्छ भन्ने सुनिन्छ नि ?

त्यस्तो चुजी त होइन। मलाई नेपाली र नेवारी खाना नै मन पर्छ। विदेशीमा जापानी खान रुचाउँछु। मन परेका गीत सुन्छु। फिल्मको कुरा गर्दा पहिले नै कथावस्तु र त्यसमा अभिनय गर्ने पात्रहरू हेर्छु।

फिल्म खेल्ने अफर पनि आए कि?

पहिले चार÷पाँचवटै फिल्ममा काम गर्ने प्रस्ताव आएको थियो। तर मैले गायनलाई नै रोजेँ। परिवारबाट गायनलाई नै निरन्तरता दिने सल्लाह पाएँ। भिडियोमा खेल्ने भए खेल भनेर मामुले भन्नुभएको छ। अब ट्राई गर्ने मन छ।

मेकअप र ड्रेसमा कति खर्च हुन्छ ?

म त्यति धेरै खर्चालु छैन। प्रायः लुगाहरू दिदी, भाउजू र साथीभाइले नै उपहार पठाइदिनुहुन्छ। सपिङ गर्नु परे विदेश गएको बेलामा नै गर्छु। मेकअप म प्रस्तुतिको बेला बाहेक गर्दिनँ।

पार्लर जाने बानी कत्तिको छ?

मेरो कपाल अरूको भन्दा अलि फरक छ। अहिले अलि छोटो भएकाले नुहाएर सेट गर्नुपर्छ। त्यसैले सातामा एकदुई दिन पार्लर जान्छु।

नाम र दाममा के बढी महत्वपूर्ण लाग्छ?

दाम पनि चाहिन्छ तर, नाम जत्तिको होइन। नाम बनाउन जति गाह्रो छ, गुमाउन त्यति नै सजिलो। त्यसैले जीवनमा नाम, माया, समझदारी, साथ नै बढी महत्वपूर्ण हुन्छ।

गायनपछि रू रुचिका विषय के के हुन् ?

मलाई नाच्न एकदमै मन लाग्छ। चार÷पाँच वर्षको उमेरदेखि नै मैले नृत्यका विभिन्न प्रतियोगितामा भाग लिने गरेकी थिएँ। कहिलेकाहीँ राम्रो फिल्म हेर्न पनि मन पर्छ।

किताबप्रतिको लगाव कस्तो छ ?

लगाव त छ। सिरानीमै अहिले दुईटा किताब छन्, मदनबहादुर र अर्को पुष्कर शाहबारे किताब। तर पढ्न चाहिँ भ्याएको छैन। पढ्दापढ्दै निद्रा लागिहाल्छ।

तपाईंले आफूलाई मन पर्ने मान्छे पाउनुभयो त ?

सबैले म अहिलेसम्म सिंगल छैन होला भन्ने सोच्छन्। तर आजसम्म माया पाएको छैन। खै कहिले पाउने हो, थाहा छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.