नुवाकोटमा बस पल्टियो, तीनको मृत्यु, ४४ घाइते (अपडेट)
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको सूर्यगढी गाउँपालिकामा शुक्रबार यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
नुवाकोटकै समुद्रटारबाट बट्टारतर्फ जाँदै बा १ ख ६३५५६ नम्बरको यात्रु बस सूर्यगढी गाउँपालिका-५ बाह्रबीसेमा सडकबाट एक सय मिटर तल खस्दा यात्रु पञ्चकन्या गाउँपालिका खप्रेसकी ३२ वर्षीय मीनु तामाङ, चितवनको मुग्लिङका ५७ वर्षीय बलराम तिवारी, र पञ्चकन्या गाउँपालिका ५९ वर्षीय भगवान कँडेलको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक नरेश महतोका अनुसार घटनामा अरु ४४ यात्रु घाइते भएका छन्।
घाइतेमध्ये १० जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ भने अन्यको नुवाकोटमै उपचार भइरहेको छ । साँघुरो सडकमा क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।