विमानस्थल टावरको भित्तामा ठोक्कियो जहाज, पाइलटले थाहै पाएनन्
नयाँदिल्ली : भारतको तमिलनाडुस्थित तिरुचिरापल्ली (त्रिची) एयरपोर्टमा उडानका क्रममा एयर इन्डियाको जहाज एयर ट्राफिक कन्ट्रोलको भित्तमा ठोक्किएको छ।
तर यसका पाइलटले भने यो घटना थाहै नपाई चार घण्टासम्म लगातार जहाज उडाइरहे । जहाजमा १३० यात्री र ६ चालक दलका सदस्य थिए । दुर्घटना भए पनि सबैजना सुरक्षित छन् । यसमा सवार यात्रीलाई अर्को जहाजबाट दुबई पठाइएको छ ।
आईएक्स-६११ ले बिहीबर राति साढे १ बजे त्रिचीबाट दुबईका लागि उडान भरेको थियो । दुर्घटनाको चार घण्टापछि शुक्रवार बिहान ५.३० बजे मुम्बई एयरपोर्टमा यसको आपतकालिन अवतरण गराइयो ।
एयर इन्डियाका अनुसार त्रिची एयरपोर्टका अधिकारीले पाइलटलाई उडान क्रममा उचाई कम हुँदा विमानको पखेटा भित्तामा र एटिसीको एन्टेनामा ठोक्किएको बताएका थिए ।
पाइलटले भने जहाजको सिस्टम पुरै ठीक रहेको जबाफ दिएका थिए । त्यसपछि यस जहाजलाई मुम्बईमा उतारियो । एयरलाइन्सले जाँच नसकिउन्जेलका लागि पाइलट र को-पायलटलाई ड्यूटीबाट हटाइदिएको छ ।
भारतका नागरिक उड्डयन मन्त्री सुरेश प्रभुले ट्वीट गर्दै भनेका छन्, 'एयर इन्डियाले जाँचका लागि कमिटी बनाएको छ। यसको अलावा डीजीसीएका अधिकारी विमान र त्रिची एयरपोर्टमा पनि जाँचमा जुटेका छन् ।'
प्रभुले एयर इन्डियाको वर्तमान सुरक्षा व्यवस्थाको समीक्षापछि तेस्रो पक्षलाई सुरक्षाको जिम्मेवारी सुम्पिन पनि निर्देशन दिएका छन् ।