'विदेशीसँग मागेर देश बन्दैन'
पोखरा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विदेशीसँग मागेर अब देश चल्न नसक्ने बताएका छन्।
युवालाई आत्मनिर्भरताका लागि उद्यमशील हुन र उत्पादनमा लाग्न अनुरोध गर्दै मन्त्री गुरुङले अब माग्ने मानसिकताले समृद्धि प्राप्त गर्न नसकिने बताएका हुन्।
नेपालीले सबैभन्दा धेरै गफ गर्न र भाषण गर्न मात्र जानेको भन्दै उनले अबयस्तो पाराले विकास र समृद्धि सम्भव नहुने बताए।
विकास र समृद्धिका लागि युवा उत्पादनसँग जोडिनुपर्ने उनको भनाइ छ। त्यसका लागि राज्यले अधिकार दिएको उनले सुनाए। ‘देशको विकास र समृद्धिका लागि सबैले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर कमाएर राज्यलाई कर तिर्नुपर्छ’, उनले भने।
पोखराको बैदाममा पर्यटन व्यवसायीको लागनीमा सञ्चालित रानीवन बचत तथा ऋण सहकारी संस्था लिको पाँचौं वार्षिक साधारण सभामा बोल्दै मन्त्री गुरुङले कर छल्न पाए, दिन नपरे हुन्थ्यो भन्ने मानसिकता सबैले त्याग्नुपर्ने बताए।
मन्त्री गुरुङले बैंक, सहकारीले जग्गा धितो राखेर ऋण दिने परम्पराबाट मुक्त भएर अब प्रोजेक्ट, योजना हेरेर लगानी गर्न सुझाए। विकसित देशहरुमा ऋण दाताले प्रोजेक्ट हेरेर ऋण दिने र प्रोजेक्ट डुब्नबाट बचाउन प्राविधिक सहयोगसमेत दिएर प्रोजेक्ट सफल बनाउन लाग्ने सुनाए।