दसैं आयो, के गर्ने ?
भाइबहिनीहरू, तिमी हामी सबैले प्रतीक्षा गरिरहेको बडादसैं घरआँगनमै आइसकेको छ। दसैंको स्वागत गर्दै धेरैले आआफ्ना घरमा जमरा पनि राखिसकेका छन्। विजया दशमीका दिन यही जमरासहित टीका लगाएर ठूलाबडाबाट आशीर्वाद लिने गरिन्छ। आशीर्वाद मात्रै होइन, तिमीहरूले त दक्षिणा पनि पाउँछौ नि। तर त्यो दक्षिणा हात पर्नासाथ चकलेट, चिजबल, कुरकुरेजस्ता जंक फुडमा सिध्याउनु भने हुँदैन। यस्ता खानेकुरा निकै अस्वस्थकर हुन्छन्। यिनले शरीरमा नुनको मात्रा बढाउँछ र सानै उमेरदेखि केटाकेटीमा मिर्गौलामा असर गर्दै जान्छन्। प्रजनन उमेरका किशोरकिशोरीमा पनि यस्ता जंक फुडले प्रजनन स्वास्थ्यमा पनि खराब गर्छ।
सकेसम्म खानेकुरा घरकै खानुपर्छ। घरमा आमा, हजुरआमा र दिदीले बनाएका खानेकुराको स्वाद नै अर्कै हुन्छ। दसैंमा बनाइने मासु, चिउरा, तरकारी र अचारले स्वास्थ्यलाई पनि फाइदा हुन्छ। चिउरा चपाउन गाह्रो मान्ने भाइबहिनीले पुलाउ वा सादा खानाका साथ पनि खान सक्छन्।
दसैंमा पाउने दक्षिणाको सानैदेखि बचत गर्ने बानी बसाल्नुपर्छ। दसैं तिहारलगायतका चाड पर्वमा जोगाएर राखिएको पैसाले भविष्यमा सानोतिनो गर्जो नै टार्न सकिन्छ। अरू चाडपर्वका पनि त्यसैमा जम्मा गर्ने हो भने भोलि त्यसले तिमीहरूको उच्च शिक्षामा पनि सघाउन सक्छ।
भाइबहिनीहरू धेरैको बिदा पनि सुरु भइसक्यो होला। बिदामा अरूले चंगा उडाएको देख्दा तिमीहरूलाई पनि उडाउन मन त लाग्ला नै। तर चंगा उडाउँदा होसियार भने हुनुपर्छ है। दसैं तिहारमा चंगा उडाउँदा
छतबाट लडेर घाइते मात्रै होइन, मृत्यु नै भएका घटना पनि हामीले धेरै सुनेका छौं। त्यसैले जहिले पनि सुरक्षित स्थानमा बसेर मात्रै चंगा उडाउनुपर्छ।
हुन त तिमीहरूमध्ये धेरैले विद्यालयमा दिनदिनै पिङ खेल्ने गरेका होलाऊ। तर लिंगे पिङको मज्जा भने दसैं तिहारमा मात्रै लिन पाइन्छ। विभिन्न क्लब तथा संघसंस्थाले टोलटोलमा र सहरभित्रका ठूला चौरमा यस्ता पिङ हालिदिने चलन छ। पिङ खेल्न जाँदा आफ्नो पालो कुर्ने बानी बसाल्नुपर्छ। पिङ खेल्दा पनि धेरै माथि मच्चाउनु हुँदैन। लडिने डर धेरै हुन्छ।
बिदामा घुम्न निस्किनु पर्छ
विनय कसजू
सम्भव भएसम्म लामो बिदाको सदुपयोग गर्न टाढा घुम्न जानुपर्छ। हाम्रै देशभित्र पनि यस्ता थुप्रै घुम्ने ठाउँहरू छन्। घुम्न निस्किँदा प्रकृतिसँग विचरण गर्न पाइन्छ। नयाँनयाँ कुराहरू देख्न पाइन्छ। नयाँ ठाउँको भाषा चालचलन आदिका बारेमा सिक्न पाइन्छ। सहरमा बस्ने कतिपय भाइबहिनी गाउँ जाने गरेका छन्। घर बाहिर गएर जे कुरा सिकिन्छ, घरमा बसेर र किताब पढेर त्यति कुरा सिक्न सकिन्न।
सहरका भाइबहिनीलाई हामीले दैनिक उपभोग गर्ने सामान कहाँ र कसरी उत्पादन हुन्छ भन्ने थाहा हुँदैन। गाउँघरमा गाईभैंसीले दूध दिएको, कुखुराले अन्डा पारेको, बोटैमा केरा पाकेको, फलफूल, अन्नपात, तरकारी फलेको देख्न र टिप्नसमेत पाइन्छ। ढिकी, जाँतोजस्ता परम्परागत सामान देख्न पाइन्छ। यसले कुहिराको काग बन्नु पर्दैन। प्रकृतिको महत्वसमेत थाहा हुन्छ। जीवनको वास्तविकता बुझ्नकै लागि पनि गाउँ भ्रमण गर्नै पर्ने हुन्छ। यदि टाढा घुम्न जाने अवसर मिलेन भने आफन्त, नातागोताका घरमा जानुपर्छ। यसले पारिवारिक सद्भाव बढाउँछ।
घुम्न जाने अवसर नमिलेमा छोटो अवधिका कोर्सहरू सिक्नुपर्छ। संगीत, नृत्य, लेखन, चित्रकला आदिका साप्ताहिक पाक्षिक कोर्स सिकेरसमेत बिदाको सदुपयोग गर्न सकिन्छ। यसले ज्ञानको क्षेत्र फराहिलो बनाउँछ। त्यसैगरी आफूलाई रुचि लाग्ने कथा, कविता, निबन्धलगायतका साहित्यिक पुस्तकहरू पनि पढेर ज्ञान र मनोरञ्जन प्राप्त गर्न सकिन्छ। यसले हाम्रो भाषालाई राम्रो बनाउँछ। साथै लेखनमा पनि सुधार ल्याउँछ।