कांग्रेस के रोज्छ ? अवसान वा परिवर्तन ?
सबैभन्दा लामो आयु भएको चील करिब ७० वर्षसम्म बाँच्न सक्छ, तर आफ्नो पूरै आयु जिउन ४० वर्ष पुग्नै लाग्दा उसले कठोर निर्णय लिनुपर्ने हुन्छ। त्यतिबेला उसका नंग्रा लामो भएर घुम्रिएका हुन्छन्, चुच्चो लामो भएर घुम्रिन्छ। त्यसैले खानेकुरा ठुंग्न र खान नसक्ने हुन्छ। पखेटा, छाती तथा अन्य भागका प्वाँख गह्रुँगो भएर राम्रोसँग उड्नसमेत नसक्ने हुन्छ। त्यतिबेला चीलसँग दुइटा मात्र विकल्प रहन्छ, यत्तिकै मर्ने वा एउटा लामो पीडादायी प्रक्रियाबाट आफूलाई रूपान्तरण गर्ने।
धेरै चील पीडादायी परिवर्तनको बाटो हिँड्दैनन्। त्यसैले अल्पायुमै सकिन्छन्। कतिपयले भने पीडादायी परिवर्तनको बाटो रोज्छन्। परिवर्तन रोज्ने चील उडेर चट्टानी पहाडमा जान्छ र चट्टानमा आफ्नो चुच्चो र नंग्रा हिर्काउन थाल्छ। लामो समयसम्म निरन्तर चट्टानमा ठुँगेर र हिर्काएर घुम्रिएको चुच्चो र नंग्रा झार्छ। त्यसपछि नयाँ चुच्चो र नंग्रा पलाउँछ। फेरि चुच्चो र नंग्राले तानेर आफ्नो भारी भएको प्वाँख पनि एक-एक गरी उखेल्छ। त्यसपछि उसले पुनर्जन्म पाउँछ र बाँकी ३० वर्ष आरामले बाँच्छ।
नेपाली कांग्रेस पनि अहिले त्यस्तै निर्णय लिनुपर्ने अवस्थामा आइपुगेको छ। अहिले कांग्रेसको चुच्चो, नंग्रा लामो भएर घुम्रिएका छन्। त्यसैले ती भुत्ते भएका छन्। कांग्रेसको प्वाँख बढेर भारी भएका छन्। यतिबेला कांग्रेसको अगाडि पनि चीलको जस्तै दुइटा मात्र बाटो बाँकी छ- सकिने वा आपूmलाई पीडादायी परिवर्तनको बाटोमा लगेर रूपान्तरण गर्ने।
२०१७ सालमा काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइरालाले भनेका थिए, ‘प्रजातन्त्रको भावना र संस्थाहरूको कल्पवृक्षको सानो बिरुवा हुर्काउन सतर्कता, सावधानी र तपस्याको भावनाका साथ निरन्तर प्रयास गरिनुपर्छ। हामीले केही वर्षका लागि स्थानीय भावनालाई पूर्णतया त्याग्नुपर्छ र देशको आर्थिक विकासको आधार निर्माण भइरहेको समयमा केवल राष्ट्रिय दृष्टिकोण अपनाउनुपर्छ।’
त्यसयता करिब ६ दशक पूरा हुन लागेको छ। तर नेपालमा न प्रजातन्त्रको भावना न यसको कल्पवृक्ष नै हुर्कन सकेको छ। यसका लागि राजनीतिक दलहरूको प्रतिबद्धता, सतर्कता र तपस्या पनि देखिँदैन। बीपीकै पार्टी कांग्रेस पनि यस मामिलामा कैयौं ठाउँमा नराम्ररी चुकेको छ। दलीय वा निजी स्वार्थका लागि न्यायपालिकामाथि ठाडो हस्तक्षेप, प्रहरीभित्र तीव्र राजनीतीकरण, अलोकतान्त्रिक पार्टी पद्धति तथा प्रणाली, असान्दर्भिक विचार र विचारशून्य र जवाफदेहिताविहीन नेतृत्व हेर्दा कांग्रेस साँच्चै चालीसबर्से चील भएको छ- भुत्ते र भारी।
बीपीको आदर्शलाई इतिहासको साँघुरो गल्लीमा अलपत्र छाडेर कांग्रेस आफैं अलपत्र परिरहेछ- दिशाविहीन, गन्तव्यविहीन।
बदलिँदो समाजलाई ध्यान नै नदिने, पुराना चिन्तन र विचार छाड्न नसक्ने, विश्व परिदृश्यमा बदलिँदै गरेको सूचना प्रविधि, आर्थिक प्रणाली, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणबारे लगभग अनभिज्ञ नेतृत्वले आफूलाई परिवर्तनको बाटोमा अगाडि बढाएको देखिन्न। बदलिँदो परिदृश्यमा देशको तीव्र आर्थिक विकासका लागि नवउदारवादी दृष्टिकोणभन्दा पर पुगेर आफ्नै मौलिक राष्ट्रिय दृष्टिकोण निर्माण गर्न सकेको छैन। पद, पद र पदभन्दा पर पुगेर सोच्न छाडेका विचारशून्य नेताले पार्टीलाई पीडादायी परिवर्तनको बाटोमा लगिरहेका छैनन्, बरु अवसानसँग आत्मसमर्पणको सजिलो बाटो रोजेका छन्। यही प्रवृत्ति र गति बढ्दै जाँदा उनीहरूसँगै पार्टी नै सकिने अवस्था आएको छ।
बीपीको प्रजातान्त्रिक समाजवाद अहिले भाषणमा सीमित छ जबकि त्यसयता समाज निकै बदलिएको छ। उनले आफ्नो कालखण्डलाई विश्लेषण गरेर विकास गरेको आर्थिक दृष्टिकोणबारे समयसापेक्ष बहस गरेर परिमार्जन गर्नुलाई आजको नेतृत्व आफ्नो जिम्मेवारी ठान्दैन। लोकतन्त्रको महत्व के हो ? त्यो हरेक व्यक्तिको जीवनमा कसरी जोडिएको छ र त्यसको सान्दर्भिकता के छ भनेर प्रशिक्षित गर्नु दायित्वभित्र राख्दैन। बरु छिटोछिटो परिवर्तन भइरहने राजनीतिक दृश्य र सत्ताकै पछाडि आफैं दौडिन्छ। यतिबेला कांग्रेसले न त इतिहासको अनुभव सन्तुलित ढंगबाट युवा पुस्तालाई प्रवाह गर्न सकेको छ न आफैंले त्यसलाई बुझ्न सकेको छ। परिणाम, राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका खुम्चिँदै गएको छ। ‘विपन्नलाई आय र निमुखालाई न्याय’ भन्ने बीपीको आदर्शलाई इतिहासको साँघुरो गल्लीमा अलपत्र छाडेर कांग्रेस आफैं अलपत्र परिरहेछ- दिशाविहीन, गन्तव्यविहीन।
आफैंले गराएको निर्वाचनमा लज्जास्पद हार कांग्रेसको ठूलो असफलता हो। तर पार्टी सभापति र प्रधानमन्त्री दुवै आफैं हुँदा भएको निर्वाचनको लज्जास्पद हारको जिम्मेवारी एक अंश लिन पनि सभापति तयार छैनन्। उनका आसेपासे पार्टी नेतृत्व ऊर्जाशील व्याख्या गरिरहेका छन्। पार्टीले विगतमा सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा गरेका गल्तीलाई एकएक गरी खोतल्ने र त्यसको दिगो समाधान खोज्ने हिम्मत उनीहरूमा छैन। कांग्रेसका तर्फबाट विगतमा भएका हरेक गल्ती र त्यसका खास कारण खोतल्ने साहस पनि राख्दैनन्। बदलिँदो विश्व परिवेशसुहाउँदो नीति तथा रणनीति बनाउने जाँगर पनि देखाउँदैनन्। बस्, पार्टी सत्ता कब्जा गरेर बसिरहेछन्।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताले कांग्रेस कमजोर भएको होइन। यसका केही खास कारण छन्। यी कुनै पनि कारण एकाएक उब्जिएका होइनन्। ‘म हरेक नेपाली नागरिकलाई १५ वर्षभित्र आफूजस्तै बनाउन चाहन्छु’ भन्ने बीपी कोइरालाको दर्शनलाई चटक्कै भुलेर नेतृत्व तह सत्ता, शक्ति र सुविधाभोगी बन्दै जाँदा यस्ता समस्या उब्जिएका हुन्। २० वर्षभन्दा बढी सत्ता चलाउँदा पनि देशका विपन्न जनताको जीवनमा कुनै परिवर्तन आउन सकेन। पार्टीभित्रै सांगठनिक तहमा नातावाद र कृपावाद हावी हँदै गयो।
नेपाली कांग्रेसले अहिले समाजको लोकतन्त्रीकरणका लागि आवश्यक योगदान गर्न सकिरहेको छैन। लोकतन्त्रको संस्थागत विकास गर्न आवश्यक त्याग, तपस्याबाट कांग्रेस चुकिसकेको छ। कांग्रेसका कार्यकर्तादेखि नेतृत्वसम्मलाई शीघ्र परिणाम खोज्ने रोग लागेको छ। त्यसैले गुट, उपगुट र भागबन्डा कांग्रेसको परिचय बनेको छ। इतिहासमा प्राप्त सुनौलो जनमत उपयोग गर्न कांग्रेस चुकेको छ। तल्लो तहका नागरिकको मतबाट ठूलो पार्टी बनेपछि नेताहरूले आपूmलाई सम्भ्रान्तको घेरा र स्वार्थभित्र सीमित राखे। विपन्न, गरिब, श्रमिकका मुद्दा र चासो समेट्न सकेनन्। भ्रष्टाचार संस्थागत भयो, त्यसलाई नियन्त्रण गर्न ठोस कदम चाल्न सकेनन्। राज्यको स्रोत सीमित वर्गले निरन्तर लुटिरहने प्रवृत्ति रहिरह्यो। अब पनि यही बाटो हिँडिरहने हो कि बाटो परिवर्तन गर्ने हो ? अब यहीं सकिने हो कि पीडादायी परिवर्तन रोज्ने हो ? कांग्रेससँग भएको यही प्रश्न हो।
प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई समयअनुसार परिमार्जन गर्न नसक्नु कांग्रेसको अर्को कमजोरी हो। यस सिद्धान्तलाई सार्वजनिक बहस र छलफलको विषय बनाउन नसक्दा समाज एकातिर कांग्रेस अर्कोतिर भएको छ। सिद्धान्तलाई समयअनुकूल परिवर्तन गर्दै त्यसमा नवीनता थप्न नसक्दा समकालीन समाज र यसका कर्ताहरूसँग पार्टीको सम्बन्ध टुट्दै गएको छ।
पुराना नीति, दर्शन, विचार र सिद्धान्तलाई निर्वाचनको आसपासमा पुस्तकालयबाट धुलो टक्टक्याउँदै भट््याएर अब समाजसँग पार्टी जोडिँदैन। मान्छेले विकल्प खोज्छन्, जसरी पाकिस्तानमा खोजे। बदलिँदो सामाजिक परिवेशलाई ध्यानमा राख्दै सिद्धान्त, दर्शन र विचारलाई जनता, मतदाता र विद्वत् वर्गबीच सार्वजनिक छलफलको विषय बनाउँदा मात्र आमनागरिकलाई पार्टीमा आकर्षित गर्न सकिन्छ। तर कांग्रेस यस मामिलामा चिन्तनशून्य छ। त्यसैले न नयाँ पुस्ताको आकर्षण बनेको छ न त पुरानो पुस्ताको विश्वास कायम राखेको छ।
कांग्रेसले संगठनलाई सामाजिक बनोटसँग मिलाउन सकिरहेको छैन। समाजको तल्लो तहमा रहेका बहिष्कृत, विपन्न, निमुखा र दलित वर्गलाई नीतिनिर्माण तथा निर्णय प्रक्रियामा समेट्न सकिरहेको छैन। निर्वाचन जितेपछि काठमाडौं भित्रिएको नेता अर्को निर्वाचनको घोषणा नभएसम्म गाउँ नफर्किने संस्कारले कांग्रेसलाई गाउँबाट विस्तारै सम्बन्ध-विच्छेद गराउँदै लगेको छ।
राजनीतिमा तीनवटा सवाल महत्वपूर्ण हुन्छन् ः एजेन्डा, नेतृत्व र संगठन। माथि उल्लेख गरिएको चीलको प्रसंगसँग जोडेर भन्ने हो भने एजेन्डा चुच्चो हो, नेतृत्व नंग्रा हो र संगठन प्वाँख हो। यतिबेला कांग्रेसको एजेन्डारूपी चुच्चो र नेतृत्वरूपी नंग्रा घुम्रिसकेको छ। यसले अब यही अवस्थामा नयाँ सिकार गर्न सक्ने अवस्था छैन। संगठनरूपी प्वाँख साँच्चै भारी भइसकेको छ। यही अवस्थामा थप उडान भर्न सक्ने अवस्था छैन।
बीपीले कांग्रेसको सातांै महाधिवेशनमा भनेका थिए, ‘इतिहासले कांग्रेसलाई समाज रूपान्तरणको एक क्रान्तिकारी जिम्मेवारी सुम्पेको छ, इतिहासले सुम्पेको यस भूमिकालाई हामीले आफ्नो कार्यद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले अर्को हतियार निर्माण गर्नेछ।’ घुम्रिइसकेका नंग्रा र चुच्चो अनि भारी भइसकेका प्वाँखहरू परिवर्तन गर्ने बाटोमा अझै अगाडि नबढ्ने हो भने इतिहासले अर्को हतियार निर्माण गर्नेछ। कांग्रेस इतिहासमा सीमित हुनेछ, जसरी प्रजापरिषद् भयो।