थारूहरूको डस्या

थारूहरूको डस्या

पूर्वी भेगका लिम्बूलगायत केही जातिले दसैं शासक वर्गबाट लादिएको चाड भएकाले बहिष्कार गर्नुपर्छ भन्ने आवाज एकताका निकै उरालेका थिए। तर, नेपाली जनजीवनमा दसैं यसरी भिजिसक्यो कि यहाँ बस्ने कुनै समुदाय दसैंको रौनकताबाट वञ्चित हुन सक्दैन। सारा नेपालीलाई वर्षभरि एकपल्ट पारिवारिक मिलन गराइदिने कुनै चाड छ त त्यो हो दसैं। यो चाड जति बहिष्कारको नारा उराले पनि बहिष्कृत हुने चाड होइन। हो, दसैं मनाउने परम्परा हरेक जातजातिमा पृथक् छ। यस आलेखमा खासगरी पश्चिमा थारूहरूका डस्या अर्थात् दसैं मनाउने मौलिक परम्पराबारे चर्चा गरिन्छ।

द्वितीयाको दर्शन गरी तृतीयाका दिन मकै, जौको जमरा राख्ने कार्य हुन्छ। पूजाका लागि भनेर परेवाको दिन गरढुरिया (घरमूली) बाट जमरा राखेर कुलदेवतालाई छाँकी (रक्सीको धार) चढाउनुपर्छ। गरढुरियाले बिहानै नुहाएर जमरामा प्रत्येक बिहान पानी हाल्नुपर्छ।

सप्तमीको दिनलाई ‘पैनअस्टोपी ढोइना डिन’ अनि ‘झोल झरैना डिन’ पनि भनिन्छ। थारूहरूको मुख्य परिकार ढिक्री पकाउन ‘पैनअस्टोपी’ चाहिने भएकाले त्यसलाई सरसफाइ गर्ने विशेष दिन नै तोकिएको हो। अष्टमीका दिन प्रत्येक घरमा बेलुकी जमरा, डौना, बाबरी देवताहरूलाई मादलको तालमा चढाइन्छ। बेलुकीपख ‘झोंग झोंगनक्’ मादलको तालले सारा गाउँ नै गुञ्जायमान हुन्छ। देवतालाई चढाएको तौला (पानी नमिसाएको रक्सी) प्रसादका रूपमा उपस्थित मानिसहरूले ग्रहण गर्नुपर्छ। त्यसैगरी बजारी (पानी मिसाएको रक्सी) पिलाउन गरढुरियाहरूले झुमरा नाचका नाच टोलीलाई लग्छन्। जमरा, डौना, बाबरी चढाइसकेपछि गोलो ढिक्री (पिठोको एक परिकार)सँग माछा, सिध्र्रा खाने प्रचलन छ। रत्गैया पदका थारूहरूमा जमरा, डौना बाबरीको साथमा लुचुई (भिजाएको मासको दाललाई बूढी औंलाको आकारमा बनाई घिउमा पकाएको परिकार) पनि देवतालाई चढाउने प्रचलन छ।

यसैगरी कुसुम्यहा पदका थारूहरूमा ढिक्री, जमरा, डौना, बाबरी र रक्सीलाई घरको ढोकामाथि भोर्लाको पातमा राख्ने प्रचलन छ भने दहितका महिलाले देवता पुज्ने प्रचलन छ। यसरी पूजा गरिने अष्टमीको दिनलाई ‘ढिकरहवा’ अर्थात् ढिक्री चढाउने दिन भनिन्छ। ढिकरहवाको रातभरि गरढुरियाहरू गाउँको अगुवा बरघरको आँगनमा भाले नबास्दासम्म डेहुरार (पूजा कोठा)मा राखिएको बजारी रक्सीको साथ रातभरि नाचगान गर्छन्। कुखुरा बास्न थालेपछि सबै आआफ्ना घर फर्किन्छन् र नवमीको तयारीमा लाग्छन्।

दसैंमा सेतो टीका मात्रै लगाउने थारूहरूमा केही वर्षयता रातो टीकाले पनि स्थान पाउन थालेको छ।

नवमीको दिन घरमूलीहरू हँसिया, लोटा र अक्षता लिएर नदीमा नुहाउन जान्छन् र सबैले कुलदेवताको नाममा एक मुठी नयाँ बह्रनी (कुचो) काट्ने चलन छ। नुहाइधुवाइ गरेर अक्षता धोई लोटाको पानी लिएर घर आउँछन्। घरमा कुलदेवताकहाँ नयाँ बह्रनी राख्छन्। जमरा, डौना, बाबरी र रक्सीले फेरि पूजा गर्छन्। यसै समय कुखुरा काटेर कुलदेवतालाई बलि दिने चलन छ। यसैगरी बहरी (बैठक कोठा)मा रहेको सहायक देवतालाई भने पोथीको बलि दिइन्छ। दहित थरका थारूहरूमा भने यस दिन बलि दिइँदैन। उनीहरू कुभिन्डोलाई भेडाको प्रतिमा बनाई बलिको रूपमा काट्छन्। खाना खाएर महिलाहरू रक्सी, मासु लिएर नदीमा ‘पिट्टर’ सेलाउन जान्छन्। पुरानो कुचो, देवतालाई चढाएको डौना बाबरी, दुनाटपरी आदि नदीमा सेलाउनु भनेको नै ‘पिट्टर’ हो। फर्किंदा सामूहिक रूपमा एक ठाउँमा बसेर खानपिन गर्छन्। बैठक कोठामा बलि दिएको पोथी कुखुराको टाउकोमा गाई गोठालाहरूको हक लाग्छ। साथै ग्वालाहरूलाई १५ जोडा ढिक्री दिने चलन पनि छ। नवमीको दिनलाई ‘मुर्गी पुज्ना डिन’ भनिन्छ।

दशमीको दिन घरघरमा र सार्वजनिक टीका लगाउने चलन छ। सार्वजनिक टीका लगाउनुपूर्व बिहान आआफ्ना गुरुवाकहाँ रक्सी, फलफूल लिएर भुखौरी ख्वाउने चलन छ। गुरुवाको हातबाट गाउँलेले टीका थाप्छन्। सार्वजनिक टीकाका लागि करिब १० बजेतिर गाउँको अघारीले टीका लगाउन बरघरको घरमा भेला हुन हाँक पार्छ। हाँक पारेपछि सबै घरपरिवारबाट नयाँनयाँ पोसाकमा मिसाएर सेतो पीठोको टीका, डौना, बाबरी लिएर जम्मा हुन्छन्। दसैंमा सेतो टीका मात्रै लगाउने थारूहरूमा केही वर्षयता रातो टीकाले पनि स्थान पाउन थालेको छ। गाउँले जम्मा भइसकेपछि गाउँका बरघरले हर्षबढाइँस्वरूप बन्दुक पड्काउँछन् र टीका सुरु हुन्छ। तर, संकटकालपछि बन्दुक पड्काउने चलन हराएको छ। सार्वजनिक टीकापछाडि गुरुवाकहाँ टीका लगाउन पैसा, रक्सी, जमरा, डौना बाबरी लिएर जाने चलन छ। दशमीकै दिन बेलुकीतिर रैती (अधियाँ लगाउनेवाला)हरू जिमदारको घरमा टीका लगाउन जान्छन् भने जिमदारहरू पनि दशमीको भोलिपल्ट रैतीको घरमा गएर टीका लगाई खानपिन गर्छन्।

डस्यामा झुमरा, बर्का, लठ्ठी, सख्यालगायत नृत्य गरिन्छ। बर्का नाचमा महाभारतको कथा पछ्याइएको हुन्छ भने सख्या नाचमा राधा र श्रीकृष्णको प्रेमकथा समेटिएको हुन्छ। यसबाहेक माइतीले लिन नआउँदाको पीडा झल्किने गीत पनि सख्यामा गाइन्छ।

आजु आजु कइले डाडु रे आजु नही अइले रे

सखी रे भुरी करइयक डारु गइला रे अमिलाई।

अर्थात् डाडु (दाजु) आजै आउँछु भन्थ्यो तर खै किन पो आएनौ। तिम्रो खातिर बनाइएको रक्सी अब त अमिलो पो भयो।

थारू गाउँको एउटा सबल पक्ष भनेको दसैंको अवसरमा गाउँको गल्ली सरसफाइ गरिन्छ। यो चाडमा देवीदेउताहरू गाउँमा आआफ्नो कथावस्तु समेटिएको नाच अवलोकन गर्न आउने भएकाले गाउँ सफासुग्घर राख्ने परम्परा बसेको बूढापाकाहरू बताउँछन्। दशमीका दिन नवविवाहित पुरुषले कुर्सी, मचिया, बेना (पंखा), भाले, रक्सी आदि भरियालाई बोकाई आफ्नो ससुराल जेँउरा (जमरा) थाप्न जाने प्रचलन छ। जेँउरा लगाएबापत ज्वाइँलाई बिदा गर्दा आफ्नो गच्छेअनुसार नगद रकम दिइन्छ। यसरी चेलीबेटीहरूका साथ सम्पूर्ण घरपरिवारका सदस्यहरू जम्मा भई दुःखसुखका कुरा आदानप्रदान गर्दै जाँड, रक्सी, मासु, ढिक्री खाएर थारूहरूले रमाइलो गरी डस्या मनाउँछन्।             


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.