क्याप्टेन थापाको नेतृत्वमा हेलिकोप्टर सोसाइटी
काठमाडौं : हवाई सुरक्षालाई अन्तर्राष्ट्रिय मापदण्डबमोजिम स्तरीय, विश्वसनीय र दुर्घटनारहित बनाउने मूल उद्देश्यका साथ क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा‘हेलिकोप्टर सोसाइटी अफ नेपाल’गठन भएको छ।
सिम्रिक एयरका अध्यक्षसमेत रहेका क्याप्टेन थापा रेस्क्यू पाइलटका रूपमा चर्चित छन्। हवाई सुरक्षा र व्यवसायप्रति सचेत व्यक्तित्वका रूपमा परिचित थापा यसअघि वायु सेवा सञ्चालक संघमा दुई कार्यकाल अध्यक्ष भएका थिए।
सोसाइटी कार्यसमितिको उपाध्यक्षद्वय पर्यटन व्यवसायी एवं यती एयरलाइन्सका प्रबन्ध निर्देशक तथा एयर डाइनेस्टीका अध्यक्ष आङछिरिङ शेर्पा र मनाङ एयरका कार्यकारी अध्यक्ष सतिश प्रधान छन्। महासचिवमा हेली एभरेस्टका प्रमुख कार्यकारी अधिकृत योगराज शर्मा कँडेल, कोषाध्यक्षमा हेली एभरेस्टकै प्रबन्ध निर्देशक जनक थापा छन्।
सोसाइटीको कार्यसमिति सदस्यमा अल्टिच्युड एयरका अध्यक्ष निमानुरु शेर्पा, प्रभु हेलिकोप्टरका प्रबन्ध निर्देशक विनोद थकाली, सिम्रिक एयरका प्रबन्ध निर्देशक क्याप्टेन सिद्धार्थजंग गुरुङ र श्री एयर हेलिकोप्टरका कर्पोरेट प्रबन्धक अनिल मानन्धर छन्।
सोसाइटी कम्पनी रजिस्ट्रार कार्यालयमा असोज २२ गते दर्ता भएको हो। कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा १ अनुसार दर्ता भएको सोसाइटी मुनाफारहित संस्था हो। यो संस्थाले हवाई सुरक्षा, सुरक्षित हेलिप्याड निर्माण एवं दक्षता अभिवृद्धि गर्न सरकार र निजी क्षेत्रलाई सहयोग गर्ने उद्देश्य राखेको छ।
हवाई क्षेत्रको वातावरणलाई व्यवस्थित र नियमनकारी निकायसँग अन्तक्र्रिया गर्ने गरी यसले आवश्यक भूमिका खेल्ने महासचिव कँडेलले बताए।
यो संस्थाले नेपाल सरकारको नीतिभित्र रहेर हवाई उड्डयन तथा पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने, हवाई क्षेत्रको संरक्षण, प्रवद्र्धन, प्रचारप्रसार तथा विकासमा सघाउ पुर्याउने तथा उड्डयनको महत्व र विकासबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्य राखेको छ।
सोसाइटीले हेलिकोप्टर कम्पनी एवं सेवा क्षेत्रअन्तर्गत आर्थिक, सामाजिक, शैक्षिक, ऐतिहासिक विषयको महत्व र विशेषताबारे जानकारी गराउन आवश्यक पहल गर्नेछ। यस क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्व एवं प्रतिभाको कदर गर्ने, हेलिकोप्टरसँग सम्बन्धित क्षेत्रको सदुपयोग, संरक्षण र सम्वद्र्धनमा सघाउने लक्ष्य छ। यसका लागि विभिन्न कार्यक्रमको आयोजना, उत्सव, महोत्सव, गोष्ठी, छलफल, प्रकाशन र बिक्रीवितरणको काम गरिने कँडेलले बताए।
सोसाइटीले हेलिकोप्टर प्रयोग गरी सेवामा लागेका कम्पनी एवं व्यक्तिको हकहित संरक्षणका लागि निरन्तर प्रयास गर्ने उद्देश्य पनि राखेको छ। यस क्षेत्रको विकासका लागि आवश्यक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने सोसाइटीको लक्ष्य छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको सहकार्य एवं सहयोगमा विभिन्न सभा, सम्मेलन, अन्तक्र्रिया गर्ने उद्देश्य पनि अगाडि सारेको छ।
हवाई क्षेत्रसँग सम्बन्धित व्यवस्थापकीय सुरक्षा अभिवृद्धि तथा सुधार गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हातेमालो गर्ने उद्देश्य सोसाइटीको छ। विभिन्न पर्यटन व्यवसाय, हवाई उड्डयन क्षेत्र र हवाई सुरक्षा विषेशज्ञतासम्बन्धी काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, व्यक्ति, परामर्शदातासँग सहकार्य गरी यसले विभिन्न गतिविधि सञ्चालन गर्ने उद्देश्य पनि लिएको छ।
नेपालमा हेलिकोप्टरको भूमिका महतवपूर्ण रहँदै आएकोमा केही समयअघि फेक रेस्क्यू (नक्कली उद्धार) जस्ता गलत क्रियाकलापमा हेलिकप्टरलाई दोषी देखाइएको कँडेलले बताए। यी अवस्थाबारे आम नेपाली, विदेशी पर्यटक, बिमा कम्पनी, अन्य सम्बद्ध निकाय र नेपालका सम्पूर्ण एजेन्सीसमक्ष स्पष्ट पार्ने प्रयास सोसाइटीले गर्नेछ।
‘सोही मुताबिक हेलिकोप्टर सेवा प्रदायक कम्पनी एकजुट भई काम गर्नुपर्ने आवश्यकता भएकाले हेलिकोप्टर सोसाइटीको जन्म भएको हो,’ कँडेलले भने।