दसैं खर्च जोह गर्न च्याउ खोज्न जंगलतिर
बेसीसहर : दसैंको चहलपहलले झ्याप्पै छोपेको भएपनि लमजुङका ग्रामीण भेगका बासिन्दा खर्च जुटाउन च्याउको खोजीमा जंगल पस्न थालेका छन्। उत्तरी भेगमा पर्ने सिउरुङ, ताघ्रिङ, घेर्मु, ढगैं, सिलढुंगा र उस्तालगायतका गाउँका बासिन्दा असोज पहिलो साताबाटै लेक पसेका हुन्। यो जंगली च्याउ टिप्ने मुख्य सिजन पनि हो।
वर्षमा एक पटक मात्रै यस्तो मौका आउने भएकाले केटाकेटीदेखि बुढाबुढी लेकतिर लागेका छन्। दसैं नजिकै आएपनि यतिबेला त्यस क्षेत्रका बासिन्दामा घरको कामभन्दा पनि जंगलमा च्याउ टिप्ने चटारो छ । 'वर्षमा एक पटक मात्र आउने मौका किन गुमाउने, सिउरुङका उमरजंग गुरुङले भने, 'दसैं खर्च पनि हुने, स्वाद फेर्न पनि पाइने।'
घरबाट लगेको मकैभट्टको सातु, सिन्कीको अचार, आलु र चामल खाएर तीन-चार दिनसम्म लेकमा च्याउ संकलन गर्ने गरिन्छ। सक्नेहरु यो सिजनमा चारपटकसम्म लेक पुग्छन्। एक पटकमा ३० देखि ४० किलोसम्म च्याउ संकलन गर्न सकिने घेर्मुका कामसार्की गुरुङ बताउँछन्।
जंगलबाट ल्याएको च्याउ पाथीको नौ सयमा बिक्री हुने गरेको छ। सहरबजारबाट अत्याधिक माग आएकाले एक परिवारले १५ देखि २० हजारसम्म आम्दानी गर्न सक्ने गुरुङ बताउँछन्।
'दुई-तीनजना गए भने २० हजार भन्दा बढी कमाउन सकिन्छ, सिउरुङ गाउँकी गौरी गुरुङले भनिन्, 'हरेक वर्ष च्याउ बेचेरै गाउँलेले दसैं मनाउने गरेका छन्।' च्याउ बेचेको पैसाले केटाकेटीलाई लुगाफाटो र मासु किन्ने गरेको गुरुङले बताइन्।
कसैकसैले मासुको विकल्पमा दसैंमा यही च्याउ खाने गर्छन्। च्याउ टिप्न गाउँलेहरु खिलापु, सिम्ले, पल्याङ, बाह्रपोखरी र कोप्रो लेकका जंगलमा पुग्छन्। च्याउ टिप्ने काम जोखिम र दुःख भएपनि सबैजना एकै थलोमा जमघट हुने र आम्दानी पनि राम्रै हुने भएकाले रमाइलो लाग्ने सिउरुङकी बनमाया गुरुङले बताइन् ।
'जंगल नै गाउँजस्तो लाग्छ यो बेला, वनमाया भन्छिन्, 'गीतका भाकासँगै च्याउ खोज्दा दुःखको अनुभव नै हुँदैन।' यो सिजनमा टिपेको च्याउ सुकुटी बनाएर हिउँदमा तरकारीका रुपमा खाने तथा इष्टमित्रका लागि कोसेली पठाउने पनि गरिन्छ।
यो सिजनमा पाइने रातो, सेतो र पहेलो च्याउमा प्रशस्त प्रोटिन र चिल्लोको मात्रा कम हुने भएकाले स्वास्थ्यका दृष्टिले अति उपयुक्त हुने आर्युबेदका चिकित्सक बताउँछन्।
यस्तै करिब १६ सय मीटरदेखि ३ हजार मीटरसम्मको उचाईमा पुगेर निगालोको टुसा खोजेर बिक्री गरी दसैं खर्च बनाउने पनि उत्तिकै छन्। गाउँगाउँबाट खर्च भराएर सर्वसाधारण गोठमा बस्ने गरेको बाह्रपोखरीको बेसीमा गोठ भएका मुक्तिलाल तामाङले बताए।
लेकमा भाँचिएका टुसा सदरमुकाम बेसीसहरलगायतका सहरमा बेच्नका लागि गाउँले झर्ने गर्दछन्। उनीहरुले प्रति मुठा ६० देखि १०० रुपैयाँमा बेच्ने गर्दछन्।