नानीबाबुसँग सीमाविद् बुद्धिनारायण श्रेष्ठका मनका कुरा

नानीबाबुसँग सीमाविद् बुद्धिनारायण श्रेष्ठका मनका कुरा

हिजोआज कतिपय बाबुआमा आफ्ना नानीबाबुको गृहकार्य गरिरहेका हुन्छन्। भाइबहिनीहरू अभिभावकले लेखेका कविता सुनाइरहेका हुन्छन्। यस्तो बानी ठीक होइन। मेरो जन्म ओखलढुंगा बजारमा भएको हो। मैले मातृवात्सल्यको खासै अनुभव गर्न पाइनँ। म अढाई वर्षको हुँदा बहिनी जन्मिएर साल, नाल नखसेपछि आमाको मृत्यु भएछ। त्यस बेला धामीझाँक्रीको भर पर्ने चलन थियो। औषधि र डाक्टरको चलन नै थिएन। मेरो बुवाको माल अड्डामा जागिर थियो।

२००७ सालको क्रान्तिमा बडाहाकिमले सबै कर्मचारीलाई टुँडिखेलको भित्तामा राखेका थिए। त्यही बेला नेपाली कांग्रेस र नेपाली सेनाको युद्ध हुँदा मेरा बुवाको गोली लागेर मृत्यु भयो। म नौ वर्षको मात्रै थिएँ। त्यसपछि म मावली बाजे जगतबहादुर राजभण्डारीको रेखदेखमा हुर्किएँ। उहाँ ओखलढुंगाको नामी व्यापारी हुनुहुन्थ्यो। त्यस बेला सयौं भरियाले काठमाडौंबाट सामान बोकेर ओखलढुंगा लैजान्थे।

हाम्रो पालामा जुत्ताचप्पल लगाउने चलन थिएन। हामी लामो दौरा लगाएर हिँड्थ्यौं। सुरुवाल पनि केटाकेटीले लगाउँदैनथे। दसैंको फूलपातीका दिन बडा हाकिमको भन्दा माथि कोतमा निशान पूजा हुन्थ्यो। सात वर्ष छँदा मैले पनि दौरा सुरुवाल, टोपी र स्थानीय सार्कीले सिलाएको जुत्ता लगाएर रमिता हेर्न जाने मौका पाएको थिएँ। १५ मिनेट उकालो र १५ मिनेट ओरालो हिँड्दा मेरा गोडामा फोका उठेर फुटेछन्। त्यो घाउ च¥याएको आज पनि सम्झिन्छु।

ओखलढुंगामा २००६ सालमा आधारभूत स्कुल खुलेको थियो। गुरुहरू ईश्वरीप्रसाद पोख्रेल र सूर्यप्रसाद गुरुलाई पातको टपरीमा चामलमाथि बलेको दियो र छेउमा पाँच पैसाको ढ्याक राखेर भेटी चढाएको सम्झना ताजै छ। उहाँहरूले हामीलाई कपुरी क, खरायो ख, हात भाँच्यो ल, गोरुसिंगे ल, निगुरमुन्टे न भन्दै पढाउनुहुन्थ्यो। २००८ सालमा दार्जिलिङबाट आएका छिरिङ दोर्जेले अंग्रेजी पढाउन सुरु गरे। ‘क्लारन्डन फस्ट बुक’ भन्ने किताब पढाइन्थ्यो। पछि हावा, पानीको मापन गर्न बसेका पद्मराज वैद्यले पनि अंग्रेजी पढाउनुभयो। त्यस बेला मेरो पढाइ देखेर बाजे निकै खुसी हुनुभयो। कसैकसैले अंग्रेजीलाई गाई खान सिकाउने विद्या भनेर विरोध पनि गर्थे।

ओखलढुंगामा आकाशवाणी आएको थियो। त्यसमा काम गर्ने अपरेटरहरूले पनि हामीलाई अंग्रेजी पढाउँथे। आकाशवाणीमा बोल्दा ओखलढुंगाबाट ‘हेल्लो ! सिक्सटिन जर्ज कलिङ, सिक्सटिन जर्ज कलिङ’ भन्थे। काठमाडौंबाट ‘किङ ओभर’ भन्थे। ‘सिक्सटिन जर्ज’ भनेको ओखलढुंगा रहेछ। २०१३ सालमा ओखलढुंगामा राजाको सवारी भयो। हामी पनि फूल लिएर लाम लागेर बस्यौं। ठूलो ह्याट, चस्मा लगाएर अघिपछि सेनाको जत्था लिएर हिँडेका राजालाई देख्दा हजुरबाले भन्ने गरेका विष्णुका अवतार नै पो हुन् कि भन्ने लाग्यो। पछि कुरा बुझ्दै जाँदा उनी पनि हामीजस्तै सामान्य मान्छे पो रहेछन्।

गणेश चौथीका दिन हामी काँक्रा चोरेर खान्थ्यौं। त्यतिमात्र होइन, काँक्राधनीका आँगनमा लगेर काँक्रा काटेर छरिदिन्थ्यौं। त्यस दिन उपद्रो गर्दा अपराध लाग्दैन भन्ने चलन थियो। एक सालको गणेश चौथीमा वीरबहादुर अजाको घरको देलौमा सिस्नाको मुठो झुन्ड्यायौं। भोलिपल्ट बिहान दैलो खोलेर निस्किँदा अजीको अनुहार ठोक्किएछ। सिस्नाले पोलेर सुन्निएछ। हामी अलिअलि डरायौं अनि आफ्नो काम पूरा भएकोमा खुसी पनि भयौं। मैले कक्षा २ मा प्रथम हुँदा पुरस्कारबापत एटलस पाएको थिएँ। साथै मलाई एकैपटक कक्षा ४ मा भर्ना गरियो। म एटलस पढिरहन्थेँ। जर्मनीलाई गर्मनी भन्दै पढ्दो रहेछु। यो कुराले मलाई सिकाइका गुरुको पनि आवश्यकता पर्दो रहेछ भन्ने कुरा थाहा भयो। ओखलढुंगामा कक्षा ८ सम्म मात्रै पढ्न पाइन्थ्यो। अरू विद्यालय थिएनन्। हामी भीमबहादुर        श्रेष्ठ, नारायणबहादुर श्रेष्ठ र म २०१४ सालमा काठमाडौं आयौं। तीनजना भरियासहित आएका हामीलाई आठ दिन लागेको थियो। सुनकोसी, तामाकोसी र लिखुमा पुल थिएनन्। हामी डुंगाबाट त¥यौं। रोसी खोलामा भने वारिपारी गर्दै १७ ठाउँमा खोला तरेर उकालो लागेको सम्झना छ।

काठमाडौंमा हामी धोबीधारा नजिकै डेरा लिएर बसेका थियौं। त्यस बेला रायोको साग पाँच पैसामा पाइन्थ्यो। चामल किन्न असन पुग्नुपथ्र्यो। हाम्रा साथी नारायणबहादुरले अल्छी गरेर चिउरा र अन्डा खुवाउँथे। हामी तीनै जनाले एकैपटक कक्षा १० मा भर्ना हुने योजना बनाएका थियौं। भीमप्रसाद र मैले वनस्थली विद्या श्रममा टेस्ट दियौं र कक्षा १० मा भर्ना भयौं। नारायण पनि टेस्ट दिएर पद्मोदयमा कक्षा १० मै भर्ना भए। मैले कक्षा १० बाटै एमएसम्म भूगोल विषय लिएर पढेँ। अध्ययनताका हामी बेखर्ची भएर हिँडेका थियौं। २०२२ सालबाट नापी विभागमा जागिर सुरु गरेँ र २०४९ सालमा महानिर्देशकबाट रिटायर भएँ।

२०२० सालमा बीए पढ्दापढ्दै कन्या मन्दिरमा भूगोल पढाउँथेँ। त्यस बेलाका कन्ट्रोलरले २०२० सालको एसएलसी परीक्षा सञ्चालन गर्न भोजपुर पठाए। मैले विगतका परीक्षाभन्दा राम्रोसँग सञ्चालन गरेको थिएँ। त्यसपछि डेढ महिनाजति ओखलढुंगा बसेँ। बडाहाकिमले मलाई हेडमास्टर बनाउन आँटेको गाइँगुइँ सुनेपछि म सुटुक्कै काठमाडौंतिर लागेँ। मलाई एमए पढ्ने औधि रुचि थियो। एक वचन पनि नसोधी हिँडेकाले मलाई निकै पछुतो भयो। मैले २०५७ सालमा मदन पुरस्कार पाएपछि त्यही रकमको ब्याजले हुने गरी म पढेको विद्यालयमा सीमा छात्रवृत्ति दिँदै आएको छु।

मलाई सानैदेखि मेहेनत गरेर पढ्दा ठूलो मान्छे भइन्छ भन्ने छाप परेको थियो। बडाहाकिम बन्न पनि पढ्नुपर्छ भन्ने बुझेको थिएँ। पढाइमा सानैदेखि मेहेनत गर्थें। हामीले सानैदेखि आफ्नो रुचिअनुसारको अध्ययनमा ध्यान दिनुपर्छ। यसले भविष्यको बाटो स्पष्ट हुँदै जान्छ। जे काम गरिन्छ, त्यसमा दत्तचित्त भएर लाग्नुपर्छ। तर, त्यसको दायाँबायाँ पनि ख्याल गरिएन भने एकोहोरो भइन्छ। खेल्दासमेत ध्यान दिएर लागेन भने पछि परिन्छ। पढेर मात्र सिकिँदैन। अतिरिक्त क्रियाकलापमा समेत सहभागी हुने बानीले रचनात्मक बनाउँछ।

आफ्नो काम आफैं गर्ने बानीले जिम्मेवार बनाउँछ। हिजोआज कतिपय बाबुआमा आफ्ना नानीबाबुको गृहकार्य गरिरहेका हुन्छन्। भाइबहिनीहरू अभिभावकले लेखेका कविता सुनाइरहेका हुन्छन्। यस्तो बानी ठीक होइन। हामीले ठूलो मान्छे बन्नेभन्दा पनि असल मान्छे कसरी बन्ने भन्नेमा सधैं ध्यान दिनुपर्छ।

(सीमाविद् श्रेष्ठसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित )


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.