गीतकार शिवाकोटीको 'संग्रह’ विमोचन
काठमाडौं : गीतकार विजयराज शिवाकोटीको चौथौ एल्बम ‘संग्रह’ बजारमा आएको छ। एल्बमका सबै गीतमा दीप श्रेष्ठको स्वर र शिवाकोटीको शब्द छ। यसमा ६ वटा गीत संग्रहित छन्। राजु सिंह, दीपक जंगम र निर्माण योञ्जनको संगीत छ। शिवाकोटीका गीतमा बितेर गएका पुराना दिनप्रति बृहद् प्रेम छ। मान्छेमा मानवता हराउँदै गएको आजको समय देखेर बेखुसी भएका शिवाकोटी गीतबाट यस्तो भन्छन्...
फेरि तिनै खुसीहरू हाँस्न पाए हुन्थ्यो
त्यो जिन्दगी फेरि अहिले बाच्न पाए हुन्थ्यो।
वरिष्ठ गायक दीप श्रेष्ठसँगको लामो संगतमा उनले धेरै कुरा सिक्न पाएको बताउँछन्। ‘मेरा गीतका शब्दमा अभिव्यक्त हुन छुटेका भावहरू दीप श्रेष्ठको स्वरमा प्रतिविम्बित भएको आभास हुन्छ,’ शिवाकोटी भन्छन्, ‘नेपाली संगीतको क्षेत्रमा लोभलाग्दो उचाइ प्राप्त गरेका श्रेष्ठको गायकीमा क्लालिटी र सरलता छ।’
आजभन्दा करिब १५ वर्षअघि दीप श्रेष्ठकै आवाजमा रेकर्ड भएको पुरानो गीत अहिले मात्र बजारमा आएको छ। जिन्दगीका अनेक आयाम भोगेका शिवाकोटी गीतमा भन्छन्..
सबै आफ्नो भन्नु मात्र, परिआउँदा पर
हुन्न रैछ जिन्दगीमा कसैको नि भर
‘संग्रह’ विमोचन कार्यक्रममा प्रेमध्वज प्रधान, तारानाथ शर्मा, किरण खरेल, दीप श्रेष्ठ, दीपक जंगम, दीपक खरेल, प्रकाश गुरुङलगायतको उपस्थिति रहेको थियो।