अध्यक्ष दाहालले भने : वामदेवले लड्दिनँ भनेपछि टेन्सन सकियो
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेता वामदेव गौतमले चुनाव नलड्ने बताएका छन् । शुक्रबार बिहान कागेश्वरी-मनोहरा नगरपालिका आयोजित दसैँ तिहारको शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
करिब १९ मिनेट लामो मन्तब्यका क्रममा दाहालले अन्तिममा रामवीर मानन्धर र वामदेव गौतमको प्रसङ्ग झिक्दै अब सरकारको ध्यान विकासतर्फ लागेको बताए । ‘रामवीर मानन्धरको राजीनामा र वामदेव गौतम उपचुनावमा उठ्ने कुरालाई लिएर टेन्सन नलिनु होला’, दाहालले भने, ‘तपाईँहरुले अब केही टेन्सन लिनुपर्दैन, यसमा पार्टीलले निर्णय गर्छ ।’
अध्यक्ष दाहालले अब पार्टी यो लफडातिर नलाग्ने पनि जबाफ दिए । ‘अहिले पार्टी त्यो लफडा तिर लाग्दैन, विकास निर्माण छाडेर यो लफडामा लाग्नु पनि हुँदैन’, दाहालले भने, ‘हिजोबाट वामदेव गौतम स्वयम्ले काठमाडौँ क्षेत्र नम्बर ७ बाट लड्दिन भनेपछि त कुरै सकियो ।’
अब सरकार देश विकासतर्फ लाग्ने बताउँदै दाहालले अब कुनै लफडामा नफस्ने जिकिर गरे । ‘अब समाजवाद निर्माणका लागि पार्टी क्रियाशिल हुन्छ’, उनले भने, ‘चीन–भारतसहितका छिमेकीसँग सम्बन्ध राम्रो भइसकेको छ, दुवैतिरबाट रेल निर्माण सुरु हुँदैछ । बर्षाले रोकेको विकासलाई अब हिउँदमा तीब्र बनाउँछौँ ।’